त्रास होइन आश भरौँ

गोरखापत्र

काठमाडौं

डा. अतीन्द्र दाहाल

अस्थिरता र विरूप विकृतिले राजनीतिलाई धावा बोल्दै गर्दा कोरोना कहरको दोस्रो लहर निकै घातक बन्दैछ । जनस्वास्थ्यका नियमित र मौजुदा संरचनालाई हायलकायल बनाएको देखिन्छ । सङ्क्रमण दर, प्रभाव तथा मृत्युदरले दैनिक नयाँ उचाइ लिंदैछन् । अघिल्लो हप्ता मात्रै भारतमा छिट्टै तेस्रो लहरसमेत आउन सक्ने प्रक्षेपण जनस्वास्थ्यविद्हरूले गरेबाट भविष्यमा पनि नयाँ सङ्कटहरूको सम्भावनालाई नकार्न सकिँदैन । त्यहाँ कोरोनाको झन् कडा स्वरूप देखिएको सूचनासमेत सम्प्रेषण हुँदैछन् ।

सङ््क्रमणलाई काबुमा राख्न उच्च जोखिम महसुस भएका क्षेत्रहरूमा निषेधाज्ञा, विभिन्न प्रकारका भेला तथा जमघटमा प्रतिबन्ध, सम्भावितको पहिचान, पृथकीकरण, परीक्षण, उपचारलगायत कामहरू हुँदैछन् । सरकारले सकेको प्रयास गर्दैछ । यही मौकामा केही अस्पतालबाट सार्वजनिक गरिएको उपचार शुल्कले समाजमा स्वास्थ्यको आवरणमा मौलाउँदो व्यापारको धन्दासमेत उजागर ग¥यो । चरम शुल्कको विरोध गर्ने नाममा ‘सरकारी अस्पतालमा गए ज्यान घर नआउने, निजीमा गए आउँदा घर बाँकी नरहने’ भन्दै सरकारी सेवालाई समेत कटाक्ष गर्ने अभिव्यक्तिको बाढी नै लाग्यो ।

विषम परिस्थितिमा सरकारको जस्तोसुकै आयतन र गतिको सक्षमतासमेत अपूर्ण हुने सत्य विकसित भनिएका देशको नाजुक अवस्था एवं निरीहताले समेत प्रमाणित गर्दैछ । महमारीकै प्रवाह तथा भेलमा परेर विश्व व्यवस्थामाथि बदलाब अनि शक्ति सन्तुलनको समीकरणसमेत परिवर्तनको सम्भावना पनि देखिँदैछ । संसार पराग खन्नाको पुस्तक ‘द फ्युउचर इज एसियन’ तथा फरिद जकारियाको ‘पोस्ट अमेरिकन वल्र्ड’ का भविष्यवाणी उन्मुख हुँदैछ । शक्ति र सफलताको परिभाषा फेरिंदो छ । युद्धपोत, हतियार तथा आणविक शक्ति लाचार र निराश छन् ।

यो समय हामीमा चाहिँ रोगभन्दा अनावश्यक र असमानुपातिक शोक अधिक प्रत्युत्पादक चुनौती बन्दैछ । नकारात्मक सन्देश, घोर निराशावाद तथा पूर्वाग्रही गैरजिम्मेवारीपनाको प्रवद्र्धन हुँदैछ । आशा जर्गेना गर्नेभन्दा त्रास बढाउने गतिविधिको जगजगी छ । सरकार तथा राज्यसंयन्त्रलाई सहयोग गर्ने र सशक्त बनाउनेभन्दा कटाक्षमा कुटिलता देखाउनेमा समाज रमाउँदा अवस्था झन् बिग्रंदैैछ ।

कटाक्षमा कुटिलता
सीमित सुविधा तथा साधनबीच सरकारी अस्पताल र यसका स्वास्थ्यकर्मीहरू अहोरात्र खटिरहेका छन् । सेवा निवृत्तहरू पनि पुनः करारमा आएर सेवा दिँदैछन् । दिनरात नभनी, परिवार टाढा राखी, दूधे बालक छाडेर, आपूmसमेत सङ्क्रमित हुँदा पनि आफ्नो ज्यानको जोखिमसमेत पर्वाह नगरी सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मी सेवामा लागिराखेका छन् । कम्तीमा आत्मसमर्पण गरेका छैनन्, निजीले जस्तो दररेट निकालेका छैनन् । हामी सक्दैनौँ भनेका छैनन्, राजीनामा दिएका छैनन् । जति छ त्यसको भरपुर उपयोगसँगै हरसम्भव खटेका छन्, ढोकामा ताल्चा लगाएका छैनन् । तर समाज उनीहरूको मनोबल बढाउनेभन्दा हँसिजाक गर्नमा व्यस्त छ, सङ्क्रमितलाई त्रास बढाउनेमा मस्त छ ।

राहत नदिँदा सरकार खोइ, अनि राहत दिए नाटक ग-यो भन्नेहरू यही समाजमा छन् । लकडाउन कडाइ गर्दा मानवीयता नभएको, कडाइ नगरे सरकार सक्षम नभएको बुभ्नेहरू छन् ।

सीमा नछेके भाइरस भित्र्याएको, अनि नाका कडाइ गर्दा आफ्नै जनता आउन नदिएको प्रश्न गर्नेहरू प्रशस्त छन् । रोगको समयमा भोक पनि सँगसँगै आउँछ, यसमा स्थानीय सरकारहरू लाग्नुपर्छ । निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनसँगै स्थानीय तहबाट परीक्षणको दायरामा ल्याउनु पर्ने सम्भावित मानिसको व्यापक खोजीतलासी तथा तथ्याङ्क सङ्कलनमा भएको कार्य प्रंशसनीय छ । सङ्घीयताको उपादेयता प्रमाणित हुँदैछ । यद्यपि विरोध गर्नेलाई बहाना सर्वव्यापी हुन्छन् ।

अझ कोरोनापछिको भयावह र विकाराल स्थिति अनुमान गरेर विचारको आतङ्क सिर्जना गर्ने मूर्धन्यजनहरूको झन् बाक्लो भीड बन्दैछ जुन स्वयं कोरोनाभन्दा कहरपूर्ण र हानिकारक छ । यी प्रयासहरूलाई समुल परास्त गर्नुपर्छ । खप्तड स्वामीकृत पुस्तक ‘विचार विज्ञान’ ले विराट चर्चा गरेका अभ्यासहरूलाई अनुशरण गर्नुपर्छ । त्रास हटाएर आशाको जगेर्नामार्पmत भरोसा निर्माण गर्नुपर्छ ।

प्रकाशित मिति: : 2021-05-14 06:38:00

प्रतिकृया दिनुहोस्