आइतबार, २७ जुलाई २०२५

एमालेमा ‘विद्या’काे समर्थन गर्दा कारबाही, कार्की ब्यांकेटमा भानुभक्तका ‘जासुस’!

News Image
• • •

नेकपा (एमाले)मा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षका नेताहरूमाथि कारबाहीको श्रृंखला सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पार्टी राजनीतिमा रोक लगाउँदा पनि उनको पक्षमा खुलेका नेताहरू धमाधम संस्थापनकाे निशानामा पर्न थालेका हुन्।

यो क्रम जनवर्गीय संगठनमा पनि देखिँदैछ। एमाले पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीकाे पक्षमा खुलेका जनवर्गीय संगठनका कतिपय नेताहरू भटाभट कारबाहीमा पर्न थालेका छन्। एमालेमा यतिबेला ‘विद्या भण्डारीको पक्षमा बोल्यो कि पोल्यो’ अभियानको चर्चा छ।

पछिल्लो पटक उनको कार्यक्रममा सहभागी भएका र सामाजिक सञ्जालमार्फत उनको पक्षमा धारणा राख्ने युवा संघका दुई नेतामाथि कारबाहीको डन्डा चलेको छ।

शुक्रबार भण्डारीको पत्रकार सम्मेलनमा सहभागी भएकी केन्द्रीय सदस्य युवान्तिका कुलुङलाई निलम्बन गरेको युवा संघले शनिबार लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेलमाथि कारबाही गरेको थियो।

युवान्तिका युवा संघको १०औं राष्ट्रिय महाधिवेशनबाट खुला महिला सचिवालयमा सुमन पुरीको टिमबाट विजयी भएकी थिइन्। पुरीले ओलीका उम्मेदवार क्षितिज थेवेविरुद्ध प्यानल नै खडा गरेका थिए।

एमाले महासचिव शंकर पाेखरेल र जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले नेता-कार्यकर्ताहरूलाई विद्या भण्डारीकाे पक्षमा नलाग्न चेतावनी दिँदै त्यस्ता नेताहरूलाई नोटिसमा लिने भनेका थिए।

एमालेका शीर्ष नेताहरूको धम्की र चेतावनीपछि विद्याको समर्थन गरेकै भरमा कारबाहीमा परिने डरले उनी समर्थक नेताहरू सामाजिक सञ्जालमा पनि खुलेर बोल्न सकेका छैनन्।

त्यसो त आफ्नो पार्टी सदस्यता रोक्का गरेपछि बबरमहलको कार्की ब्यांकेटमा विद्याले आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थापन पक्षका नेता ढकालले जासुस खटाएको भन्दै व्यंग्य नै चलेको थियो।

यता भण्डारीको पक्षमा बोल्नेहरूलाई ‘कोतपर्व’ सम्झाइएको एमाले वृत्तमा चर्चा छ। एमालेमा भण्डारीको विरुद्धमा बोल्नेहरूलाई धमाधम पुरस्कृत गरिँदै गरेको चर्चा पनि उत्तिकै छ।

उनको समर्थन गर्नेहरूलाई स्पष्टीकरण सोध्ने तर स्पष्टीकरण जानबुझ चित्त नबुझाउने र निलम्बन गर्ने, जिम्मेवारी खोस्ने अभ्यास थालिएको छ।

एक वर्षका लागि निलम्बन भएका खरेललाई युवा संघको पोखरामा सम्पन्न १०औं महाधिवेशनका सन्दर्भमा प्रष्टीकरण मागिएकोमा उनले गैरजिम्मेवार जवाफ पठाएको, केन्द्रको निर्देशन नमानेकोजस्ता आरोप लगाइएको छ। 

यद्यपि उनलाई पार्टी अध्यक्ष ओलीलाई असहज हुने गरी सामाजिक सञ्जालमार्फत नेतृत्व बहस चलाएको कारण कारबाही गरिएको कतिपय युवा संघकै नेताहरू भन्छन्।

यता युवान्तिकालाई भने विभिन्न मानिसहरूलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै पैसा लिएको आरोपमा निलम्बन गरिएको हो।

संघबाट निलम्बित सदस्यहरूले आइतबार विषेश पत्रकार सम्मेलनसमेत आयोजना गरेका छन्। निलम्बित केन्द्रीय सदस्य युवान्तिका कुलुङले आफूमाथि राजनीतिक प्रतिशोध साँधेर चरित्र हत्या गर्ने काम भएको बताइन्।

उनले भनिन्, ‘म विद्यादेवी भण्डारीको प्रेस मिटमा गएर फर्किएको दिन बेलुका ९ बजे कारबाहीको पत्र आयो। त्यो पत्रभन्दा अगाडि मैंले स्पष्टिकरण दिइसकेको थिएँ। कारबाही गर्न खोजेको चाहीँ धेरै समय भइसक्यो। मेरो नागरिकताको विषय निकालेर पनि मेरो चरित्रहत्या गर्न खोजेकै हो,’ उनले भनिन्।

उनले आफूलाई युवा संघको १०औं राष्ट्रिय महाधिवेशनबाट खुला महिला सचिवालयमा सुमन पुरीको प्यानलबाट विजयी भएको कारण अनेक षड्यन्त्र भइरहेको जिकिर गरिन्।

उनले आफूमाथि लगाइएको विभिन्न आर्थिक चलखेलको आरोपलाई प्रमाणित गरेर देखाउन चुनौती दिइन्।

‘उहाँहरूले मेरो चरित्र हत्या गर्नका लागि यो विषयलाई तोडमोड गरेर आर्थिक चलखेल गर्यो भन्ने कुरासँग जोडेर उहाँहरुले धेरै प्रपोगाण्डा अपनाउनु भएको छ। मैंले उहाँहरुलाई यो सम्म भनेको छु कि मेरो खातामा यदि कसैको थ्रुबाट पैसा आएको या मलाई कागज गरेर कसैले कुनै पैसा दिएको उहाँहरूले प्रमाण पुर्‍याइदिनुपर्यो,’ उनले भनिन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!