कांग्रेसमा 'तीन पुत्र'को सक्रियता : रामचन्द्रलाई चस्का, देउवालाई चुनौती

नेपाली कांग्रेसको आगामी  १४औं महाधिवेशनको चहलपहल सुरु भइसकेको छ। भदौ १६ देखि १९ गतेसम्म गर्ने गरी कार्यतालिका पारित भएपछि केन्द्रदेखि जिल्लासम्मका नेताहरू नेतृत्वका लागि चुनावी तयारीमा जुटेका छन्। 

पार्टी सभापति शेरबहादुर देउवाले फेरि एकपटक सभापतिमा लड्ने घोषणा गरिसकेका छन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले यसपालि आफ्नो अन्तिम मौका भएको तर्क तयारी अघि बढाएका छन्। देउवा र पौडेललाई अभिभावकीय भूमिकामा बस्‍न आग्रह गर्दै दोस्रो पुस्ताका नेताहरूको सक्रियता झन् बढेको छ।

कांग्रेसको आगामी १४औं महाधिवेशनको मुखमा उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहको साझा सक्रियतालाई महत्वका साथ हेरिएको छ। उनीहरूबीच तीन चरणको छलफल भइसकेको छ। निधि निवासबाट सुरु भएको भलाकुसारीको सिलसिला कोइराला निवास महाराजगंज हुँदै चाक्सीबारीसम्म निरन्तर छ।  विरासत बोकेका यी तीन पुत्रहरूको सक्रियताले कांग्रेसको आन्तरिक जीवनलाई तरंगित गरेको छ। उनीहरूबीचको शृखंलावद्ध जमघटले वरिष्ठ नेता रामचन्द्र पौडेललाई चस्का दिएको छ भने सभापति शेरबहादुर देउवाका लागि पनि यो गठबन्धन चुनौती बन्‍न पुगेको छ। 

 देउवाको विकल्प खोज्‍ने रणनीतिअनुसार नै शृखंलावद्ध छलफल भइरहेको छ। उनीहरूबीचको यो गठबन्धन महाधिवेशनको चुनावसम्म कायम रहेमा यसले आन्तरिक समीकरण र चुनावी अंकगणितमा समेत उथलपुथल ल्याउने अनुमान गरिएको छ। उनीहरू तीनजना मिलेमा सबैभन्दा बलियो गठबन्धन यही नै हुने आंकलन गरिएको छ।  तर तीनैजना सभापतिका आकांक्षी हुन्। उनीहरूको पृष्ठभूमि, प्रभाव र रणनीति अलगअलग भएकोले मिलेर अघि बढ्ने संभावना कमजोर देखिन्छ। 

प्रकाशित मिति: : 2021-07-02 06:26:00

प्रतिकृया दिनुहोस्