षड्यन्त्रबाट हारेको हुँ, जनताबाट हारेको छैन: कृष्ण थापा (अन्तर्वार्ता)

Breaknlinks
Breaknlinks

पार्टीको ह्विप उल्लंघन गरेको आरोपमा राष्ट्रिय जनमोर्चाबाट प्रदेश सभामा निर्वाचित कृष्ण थापा पार्टीबाटै निलम्बित भए। उनी एक वर्षका लागि पार्टीको साधारण सदस्य समेत नहुने गरि निष्कासित हुन पुगे।

बागलुङ १ (ख)बाट प्रदेश सभा सदस्यमा निर्वाचित थापालाई पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारको विरुद्धमा उभिन पार्टीले ह्विप जारी गरे पनि तटस्थ बसेपछि राष्ट्रिय जनमोर्चाले कारबाहीका लागि प्रदेश सभामा पत्र पठायो। 

प्रदेश सभाले उनको सांसद पद खारेज गरिदियो। थापा न्याय माग्दै सर्वोच्च पुगे। अन्ततः सर्वोच्चले पनि उनको पद खारेज गरिदियो। सत्ता परिवर्तनको किचलो सुरु भएदेखि नै काँग्रेस गठबन्धनको विपक्षमा रहेका थापाको  राजनीतिक जीवन सर्वोच्चको फैसलाले लगाम लगाइदिएको छ। पार्टी र सांसद पदबाटै बर्खास्त कृष्ण थापासँग बिएल नेपाली सेवाले गरेको संवाद :

सर्वोच्चले तपाईको सांसद पद खारेज गर्‍यो। पार्टीले पनि तपाईंलाई पदमुक्त गरेको अवस्था छ। अब तपाईको बाटो के हुन्छ ?

जीवनमा हारजीतको प्रश्न रहि रहन्छ। वास्तवमा भन्ने हो भने, जनताबाट हारेको छैन। षड्यन्त्रबाट हारेको हूँ।

कुन पक्षबाट षड्यन्त्र भयो ? 

कांग्रेसको सरकार बनाउन आफ्नै पार्टीबाट पनि षड्यन्त्र भयो। मिलिमतोको षड्यन्त्र भयो। यसलाई मैले कुनै अनौठो मानेको छैन। रमाइलै मानेको छु। मेरो काम त म सांसद हूँदा पनि मेरो व्यक्तिगत काम बाहिर बसेर गर्थे। लेख्थें। पढ्थें। सामाजिक कामहरु गर्थे। जनतासँग सम्पर्क गर्थे। त्यो त निरन्तर छ नि त। त्यसमा कसले के गर्छ र मलाई।

सर्वोच्चको निर्णयबारे के भन्नु हुन्छ ?

अदालतले दुईवटा निर्णय गर्‍यो अनौठो त भयो। तर, मैले त्यसलाई स्वीकार्छु नि !

तपाईको पार्टीले त तपाईलाई बर्खास्त गरि सक्यो। अब तपाई अर्को कुनै पार्टीमा प्रवेश गरेर राजनीति गर्नुहुन्छ कि राजनीतिबाटै सन्यास लिनुहुन्छ ?

होइन, म अर्को कुनै पार्टीमा प्रवेश गर्दिनँ। सक्रिय राजनीतिक जीवन एकवर्षमा दुई महिना त भई सक्यो। अब १० महिना बाँकी छ। फेरि, थप्यो भने के लाग्यो र ! नत्र त के भयो र आन्तरिक काम नगर्ने त होला नि ! मैले थाहा नपाई नपाई अरुले गर्ने त भयो नि ! हिजो हामीले पनि त्यस्तै गर्‍यौं। उनीहरुले गरेको कामलाई बाहिरबाट हेर्न त पाइएला नि!

तत्काल अर्को पार्टी प्रवेश गर्ने योजना छैन ?

हाम्रै पार्टीका दिग्गज नेताहरूले पनि एउटा आरोप लगाएका छन्। त्यो मिथ्या आरोप हो। मेरो वास्तविकतालाई। जनताको मनोभावनालाई जित्न नसकेर उनीहररूले त्यस्तो भनेका हुन्। तर, म कुनै पार्टीमा प्रवेश गर्दिनँ। जान्न।

तपाईंलाई चुनाव जिताएर पठाउनेहरुले के भन्नु भएको छ त !

मलाई जसरी जनताहरुले जिताएर पठाए। त्यहाँ जुन किसिमको अवस्था छ। त्यसलाई हेर्दा समर्थन त छ नि ! मैले गरेको कामलाई उहाँहरुले प्रशंसा नै गरि रहनु भएको छ। त्यहाँ १० देखि जितेका सांसद पनि हुनुहुन्छ। ५ वर्षदेखि चुनाव जित्ने सांसद पनि हुनुहुन्छ। साढे तीन वर्षदेखि चुनाव जितेर काम गर्ने म पनि छु। मैले कस्तो काम गरें ? यो विषयमा त तपाईंले त्यहाँका जनताको प्रतिक्रिया लिए पनि थाहा भई हाल्यो नि ! 

हिजो धारा नबनाउने। बाटोको एउटा सिढीं पनि नबनाउने सांसद पनि त्यही हुनुहुन्छ। यो तीन वर्षमा त्यहाँ जानुस्। सोध्नुस्। मेरो भूमिका के हो ? त्यहीँका जनताले प्रमाणीत गर्छन्। 

ठिकै छ पार्टीमा नअटे म बाहिरै बसुँला। तर, म जो–सँग लडेर आएँ। जसलाई मैले हराएँ। उसलाई जिताएर म जादिनँ। मेरो यही नै अडान हो। यसमा मलाई मिथ्या आरोप नलगाए हुन्थ्यो। त्यसले उहाँहरुको नै बद्नाम गर्छ। उहाँकै उचाई घट्ने हो। त्यो त प्रमाणीत गरौंला नि त। उनीहरु ८०, ८५ वर्ष बाँचे भने म पनि बाचुँला। बल्ल त ६० वर्ष भएँ। २५ वर्ष बिताउनै छ। 

अन्त्यमा, पार्टी नेतृत्वलाई के भन्न चाहनुहुन्छ ?

र्‍याल काड्नेहरुले भनेर मात्र हुँदैन। कांग्रेससँगको सौदाबाजी के हो? यो त इतिहासले थाहा पाउछ। कम्युनिष्ट हुँ पनि भन्ने अनि, कांग्रेसलाई जिताउने ? हार जित त भई नै रहन्छ। इतिहास छ। मैले साढे तीनवर्ष जितें। उनीहरू १९ महिनाको लागि। मैले दुईचोटी जिते। एकचोटी प्रदेश सभाबाट निकालेर जिताए। एकचोटी अदालतबाट जिताए। तर, जनताको मनोभावनाबाट म कहिल्यै पनि गिरेको छैन। मलाई जनताले समर्थन गर्छन्। मेरो सबैभन्दा ठूलो जित नै त्यही हो। 

प्रकाशित मिति: : 2021-06-15 11:42:00

प्रतिकृया दिनुहोस्