आरक्षपीडितको समस्या चाँडै समाधान हुन्छ : वनमन्त्री आले

Nepalpatra

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका आरक्षपीडितको समस्या चाँडो समाधान गर्ने बताएका छन्। 

चौथो शुक्लाफाँटा पर्यटन महोत्सवको उद्घाटन कार्यक्रममा मन्त्री आलेले वर्षौंदेखि आरक्षपीडित भएकाहरुको समस्या समाधानका लागि पहल भइरहेको बताए। 

उनले भने, 'आरक्षपीडितका बारेमा मैले सबै बुझेको छु, चाँडै समस्या समाधान गर्न पहल गर्नेछु।' मन्त्री आलेले यहाँका आरक्षपीडितहरुको समस्या समाधानका लागि एक छुट्टै आयोग गठन गरी पीडितले वर्षौंदेखि गुमाएको जग्गासमेत फिर्ता दिने आश्वासनसमेत दिए। उनले वर्तमान सरकारले नागरिकका हितमा मात्रै काम गर्ने प्रतिबद्धता जनाए। 

कार्यक्रममा शुक्लाफाँटा आरक्षपीडितहरुले आफू आरक्षबाट वर्षौंदेखि पीडित भएको र आफूले लगाएको बालीनाली पनि निकुञ्जबाट आउने जनावरहरुले खाने गरेका कारण झनै पीडित भएको भन्दै समाधानका लागि मन्त्री आलेलाई ज्ञापनपत्रसमेत पेश गरेका थिए।

शुक्लाफाँटा निकुञ्जका आरक्षपीडितको विसं २०५८ देखि अहिलेसम्म पनि उचित व्यवस्थापन हुन नसकेको पीडितहरुको गुनासो छ। 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवद्र्धन गर्ने उद्देश्यले विसं २०७३ देखि आयोजना हुँदै आएको महोत्सव ‘पर्यटकीय सम्भावनाहरुको पुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज’ भन्ने नाराका साथ आज आइतबारदेखि शुरु भएको हो। भीमदत्त नगरपालिकाको आयोजनामा सञ्चालन भएको सो महोत्सव यही फागुन १५ गतेसम्म सञ्चालन हुने छ। 

महोत्सवबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका संरक्षित वन्यजन्तु, विशाल घाँसे मैदान, तालतलैया र दुर्लभ वनस्पतिका बारेमा जानकारी गराउन सहयोग पुग्ने भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले बताए। 

तीन सय ५ वर्गकिलोमिटरमा फैलिएको हिसाबले यो निकुञ्ज घाँसेमैदान र विश्वमै दुर्लभ बाह्रसिङ्गाको सबैभन्दा ठूलो बासस्थान मानिन्छ। रासस 

प्रकाशित मिति: : 2021-02-21 21:10:00

प्रतिकृया दिनुहोस्