प्रधानमन्त्री ओलीले शिक्षकलाई राजनीतिमा प्रत्यक्ष सहभागी गराउन हुँदैन भनेर आलटाल गरे–प्रचण्ड (भिडियो)

File Photo
File Photo

नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले विचारको लडाइँमा प्रधानमन्त्री केपी शर्मा ओलीको पराजय भएको दावी गरेका छन्। 

आफू पक्षधर एकीकृत अखिल नेपाल शिक्षक संगठनले सोमबार काठमाडौंमा आयोजना गरेको भेलामा बोल्दै प्रचण्डले भने,‘ओली र हामीबीचको झगडा विचारको थियो। यो लडाइँ प्रवृत्तिको थियो। ओलीले संविधानलाई कुल्चिने काम गरे। प्रतिक्रन्तिको वकालत गरे। त्यसकारण उनले बाजी हारे। हामीले जितेका छौं।’

उनले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर कंलक बोकेको बताए। ‘उहाँ इतिहासमा कलंकी हुनुभयो। अब जित्ने सम्भावना पनि छैन।  हामी, गणतन्त्र र समृद्धिको पक्षमा उत्रियौं र लडाइँ जित्यौं,’ प्रचण्डले भने।

आफ्नो लडाइँलाई केपी समूहले प्रधानमन्त्रीको पदको लडाइँ भनेर गलत प्रचार गरेको आरोप लगाए। उनले भने–‘यो प्रचार प्रतिक्रियावादी र अवसारवादीले गर्ने प्रतिक्रिया हो। हामी पदको लागि होइन, सिस्टमको लागि लडेका हौं। मलाई पदको लागि लडाइँ गर्यो भन्नु, हाम्रो विचार र संगठनलाई बदनाम गर्ने कार्य हो।’

उनले आफ्नो समूहका समर्थकलाई यथार्थता बुझ्न पनि आग्रह गरे। भने, ‘त्यसैले हाम्रो पक्षका साथीहरुले यो सत्यलाई नबुझन्ने हो भने हामी हार्छौ। हामीले हार्ने खतरा पनि हुन्छ। तपाईहरु ढुक्क हुनुहोस्, यो पदको लडाइँ होइन। अग्रमनको लडाइँ हो।’   

अध्यक्ष प्रचण्डले कार्यक्रममा शिक्षकलाई सम्बोधन गर्दै भने,‘पार्टी एकतापछि शिक्षक संगठनको पनि एकता गरौं भनेर केपी ओलीसँग धेरै छलफल गरियो तर ओलीले शिक्षकलाई राजनीतिमा प्रत्यक्ष सहभागी गराउन हुँदैन भनेर आलटाल गरे।’ 

शिक्षकहरु प्रगतिशील र कम्युनिष्ट विचारका वाहक हुन भन्ने केपी ओलीलाई थाहा भएर, बौद्धिक समुदायबाट प्रधानमन्त्री ओली डराएको प्रचण्डले बताए। 

उनले भने,–ओलीले हनुमान जस्ता अन्धभक्तहरु रोजे। शिक्षकहरु अन्धभक्त हुँदैनन्। सत्यको पक्षमा हुन्छन्। न्यायको पक्षमा हुन्छन्। त्यसकारण उहाँ शिक्षकदेखि भाग्नु भयो। 
 

प्रकाशित मिति: : 2021-02-08 18:07:00

प्रतिकृया दिनुहोस्