बिहिबार, १४ अगस्ट २०२५

रक्सीको मादकतामा डुबुल्की मारेर काव्यिक सास फेर्ने कवि कटुवाल

News Image
• • •

मानिस काव्यीक दृष्टिकोणले प्रतिष्ठाको त्यो तहसम्मको नाफा कमाएर बदनामीको यतिबिघ्न नोक्सान बेहोर्नसम्म पुग्दछ भन्नूको एउटा महंगो/सस्तो दृष्टान्त हुन्- कवि हरिभक्त कटुवाल।

मैले इमानदारीतापूर्वक नेपाली भाषामा कविता लेख्ने कविहरूको सूची तयार पार्नुपर्‍यो भने कवि हरिभक्त कटुवाल सधैं अग्रभागमा आउँने कवि हुन्। कवि हरिभक्त कटुवालसँग मेरा धेरै विमतिहरू छन् तर कयौं प्रवृतिहरूसँग मेरा सतप्रतिशत काव्यीक सहमति पनि नभएका भने हुँदै हैनन्।

रक्सीको मादकतामा डुबुल्की मारेर काव्यिक श्वास फेर्ने कवि कटुवाललाई रक्सीले नै मृत्युको शैयासम्म पुर्यायो भनिन्छ। म कहिलेकाहीँ सोच्दछु र अन्तरप्रश्नको जालोमा परेर छटपटिरहन्छु।

मलाई अत्यन्तै मन पर्ने कविले किन रक्सी खाए ?

प्रेमिकाले अत्यन्तै प्रेम गर्ने प्रेमीले मन पराएको कविकी श्रीमतीले किन कविलाई प्रेम गरिनन् ?

यस्ता विविध प्रश्नहरूले मलाई सताइरहन्छन्। सायद उनीभित्र एउटा गहिरो घाउ हुनुपर्छ, जसलाई जीवनमा उनले कहिल्यै देखाएनन्। केवल लेखिरहे-लेखिरहे व्यक्त गर्न चाहेनन्-आवाजबाट। तर उनका गीतहरूले भने शानदार शैलीमा पोल खोलिरह्यो। 

"मलाई नसोध कहाँ दुख्छ घाउ
म जे छु जहाँ छु बिथोल्न नआउ''

त्यस्तै- 

"पोखिएर घामको झुल्को भरी शृङ्गारैमा"

यी उनका प्रतिनिधिमूलक गीतहरूले भनेजस्तै जब उनले बिबाह गरे, तब उनी आफूभित्र दुखिरहे पिल्सिरहे। यसैगरी उनी एक्लिदै-एक्लिदै एकदिन मृत्युवरण गरे।

कवि हरिभक्त कटुवाल विसं १९९२ असार १८ गते आसाम, अम्बिकापुरको पेङ्रीमा जन्मेका थिए। उनको जन्म सामान्य परिवारमा भएको थियो भने उनी ६ भाइ दाजुभाइ मध्ये उनी परिवारका जेठा छोरा थिए।

उनको साहित्यीक यात्रा- 

मानिस स्वाभाविक रूपमा यस धर्तीमा जन्मन्छ र मर्दछ। तर जन्मदेखि मृत्युपर्यान्तको समयको खाली ठाउँ उसले कस्तो शब्दद्वारा भर्‍यो भन्ने कुरा महत्त्वपूर्ण र गहन हुनुकासाथै खाली ठाउँमा कति अक्षर तथा शब्दहरू अट्दछन् भन्ने सवाल अर्को महत्त्वपूर्ण सवाल हो।

त्यस्तै छोटो समयमा अत्यन्तै महत्त्वपूर्ण कार्य र त्यस कार्यको सफलता प्राप्त गर्ने कवि हुन्-हरिभक्त कटुवाल। उनले जीवनमा निर्देशक, शिक्षक, पत्रकार, कलाकार, चित्रकार, कवि, गीतकार, नाटककार, सामाजिक कार्यकर्ता र किसानलगायत धेरै कुराको अनुभव प्राप्त गरेका थिए।

विसं २०१५ सालमा ‘छातीभरि सम्झनाका गीत सँगालो’ बोकेर नेपाली साहित्यमा देखापरेका कटुवाल २०२० मा ‘भित्री मान्छे बोल्न खोज्छ’ कविता संग्रहबाट उत्साहको उमङ्गले प्रतिष्ठाको उच्चतम् विन्दुमा पुगेका थिए। उनका सम्झना 'कविता संग्रह२०१६',यो जिन्दगी खै के जिन्दगी 'कविता संग्रह२०२९', बदनाम मेरा आँखाहरू '२०४४ कविता संग्रह', सुधा 'खण्डकाव्य २०२१', स्पष्टीकरण 'कथा संग्रह२०३०'लगायतका कृतिहरू प्रकाशित छन्। भनिन्छ- उनले मानवीयताको सफेद आदर्श र प्रगतिशीलताको उन्मादलाई बोकेर नेपाल प्रवेश गरेका थिए।

प्रगतिशीलता र मानवीयतालाई समग्रतामा जोडेर कविता लेख्न खप्पिस कटुवाल जीवन भोगाइका भित्री रहस्यसम्म बहुत स्वच्छन्द तरिकाले शाब्दिक अभिव्यक्तमा माहिर थिए। ‘सिउन सकिन्न जिन्दगीलाई झन् फाट्छ’ जिन्दगी जिउने क्रममा आइपरेका मधुर क्षणहरूलाई कलात्मक कविताको रूप दिने हरिभक्तले स्वीकार गरेको ‘यो जिन्दगी खै के जिन्दगी’ का कविता हाम्रा जीवनका वास्तविकता हुन्।

त्यस्तै आदर्शवादको भित्री 'गुदी' मानिसको वास्तविक जीवनमा प्रतिकूल हुने र यथार्थवाद अर्थात् भौतिकवाद नै वास्तविक जीवनको उपयोगीताको सारका रूपमा सदुपयोग हुने कुरालाई कवि कटुवाल आफ्नो 'रहर' कवितामार्फत यसरी व्यक्त गर्दछन् -

"फ्रेम हालेर राख्ने आदर्शभन्दा
भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ "

कवि कटुवाल भन्ने गर्दथे,-स्वाभावैले आफू जन्मेको माटोको प्रेम हुन्छ अर्थात् आफ्नो देशको माया हुन्छ तर प्रवासमा बसेर पनि आफ्नो देशका लागी/आफ्नो माटोका लागी धेरै महत्त्वपूर्ण/विशिष्ट कामहरू गर्न सकिन्छ। त्यसैले उनी आफ्नो देशलाई भौतिक रूपमा छोडे पनि भावनात्मक,संवेगात्मक रूपमा र अन्य धेरै क्षेत्रबाट केहिनकेहीँ योगदान पुर्याउन हरप्रयत्न गरिरहन्थे।

त्यसैले कवि कटुवाललाई राजा महेन्द्रले बोलाएर कवि सम्मेलनको लागि नेपाल आएका कटुवालले त्यतिबेला सरकारबाट यतै बस्न अनुरोधका साथ दिएको बक्सिसलाई अस्विकार गरेको हुनुपर्छ।

यसको मतलब कवि कटुवालले कुनैनकुनै विवशताले गर्दा देश छाडेको हामी सहज अनुमान लगाउन सक्छौं।

यसै सन्दर्भमा उनकी बहिनी वसन्ती भन्छिन्- ''लभ म्यारिज भए पनि भाउजूको माया पाएन दाजुले। त्यसैले दाजुले आफ्नो मनभित्रको चिन्ता कम गर्न रक्सी खानुहुन्थ्यो। त्यो बेला दाजुलाई खुब कविता लेख्न मन लाग्थ्यो। तर दाजुलाई रक्सी नखाएको बेला लेख्न बस्दा चिया र चुरोट टुटाउनु हुँदैनथ्यो। तर, भाउजू झर्को मान्नुहुन्थ्यो। त्यसैले जयकुमारीको अनुहार हेर्न मन छैन भन्नुहुन्थ्यो, दाजुले। श्रीमतीले गर्दा घर छाड्नुभयो र रत्ना (प्रेमिका)ले गर्दा देशै छाड्नुभयो। निराश भएर कविता कोर्नुहुन्थ्यो,  ‘यो जीवन अन्तिम पाना पनि च्यातेपछिको एउटा ठुटे चेकबुक जस्तो'-भन्नुहुन्थ्यो।''

कवि कटुवाललाई घरपरिवारप्रति आफूले केही गर्न नसकेकामा आत्मग्लानि हुन्थ्यो। अन्तिम अवस्थामा अस्पतालको शैयाबाट उनले भनेका थिए रे ‘सुख-सुविधाकै निम्ति मात्र सोच्ने मान्छे भए, आज नेपालतिर मेरो पनि ४०/५० बिघा माटो हुने थियो होला। मलाई सबैले बौलाहा भने ! ठीकै छ म बौलाह नै सही। मैले मेरा पीरहरू रक्सीमा बिर्सन कोसिस गरें। मनमा अझै बाँच्ने रहर छ। बाँचे भने यसपटक आफूलाई सही मानिस सिद्ध गर्ने प्रयास गर्नेछु।’  

कवि कटुवाल पाँच हजार रुपैयाँको अभावमा विसं २०३७ साल भाद्र १५ गते औषधि गर्न नपाएर आसामस्थित डिब्रुगढ मेडिकल कलेजकै शैयामा मृत्युवरण गरेर बेवारिस लासकै चाङ्गमा परेका थिए। पछि साथीहरूले थाहा पाएर उनको लास ब्रम्हपुत्र नदीमा लगेर विसर्जन गरेँ। जम्मा १३ जना मलामी थिए-उनका।


रुशोको उत्तरआधुनिकवादी यात्रा र भाषण !


सत्ताको 'लिङ्ग' मा अहमताको 'कण्डम' !

शनिबार, जेठ ०८, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)