बुधबार, २७ अगस्ट २०२५

धनुषामा काठसहित साइकल बरामद, सुराकी गरेकाे भन्दै तस्करले पिटे युवकलाई

विजय साह

विजय साह

जनकपुर
News Image
• • •

धनुषामा वन कर्मचारीले १३ थान सालको गोलियासहित ६ थान साइकल बरामद गरेको छ।

सव डिभिजन वन कार्यालय पुष्पवलपुरका कर्मचारीले गएराति ११ बजे मिथिला नगरपालिका ३ हरिहरपुरस्थित मरधर मेला लाग्ने स्थान नजिकबाट काठ र साइकल बरामद गरेको हो।

विशेष सूचनाको आधारमा वन कर्मचारी जमदार रामदेव यादवको कमाण्डमा खटिएको टोलीले मानिससहित पक्राउ गर्न घेरा हालेपनि नजिक झाडी र अँध्यारो भएकाले साइकल र काठ छोडेर उनीहरु भागेको बताइएको छ।

तस्करहरुले चुरे क्षेत्रको राष्ट्रिय वनबाट साइकलमा लुकाई छिपाई ल्याइरहेका थिए।

बरामद काठ र साइकल सव डिभिजन वन कार्यालय पुष्पवलपुरमा राखिएको छ।

सुराकी गरेको आरोपमा तस्करले पिटे एक युवकलाई

सुराकी गरेको आरोपमा काठ तस्करीमा संलग्न भएकाहरुले धनुषाको मिथिला नगरपालिका ३ बस्ने कृष्णा पासवान नाम गरेका एक युवकलाई हातपात गरेका छन्।

उनीहरुले सोही राति १२ बजे कृष्णाको घरमा पुगेर हातपात गरेको बताइएको छ।

साइकल र काठ बरामद गर्नु र साही बेला कृष्णा त्यहाँ उपस्थित देखिएकोले उनैले सुराकी गरी वन कर्मचारीलाई भनेको भनी आरोप लगाउँद उनीमाथि हातपात गरेको बुझिएको छ।

पीडित कृष्णाले आफुमाथि हातपात गर्नेहरु स्थानीय सुलिन्द्र महतो, रामअशिष महतो, अशोक महतो, सुमित चौधरी र राजेश पासवान रहेको बताए।

कृष्णामाथि हातपात गर्ने पाँच जना काठ तस्करी कार्यमा संलग्न रहँदै आएको बताइएकाे छ।

वन कर्मचारीहरुले काठ र साइकल बरामद गरेको स्थानमा कृष्णा अचानक त्यहाँ आइपुगेका थिए।

हरिहरपुरकै मगरटोलमा रहेको गाई गोठमा बस्ने बुवालाई खाना र औषधी पु-याएर उनी फर्कँदै गर्दा अचानक काठ बरामद गरेको स्थानमा आइपुगेका थिए।

आइतबार, बैशाख ०५, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)