मङ्गलबार, १२ अगस्ट २०२५

विष्णु र सपनाकाे जोडी मुना-मदन जस्तै !

बिएल संवाददाता

बिएल संवाददाता

उर्लाबारी
News Image
• • •

झट्ट देख्नेले विष्णु र सपनाको जोडीलाई कसैले दिदीभाइ भन्छन् त, कसैले आमा-छोरा।

आमा छोरा भनेर जिस्क्याउँने पनि हुन्छन्।  साना कदका विष्णु मगर  ३१ वर्षको भए। उनको तौल २४ किलो छ भने उचाई ४ दशमलव २ इन्च मात्र।

मोरङको लेटाङ– ६ पब्लिक टोलको मावली घरमा बस्दै आएका विष्णुले आफूभन्दा अग्ली र ठूली जीवन सङ्गीनी रोजेका छन्।

उनकी पत्नी सपना लिम्बू पनि ३१ वर्षकी भईन्। बराबर उमेरका भए पनि विष्णुभन्दा सपना डेढ फिट अग्ली छिन्। तौल दोब्बर नै छ। तर,पनि उनीहरूको जोडी मुना-मदनको भन्दा कम छैन्।

विष्णुले भने, 'फेसबुकमा साथी थियौं। झण्डै ६ महिना कुराकानी भएपछि २०७३ सालमा बिहे गर्ने अवस्थामा पुग्यौं।' विष्णु र सपनाकी २ वर्षकी छोरी पनि छिन्। छोरी औसत बालबालिका जस्तै छिन्। विष्णुले थपे, 'म मात्रै होचो कद हुँ। बुबा, आमा र बहिनी सबै अग्ला छन्।'

सपनाको माइती झापाको शिवसतासी ४ हो। सपनाले भनिन्, 'म सानै छँदा आमा बित्नु भयो। आमा बितेपछि बुबाले कान्छी आमा ल्याए। ५ वर्षअघि बुबा पनि बिते।’

बुबा बितेपछि कान्छी आमासँगै बस्दै आएकी सपना सहाराबिहीन जस्तै भएकी थिईन्। कक्षा ८ सम्म मात्र पढेकी सपनाले फेसबुकमा विष्णुलाई भेटिन्। फेसबुकले उनीहरूलाई  प्रेममा डुबायो। सपनाले थपिन्, 'त्यसपछि भागेर बिबाह गर्‍यौ।'

विष्णु र सपनाको जोडी हेर्दा नमिलेको देखिए पनि रोमियो र जुलियट भन्दा कम छैन्। कमाई खाने जग्गा छैन्। मावली घरमा बस्छन्। आमा पनि सँगै छिन्। तर पनि उनीहरूको जोडी आफ्नै खुट्टामा उभिएकाे छ।  परि आएका सबै काम गर्न कसैलाई गुहार माग्दैनन्, उनीहरू।

विष्णु सामाजिक काममा ब्यस्त छन्, भने सपना कृषि र पशुपालनमा सक्रिय छिन्। अपाङ्गता भएका ब्यक्तिहरूको सङ्गठनमा विष्णु वडाको सचिव हुन्। सरकारी तथा गैरसरकारी संस्थाबाट अपाङ्गता भएका ब्यक्तिहरूका लागि वडामा आएका कार्यक्रमको तर्जुमा विष्णुले नै गर्छन्।

सानो तर फुर्तिलो शरीर। मावलमा बसेर हुर्केकोले सबैले 'भान्जा' भनी प्यारो गरी बोलाउँछन्, विष्णुलाई। शालिन ढङ्गले प्रस्तुत हुने विष्णुले कक्षा १२ सम्म पढे। तर, जागीर भने खान सकेनन्।

अपाङ्गता भएकाहरू कोही नेत्रहीन हुन्छन्, कोही बहिराे। कोही हिँडडुल गर्न सक्दैनन् भने कसैको हातले काम गर्दैन। तर, अपाङ्गता भए पनि विष्णु होचो र सानो मात्र छन्।

अरु कोही सपाङ्गता भएका मानिसभन्दा कम छैनन्, विष्णु। त्यसैले धरैजसो कामको जिम्मा उनले नै पाउछन्। उनले भने, 'हामी जस्ताले गर्न सक्ने काम पनि धेरै छन्। सरकारले रोजगारको ब्यवस्था गरिदिए हुने थियो नि !'



बिहिबार, जेठ २०, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!