मल देशमै ‘सम्भव’

नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भव देखिएको छ। यससम्बन्धी अध्ययन समितिले प्राकृतिक ग्यास प्रविधिमा आधारित कारखाना खोल्न उपयुक्त रहेको प्रतिवेदन आइतबार प्रधानमन्त्रीलाई बुझाएको छ।

‘सुरु पुँजी लगानी, लगानी फिर्ता अवधि तथा नाफाको दृष्टिकोणबाट प्राकृतिक ग्यास प्रविधिमा आधारित मल कारखाना स्थापना गर्न अन्य प्रविधिको तुलनामा उपयुक्त देखिन्छ’, प्रतिवेदनमा लेखिएको छ। यही प्रविधिको कारखाना खोले मल आपूर्तिको दिगो समाधान हुने समितिको निष्कर्ष छ। यस्तै, कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि भई मुलुकको आर्थिक विकासमा योगदान पुग्ने प्रतिवेदनमा उल्लेख छ।

समितिले रासायनिक मल उत्पादन गर्न विश्वव्यापी रूपमा प्राकृतिक ग्यास, थर्मोकोल र वाटर इलेक्ट्रोसिस प्रविधि प्रचलनमा रहेको उल्लेख गरेको छ। यीमध्ये प्राकृतिक ग्यास प्रविधिमा जाँदा सरकारले उपलब्ध गराउनुपर्ने अनुदान बचत हुन सक्ने निष्कर्ष निकालिएको छ। समितिले प्राकृतिक ग्यास प्रविधिको कारखाना खोल्न सुरु लगानी १ खर्ब ३ अर्ब र  वाटर इलेक्ट्रोसिस प्रविधिमा १ खर्ब ८९ अर्ब रुपैयाँ लाग्ने निष्कर्ष निकालेको छ। थर्मोकोल प्रविधिमा जान वातावरणीयलगायत कारण उपयुक्त नहुने सुझाव समितिले सरकारलाई दिएको छ। सार्वजनिक निजी साझेदारी मोडालिटीमा स्थापना गर्ने परियोजना सञ्चालन गर्न उपयुक्त हुने प्रतिवेदनमा उल्लेख छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काललाई प्राकृतिक ग्यास प्रविधिमा जान उपयुक्त देखिए पनि कच्चा पदार्थ नेपालमा उपलब्ध हुने भएकाले वाटर इलेक्ट्रोसिसबारे पनि अध्ययन गर्न सुझाव दिए।

प्राकृतिक ग्यास प्रविधिमा मल उत्पादन गर्दा वार्षिक १६ अर्ब रुपैयाँबराबरको विदेशी मुद्रा प्रयोग गरी आयात गर्नुपर्ने बाध्यता अन्त्य हुनेछ।  व्यापारघाटा कम गर्न सहयोग पुग्नुका साथै किसानले समयमै मल प्राप्त गर्ने प्रतिवेदनमा उल्लेख छ। पुँजी व्यवस्थापन, लगानीकर्तालाई आकर्षित गर्ने, उपयुक्त स्थान छनोट, लगानी र पुँजी संरचना निर्माण चुनौतीका रूपमा उल्लेख छ।

प्रकाशित मिति: : 2021-03-15 09:02:00

प्रतिकृया दिनुहोस्