प्रधानमन्त्री मोदीलाई मनाउन भारतीय किसान अब अनसनमा 

बिएल संवाददाता

नयाँदिल्ली 

‘सरकार मनलाग्दी गरोस्। सत्तासँग झुक्दैनौं हामी। प्रहरीले गोली ठोके ठोकोस्। आन्दोलन फिर्ता हुँदैन। किसान विरोधी कानुन तुरुन्तै फिर्ताहोस्। किसानमैत्री कानुनको परिकल्पना गरोस्’, यो भनाई हो, भारतीय किसान युनियनका प्रवक्ता राकेश टिकैतको। उनी भन्छन्, किसानहरू रुइरहेका छन्। उनीहरूका माग पूरा गर्नुपर्छ। म सरकारको विपक्षमा छु। तीनवटै कानुन खारेज गरिनुपर्छ। कानुन फिर्ता नभए आत्महत्या गर्छु।’

टिकैत भारतीय किसानको पछिल्लो समय बन्दै गरेको उग्र रूपप्रति निकै चिन्तित छन्। ‘म किसानको पक्षमा छु। मविरुद्ध हिंसा भड्काएको आरोप लागेको छ। यी सबै गतल तथा मिथ्या आरोप मात्र हो। आन्दोलन रोकिदैन, जारी रहन्छ,’ उनले उद्घोष गरेका छन्। 

केही समयअघि दिल्ली, युपी र गाजीपुरमा भइरहेको आन्दोलनलाई समर्थन गर्न पुगेका थिए, टिकैत। केन्द्र सरकार किसानको मागप्रति गम्भीर नभएको भन्दै उनले भोक हड्ताल पनि सुरु गरेका छन्।

किसानहरू करिब दुई महिनादेखि दिल्ली–यूपी–गाजीपुरको सीमा क्षेत्रमा आन्दोलित छन्। उनीहरु पछिल्लो समय केन्द्र सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीप्रति निकै आक्रामक देखिएका छन्। 

भारतको गणतन्त्र दिवसको तामझाम छोडेर लाल किल्लामा हिंसात्मक प्रदर्शन रोज्नु किसानहरूको बाध्यता रहेको उनको भनाई छ। यद्यपि हिंसा मानव समाजका लागि राम्रो मानिदैन। 

लाल किल्लाको अराजक प्रदर्शनले यतिबेला भारतीय सुरक्षाकर्मी समेत झस्किएका छन्। दिल्ली प्रहरी दिनानुदिन कठोर बन्दै गइरहेको छ। गाजियाबाद जिल्ला अधिकारीले आन्दोलित मैदान खाली गराउन प्रहरीलाई उर्दी जारी गरिसकेको छ। प्रशासनले किसानलाई मैदान छोड्न अल्टिमेटम पनि दिइसकेको छ।  दिल्ली सीमाको धर्ना स्थलमा विशेष सुरक्षाकर्मी परिचालन गरिएको छ भने  किसान आन्दोलनमाथि तिब्र दमन हुन थालेपछि भारतीय किसान युनियनका प्रवक्ता टिकैत आफै गाजीपुर सीमामा पुगेका हुन्। उनले यहाँ आन्दोलित किसानलाई सम्बोधन गरे। 

दिल्ली, यूपी र गाजीपुरको सीमामा उनीलगायत आन्दोलित किसानले अनशन सुरु गरेका छन्। उत्तरप्रदेश सरकारले समेत सबै जिल्ला अधिकारी र प्रहरी प्रशासनलाई आन्दोलन रोक्न निर्देशन दिएको छ। ती क्षेत्रबाट तत्काल किसानलाई हटाउन सीमा क्षेत्रमा जम्बो प्रहरी बल परिचालन गरिएको छ।

प्रकाशित मिति: : 2021-01-29 10:45:00

प्रतिकृया दिनुहोस्