ओलीविरुद्ध नारा लगाउँदै आमहड्ताल गर्न सडकमा निस्किए प्रचण्ड (भिडियाेसहित)

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष प्रचण्ड आमहड्ताल गर्न सडकमा आएका छन्। प्रदर्शनमा बन्दकर्तासँगै अध्यक्ष प्रचण्ड पनि निस्किएका हुन्।

सडकमा आक्रामक  नारा लगाउँदै केहीबेर प्रदर्शनकारीलाई प्रचण्डले उत्साह थपेर निस्केका थिए। 

प्रदर्शनमा प्रचण्डले पनि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लगाउँदै हिडेकाे नेकपा नेताहरुले बताएका छन्।

प्रचण्ड-नेपाल समूहले असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको छ ।

देशभर ८० भन्दा बढी बन्दकर्ता पक्राउ

बन्दका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार देशभर सवारी सञ्चालन साविकभन्दा न्यून रहेको छ। 

प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार ठाउँठाउँमा बन्दकर्ता निस्किएका र अहिलेसम्म उपत्यकामा मात्रै ८० भन्दा बढी पक्राउ परिसकेका छन्। 

प्रहरीका अनुसार बिहान केही कम गाडी चलेका भए पनि विस्तारै बढ्ने क्रममा रहेको छ। बिहानै काठमाडौँको सामाखुशीमा बन्दकर्ताले एउटा ट्याक्सीमा आगजनी गरेको बताउँदै प्रहरी वरिष्ठ उपरीक्षक कुँवरले अन्य अप्रिय घटना अहिलेसम्म नभएको बताए। 

गृहमन्त्रालयले पूर्ववत्रुपमा निर्धक्क भएर यातायात व्यवसाय, उद्योगधन्दा तथा पेशा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ। दैनिकरुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइएको मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत जनाइसकेको छ।  

पूर्व-पश्चिम राजमार्गमा फाटफुट सवारीसाधन

 बन्दको प्रभाव पूर्व-पश्चिम राजमार्गमा बढी परेको छ।

विश्व व्यापार संगठनसँग समेत जोडिएको पूर्वपश्चिम राजमार्गमा लामो तथा छोटो दुरीका गाडी चलेका छैनन्। बिहान छिटफुट रुपमा मालबाहक सवारीसाधन गुडेको देखिए थियो। गन्तव्यसम्म पुग्न ढिला भएकाले राजमार्गमा मालबाहक गाडी देखिएको हो। 

राजमार्ग छेउछाउका पसल खुला रहेको छ भने मोटरसाइकल र सानो दूरीको गाडी मात्र फाटफुट रुपमा चलेको देखिन्छ। पूर्वपश्चिम राजमार्गमा भने बन्दको प्रभाव बढी परेको छ। राजमार्ग सुनसान बनेको छ।

लामो तथा छोटो दूरीको गाडी नचल्दा गन्तव्यसम्म पुग्न नसकेका यात्रीहरु अलपत्र परेका छन्। 

अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधी, विद्यार्थीहरुको परिक्षा सञ्चालनलगायतका अत्यावश्यक कुराहरुमा अवरोध नगर्ने बताइएको छ।

प्रकाशित मिति: : 2021-02-04 09:22:00

प्रतिकृया दिनुहोस्