सुदूरमा अक्सिजन हाहाकार, प्रदेश सरकारले राखेन चासो

बैतडीको दोगडाकेदार गाउँपालिकाका लोकेन्द्र जोशीको शनिबार बिहान धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोभिड वार्डमा मृत्यु भयो। जोशीलाई शुक्रबार नै अस्पतालमा भर्ना गरिएको थियो। उनको आईसीयूमा उपचार भइरहेको थियो। उनलाई गाह्रो भएपछि अक्सिजन दिनुपर्ने भयो। तर, उनले अक्सिजन पाउन सकेनन्। 

जोशी कञ्चनपुरको महाकाली नगरपालिकास्थित आयुर्वेद अस्पतालका कविराज हुन्। उनका आफन्तले अस्पतालमा पाइपलाइनबाट जोडिएको अक्सिजनको मात्रा अपुग भएपछि ज्यान गएको आरोप लगाएका छन्। कोभिड वार्ड परिसरमै रहेको अक्सिजन प्लान्टबाट पाइपको माध्यमले बिरामीलाई अक्सिजनको आपूर्ति गर्ने प्रबन्ध गरिएको छ। 

‘ज्वाइँ सापलाई पाइपलाइनबाट चाहिनेजति मात्रामा अक्सिजन आइरहेकोे थिएन’, जोशीका जेठान श्यामराज अवस्थीले भने, ‘हामीले राति अक्सिजन सिलिन्डर माग्यौं। तर, अस्पतालले उपलब्ध नभएको जवाफ दियो।’ 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले जोशी गम्भीर अवस्थामै भर्ना भएको बताए। ‘उहाँको अक्सिजनको लेबल कम थियो। आईसीयूमा त पाइपलाइनबाटै अक्सिजन छ।, बाहिर प्रचार गरेजस्तो भने होइन’, डा. पाण्डेयले भने।

धनगढी उपमहानगरपालिका–३ हसनपुरका ४५ वर्षका राजु श्रेष्ठको शनिबार नै अक्सिजन अभावका कारण ज्यान गयो। उनलाई एक साताअघि कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। श्रेष्ठका भतिजा बाबुराजा श्रेष्ठका अनुसार उनलाई शनिबार श्वास–प्रश्वासमा बढी समस्या हुन थालेपछि धनगढीस्थित नवजीवन अस्पतालमा भर्ना गरियो। भने, ‘नवजीवन अस्पतालमा अक्सिजन सकिएछ। हामीले उनलाई तुरुन्तै सेती प्रादेशिक अस्पतालमा भर्ना गर्‍यौं।’

प्रकाशित मिति: : 2021-05-11 06:32:00

प्रतिकृया दिनुहोस्