प्रवीण बास्तोला हत्या प्रकरणः अनुसन्धानमा संलग्नलाई विभागीय कारबाहीका लागि सिफारिस

तेजन खड्का

उर्लाबारी

मोरङको उर्लाबारी–५ का ३२ वर्षीय प्रवीण बास्तोलाको रहस्यमय मृत्यु प्रकरणमा छानबिन समितिले बुझाएको प्रतिवेदन जिल्ला प्रहरी मोरङले आइतबार सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईको नेतृत्वमा गठन भएको टोलीले अनुसन्धानमा खटिएको प्रहरी टोलीले कमजोरी गरेको देखाएको छ।

प्रतिवेदनमा अनुसन्धान गर्ने क्रममा कमी कमजोरी गर्ने प्रहरी कर्मचारीलाई विभागीय कारबाही अनुसार सचेत गराई जवाफदेही बनाउनु पर्ने सिफारिस गरिएको छ। 
जिल्ला प्रहरी मोरङले अनुसन्धान अधिकृत इलाका प्रहरी उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक उद्धव पोखरेल र अनुसन्धान शाखामा कार्यरत प्रहरी जवान योगिन सार्कीलाई जिल्ला तानेर स्पष्टिकरण सोधेको हो।

इलाका प्रहरी उर्लाबारीबाट अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुले मिसिलमा संलग्न कागजातहरु नियमित प्रमाणीकरण गर्ने, अनुसन्धानसम्बन्धी भौतिक सबुतको परीक्षण गरेको पाइएन,’ प्रतिवेदनमा भनिएको छ, ‘परीक्षणसम्बन्धी प्रतिवेदन अबिलम्ब प्राप्त गर्ने, सम्बन्धित निकाय तथा पदाधिकारीका साथै जाहेरवाला पक्षहरुसँग प्रभावकारी एवं नियमित समन्वय र सम्पर्क गर्ने कार्यमा कमी कमजोरी गरिएको देखिएको छ।’

 यी यस्ता कमी कमजोरी देखिएको हुँदा विभागीय कारबाही अनुसार सचेत गराइ जवाफदेही बनाउनु पर्ने प्रतिवेदनमा सिफारिस गरिएको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खडकाले बताए।

छानबिन समितिले पीडित परिवारसँग अनुसन्धान टोलीले पारदर्शी र पीडित मैत्री व्यवहार नियमित रुपमा गरी आवश्यक समन्वय, सम्पर्क र परामर्श गर्नुपर्ने लगायत ५ बुँदे सुझाव दिएको छ।

प्रतिवेदनमा जाहेरवाला पक्षले मिसिलमा अर्कै फोटो राखेको, बदनियतपूर्वक अनुसन्धान गरेको र मृतकले लगाएको कपडा च्यातिएको विषय घटना प्रकृति मुचुल्कामा उल्लेख नगरेको गुनासो बारेमा स्थलगत अनुसन्धान गरेको उल्लेख छ। 

प्रहरी नायव उपरीक्षक राई संयोजकत्वको टोलिले बुझाएको छानविन प्रतिवेदनमा मृतक प्रविणको फोटो परिवर्तन गरिएको भन्दै पीडित लगाएको आरोपमा बदुनियतपूर्वक नभएको ठहर गरेको छ। प्रतिवेदनमा भनिएको छ, उक्त फोटो २०७७ भदौ ३ गते करेन्ट लागेर घाइते भएका लेटाङ–८ घर भई उर्लाबारी–७ बस्ने नविनराज घिमिरे गहतराजको रहेको उल्लेख छ। गहतराजको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले कम्प्यूटरमा राखेको फोटो प्रहरी जवान योगिन सार्कीले प्रिन्ट गरेर राखेको ठाउँबाट २०७७ फागुन ९ गते प्रविणको मिसिलमा संलग्न नभएको उल्लेख गरिएको छ।

मिसिलमा भएको फोटो परिवर्तनलाई मानवीय त्रुटीको रुपमा प्रतिवेदनमा औ्रल्याइएको छ। मृतक बास्तोलाले लगाएको कपडा नच्यातिएको र गलत मनसाय राखेर अनुसन्धान गरेको नपाइएको प्रतिवेदनमा भनिएको छ।

उक्त घटनाको अनुसन्धान गर्ने क्रममा समन्वय र सबुत प्रमाणको परीक्षण नगरेको लगायत कारणले अनुसन्धान अधिकृत प्रहरी निरीक्षक पोखरेल र अनुसन्धान शाखाका सार्कीलाई स्पष्टिकरणका लागि जिल्ला प्रहरी कार्यालयमा तानेको प्रहरी उपरीक्षक खड्काले बताए।

उक्त घटनामा संलग्न रहेका ६ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरिसकेको छ। घटनामा संलग्न सबै प्रतिवादी पक्राउ
प्रहरीले घटनामा संलग्न भई फरार रहेका दुईजना प्रतिवादीलाई समेत पक्राउ गरेको छ। घटनामा संलग्नमध्येका मुख्य प्रतिवादी उर्लाबारी–६ का राजेश रणपहेलीलाई तीनदिन अगाडी रुपन्देही बुटबल–२ फुलबारी चौकबाट पक्राउ गरेर आइतबार जिल्ला अदालतमा उपस्थित गराईसकेको छ। यसैगरी अर्का प्रतिवादी झापा गौरादह–९ का दिपेश पौडेल समेत मोटरसाइकल चोरी आरोपमा झापाको दमक प्रहरीको नियन्त्रणमा रहेको उल्लेख गरिएको छ।

यस अगाडी रतुवामाई–१० का मेहरमान दर्जी र उर्लाबारी–९ का कुमार राईलाई प्रहरीले अनुसन्धान प्रतिवेदनसहित सरकारी वलिकको कार्यालयमा बुझाएको थियो। जिल्ला अदालत मोरङले दर्जीलाई पूर्पक्ष र राईलाई धरौटी आदेश गरेको थियो। यसैगरी मोरङ उर्लाबारी–६ का रमेश गिरी एकलाख धरौटीमा र सुदिप परिवारलाई पूर्पक्षका लागि थुना पठाउने आदेश भईसकेको छ।

उक्त हत्या घटनामा सत्यतथ्य लुकाएर दोषीलाई उन्मुक्ति दिने षडयन्त्र गरेको भन्दै परिवारजन विरोधमा उत्रेपछि प्रहरीले फागुन ११ गते ६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान मुद्दा दर्ता गराएको छ।

प्रकाशित मिति: : 2021-03-07 19:01:00

प्रतिकृया दिनुहोस्