हुलाकी राजमार्गमा क्रोनिक ठेक्का तोडिदै

हुलाकी राजमार्गअन्तर्गत लामो समयदेखि निर्माण अवरुद्ध भएका पुलको ठेक्का तोड्न थालिएको छ। निर्माण शुरु भएको १० वर्षसम्म सम्पन्न नभएका पाँच पुलमध्ये तीनको ठेक्का तोडिसकिएको छ भने दुई पुलको ठेक्का तोड्न प्रक्रिया अघि बढाइएको छ। 

आयोजनाको सबैभन्दा ठूलो चुनौतीका रुपमा पुलको क्रोनिक ठेक्का रहेको थियो। एक दशक पहिले निर्माण शुरु भए पनि अघि नबढेका पुलको ठेक्का तोडेर नयाँ प्रक्रियामा जान लागिएको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ। 

गत वर्षसम्म यस्ता क्रोनिक ठेक्का १० वटा रहेको निर्देशनालयका प्रमुख रोहितकुमार बिसुरालले बताए। उनका अनुसार निर्देशनालयले दुईको ठेक्का तोड्ने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध निर्माण व्यवसायीले अदालतमा गएकाले मुद्दा विचाराधीन भएको उनले बताए। 

उनले भने, “अदालतबाट निर्णय आएपछि मात्रै नयाँ ठेक्कामा जान सकिन्छ।” आयोजनाअन्तर्गतका पाँच पुलमा भने निर्माणको काम भइरहेको छ। १०÷११ वर्ष पुरानो पुलमा अहिले निर्माण भइरहेकाले अवधि थप भएको छ। कमला र दलान नदीमा पुल सम्पन्न क्रममा रहेको छ। यी दुवै पुलको लम्बाइ ५०० मिटर छ। 

आयोजनाअन्तर्गत अहिलेसम्म २४५ पुल रहेका छन्। अहिलेसम्म ७५ पुल सम्पन्न भएर प्रयोगमा आइसकेका छन्। पचहत्तर पुल डिजाइनका क्रममा र ९५ पुल निर्माणाधीन छन्।

सडक बने पनि कतिपय स्थानमा पुल नबनेकाले सो सडकको प्रयोगकर्तालाई आवतजावत सजिलो भएको छैन। कतिपय स्थानमा पहिले भएका साँघुरा पुलमा पनि सवारीसधन र पैदलयात्रु आवतजावत गरिरहेका छन्। रासस

प्रकाशित मिति: : 2021-03-10 18:05:00

प्रतिकृया दिनुहोस्