टिकटकमा हिट हुँदै नेताहरू

कमल प्रभात

काठमाडौं

नेपालमा यतिबेला भिडियो सेयरिङ प्लेटफर्म सामाजिक सञ्जाल टिकटकमा एउटा भिडियो खुब भाइरल भइरहेको छ। त्यो भिडियो हो, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले एउटा सभाबाट दिएको अभिव्यक्ति ‘नाटकै...हो’। 

प्रचण्डको त्यो अभिव्यक्तिलाई काउन्टर दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को अभिव्यक्ति दिए, ‘नौटंकी नै...हो’। यी दुई नेताको अभिव्यक्ति जोडेर बनाइएको भिडियोः  
नाटकै...हो ।
नौटंकी नै..... हो ।
निकै चर्चित छ। 

टिकटक चलाउनेले यो भिडियो नहेरेको सायदै कोहि होलान्। ३० सेकेण्डभन्दा कम समयको यो भिडियोमा प्रयोगकर्ताले ‘ड्युट’ गरेर टिकटक बनाएका छन्। टिकटक बनाउने सामान्य किसानदेखि उच्चपदस्थ व्यक्ति रहेका छन् ।

दुई नेताको अभिव्यक्तिलाई टिकटक प्रयोगकर्ताले काँटछाँट गरेर बनाएका हुन्। 

केही समय अघिसम्म नेपालमा राजनीतिक गतिविधिका सामाग्री टिकटकमा खासै भेटिदैन थियो। भेटिए पनि प्रयोगकर्ताले राजनीतिक गतिविधिका भिडियोमा रुचि राख्दैन थिए। तर अहिले यस्ता सामाग्री टिकटकमा छ्यापछ्याप्ती भेटिन्छन्। 

नेताहरूले सभामा दिएका अभिव्यक्ति, कार्यक्रममा सहभागी हुँदा देखिएका ठ्ट्यौली दृश्य तथा हाउभाउ एवम्  राजनीतिक घटनाका पुराना दृश्यसमेत टिकटकमा भाइरल हुन थालेका छन्।

नेता मदन भण्डारीले दिएका अभिव्यक्ति मात्र नभएर अहिले जनयुद्धकालका घटना पनि टिकटकको विषय बन्न थालेको छ। आँखाले देखेको दृश्यअनुुसारको अनुभूति स्मृतिमा प्रतिबिम्बित हुनु स्वभाविक हो। यस्ता भिडियोले फरक अनुभूति गराउँछ। टिकटक प्रयोगकर्ता त्यहीअनुसार धारणा बनाउने गर्छन।

अहिले नेताहरूको नामबाट ‘टिकटक अकाउण्ट’ खोल्ने खेती नै चलेको छ। एउटाको नाम दिएर अर्काे व्यक्तिले अकाउण्ट खोल्ने कार्य धेरै भएका छन्। तर, कुन व्यक्तिले कहाँबाट चलाएको छ भन्ने प्रमाण कसैसँग छैन। यस विषयलाई लिएर प्रहरीमा उजुरी पनि परेको छ। 

टिकटकमा राजनीतिक सामाग्री अपलोड गरेर भाइरल बनाउने गतिविधिले गर्दा  सकारात्मकभन्दा पनि नकारात्मक असर बढि हुने देखिन्छ। जसले समाजमा कलहको वातावरण सिर्जना हुने गरेको छ। अनावश्यक भिडियो सामाग्रीले टिकटक प्रयोगकर्ताको दिमागमा गलत धारणा पनि पैदा हुन थालेको छ ।

टिकटकले पारेका केही उदाहरण हेरौं :

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड पक्षकी युवा नेत्री रामकुमारी झाँक्रीले विभिन्न सभामा बोलेका भिडियो टिकटकमा भाइरल छन्। उनी टिकटककी सक्रिय प्रयोगकर्ता हुन्। उनी आफैले भिडियो बनाएर टिकटकमा अपलोड गर्ने गर्छिन्। उनले सभामा दिएका अभिव्यक्तिलाई अन्यले काँटछाँट गरेर अपलोड गरेका छन्। जुन भाइरल पनि छ। झाँक्रीको राजनीति जीवन र इतिहास आफ्नै किसिमको होला। तर, उनलाई टिकटकले पनि धेरै मानिससँग परिचित गराएको छ ।

अहिले टिकटकमा प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल, जनार्दन शर्मा  नारायणकाजी श्रेष्ठ, गगन थापा, टोपबहादुर रायमाझी लगायत नेताहरूले दिएका अभिव्यक्ति भाइरल छ। 

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएको छ। विप्लव समूहका नेता तथा कार्यकर्तालाई प्रहरीले जहाँ भेट्यो, त्यहीबाट पक्राउ गर्ने गरिरहेको छ। भूमिगत रहेका नेत्र विक्रम चन्द ‘विप्लव’ अहिले कहाँ छन् भन्ने सर्वसाधारणलाई त थाहा हुने कुरो भएन, प्रहरीलाई समेत थाहा छैन। उनले माओवादी पार्टीमा हुँदा दिएका अभिव्यक्तिका भिडियो क्लिप टिकटकमा अपलोड र भाइरल भइरहेका छन्।

स्वर्गीय नेता मदन भण्डारीले सभामा दिएका पुराना भिडियोका क्लिप पनि टिकटकमा अपलोड छन्। भण्डारीलाई धेरैले प्रभावशाली नेताको रुपमा चिन्छन्। तर, नयाँ पुस्ता भने उनको बारेमा अन्जान बन्दै गइरहेको बेला टिकटकबाट फेरि भाइरल बनिरहेका छन्। टिकटकमा भाइरल भएका उनका अभिव्यक्तिले अहिलेका नेतालाई पनि गिज्याई रहेको छ। उनले बोलेका भिडियो क्लिपले अराजक र विकृत राजनीति गर्नेलाई एकपटक सोच्न बाध्य बनाउँछ । 

त्यसैगरी, नेकपा प्रचण्ड समूहका बरिष्ठ नेता झलनाथ खनालले माघ २३ गते काठमाडौंको भृकुटीमण्डपमा भएको एउटा सभामा दिएको अभिव्यक्तिको केही अंश टिकटकमा भाइरल छ। जसमा खनालले भनेका छन्, ‘प्रचण्डलाई र कमरेड माधव नेपाललाई फेरी प्रधानमन्त्री बनाउनको लागि, एउटा कुर्सीको लागि लडिरहेका छैनौ।’ 

कतिपय टिकटक प्रयोगकर्ताले यसलाई काँटछाँट गरेर गलत अर्थ लाग्ने गरी अपलोड गर्ने गरेका छन्। यसले झलनाथ खनाल ट्रोलको पात्र पनि बनेका छन्। 

टिकटकमा गतल अर्थ लाग्ने गरी काँटछाँट गरेर भिडियो अपलोड गर्दा भाइरल हुने होड नै चलेको छ। टिकटक प्रयोगकर्तामा मानसिक असरमात्र परेको छैन, सामाजिक कलहकोस्थिति समेत उत्पन्न भएको छ। 

केही दिनअघि काठमाडौंको एक क्याम्पसमा दुई भिन्न राजनीतिक दलका विद्यार्थी नेताहरूबीच झड्प भएको थियो। टिकटकमा अपलोड गरिएको भिडियोको उत्तेजित कमेन्टलाई लिएर। 

यसकारण टिकटकमा काँटछाँट गरेर भिडियो अपलोड गर्दा मानिसमा आक्रोश पैदा हुने र सामाजिक सद्भाव खलबलिने देखिन्छ।  

अमेरिका, भारतलगायत विश्वका केहि देशले गोपनीयता भंग भएको र सुरक्षा व्यवस्थामा असर पुग्नसक्ने भन्दै टिकटक प्रयोगमा प्रतिबन्ध लगाएका छन्।

तर नेपालमा टिकटक प्रयोगसम्बन्धि केहि निर्देशिका समेत बनेको छैन। जसले समाजमा नकरात्मक असर पारिरहेको छ। यस सम्बन्धमा सम्बन्धित निकाय मौन देखिन्छ। 

टिकटकमा उत्तेजना फैलाउने, घातक प्रभाव पर्ने खालका राजनीतिक गतिविधिका भिडियो सामाग्री अपलोड गर्न बन्द गर्नुपर्छ।

प्रकाशित मिति: : 2021-02-18 13:25:00

प्रतिकृया दिनुहोस्