कवि बन्नकाे लागि एक दर्जन 'टिप्स'

Breaknlinks
Breaknlinks

मेरो मेसेञ्जरमा, कवि कसरी बन्ने ? भन्ने बारेमा 'टिप्स' दिनु भनेर एक जना फेसबुके मित्रले सोध्नु भएको थियाे।

नेपालका कविहरू 'भाग्यमानी' हुन्, किनभने एकजना इन्जिनियरले एउटा खानेपानी योजना बनायो भने जनताले दिने पहिलो प्रतिकृया भनेको 'खाएछ यसले !' भन्ने हो। तर, कविले जस्तोसुकै कविता लेख्दा पनि आउने पहिलो प्रतिकृया भनेको 'वाह! कविजी !' हाे।

नेपालमा साहित्यको नाममा जति धेरै पुरस्कार स्थापना गरिएको छ, त्यती शायद अरू कुनैको लागि पनि छैन होला। कविलाई देशको 'गहना' मानिन्छ भने इन्जिनियरलाई देशको 'कलङ्क'।

सँधै गाली खानेलाई 'वाह!' खाने र भाग्य भएमा 'पुरस्कार' पाउनेसमेत बनाउने र कलङ्कबाट गहना बन्न सक्ने ठूलै उपाय दिदैछु है म, त्यो पनि सित्तैमा।

१. 'त्यसले क्या दामी लेख्छ, एब्सट्र्याक्ट छ, केही पनि बुझिन्न।' भन्ने वाक्यलाई आफ्नो कविता लेखनको आदर्श-सिद्धान्त बनाउनुस्। सरल कविता लेख्नतिर लाग्दै नलाग्नु, सबैले बुझ्छन् अनि तपाईंले दुःख पाउनु हुन्छ।

२. कविताको पङ्तिमा एउटा शब्द र अर्को शब्दको अलिकति पनि मेल नहोस्। र विरोधाभाषी होस्- 'चराको सुँढ मनको गहिराइमा लतपतिएको छ' हेर्नुस त यसले पाठकलाई के-के कल्पना गर्न बाध्य गराउँछ ! सकेसम्म गह्रुङ्गा शब्दहरू प्रयोग गर्नुहोस्। आकाश होइन गगन लेख्नुस्। आँखा होइन चक्षु। पानी होइन जल प्रयोग गर्नुस्- 'जलमा फैलने चक्षु गगनमा टाँसिन खोज्छ, मेरो मन त्यसरी नै जम्यो'। कसैले यो भनेको के हो ? भनेर सोध्यो भने 'कविता सर्जकले होइन पाठकले बुझ्ने हो, उनीहरूलाई नै यसको अर्थ लगाउन दिनुस्, पाठकलाई अन्डरइष्टिमेट नगर्नुस्, होशियार!' भनेर चेतावनी नै दिनुस्। फेरि सोध्ने साहस गर्दैन। यसो भन्दा 'अहो यसले आफ्नो पाठकलाई कत्ति धेरै माया गर्दो रहेछ र यसको त आफ्नै अजिबको साहित्यिक सिद्धान्त पनि रहेछ' भन्ने पनि बुझिन्छ।

३. कसैले बुझिएन भन्यो भने 'अहिलेको समाजको चेतनास्तरले भ्याउने लेखन नै हैन मेरो, गाइने लेखन हो र सबैले बुझ्नलाई यो त बौद्धिक लेखन पो, अहिलेको पाठकलाई लेखिएकै हैन त कसरी बुझ्नु, यसलाई बुझ्ने पाठक २०० वर्षपछि मात्र जन्मन्छन्, मेरो लेख्ने धर्म हो लेख्छु' भन्नुस्।

४. सकेसम्म विदेशी प्रतीकहरू प्रयोग गर्नुहोस्। अझ ग्रिसेली बिम्बहरू प्रयोग भएमा झनै राम्रो। विदेशी शब्द अंग्रेजी वा फ्रेञ्च, देवनागरी लिपिमा एक-दुई वटा राख्न सकेमा अरूले बुझ्न सक्दैनन् र कवितामा वजन आउँछ। आधुनिक देखिन्छ- 'तिम्रो देजा भ्यूमा, एपोलोको इन्द्रधनुले हुत्याएको म'।

५. गरिब शोषित उत्पीडित भन्ने शब्द कुनै न कुनै रूपमा आउनै पर्छ, नत्र तपाईंको कविता पुरानो विचारमा आधारित मानिन्छ। कवितामा रगतको कुरा गर्‍यो भने झन् उच्चस्तरको क्रान्तिकारी कविता मानिन्छ। (उदाहरणः रगत उल्लेख गरिएको नेपालको राष्ट्रगान)

६. कवितामा घुमाउरोभन्दा सिधै गाली प्रयोग भयो भने बढी रूचाइन्छ। पाठक माझ सम्झिने नाम बन्ने छ। 'वाह ! यसले त सिधै नडराइकन सत्तालाई गाली गर्न सक्छ' भनेर आँटिलो कविमा तपाईंको नाम रहनेछ। नेपालका बढी रुचाइएका गाली गरेर नै पेट पालेका लेखकहरूले प्रयोग गरेका गालीका शब्दहरू चुनेर राख्नुस्। आफैले आफैलाई धिक्कारेको, अभिशप्त देशमा जन्मेछु भन्ने किसिमको भाव हुनुपर्छ। अझ नेतालाई नै ठूलो गाली गरेर लेख्नु भयो भने त्यस्तो कविता झनै चल्छ।

७. के भइरहेको छ, ती कुरा लेख्नुस्। कस्तो हुनुपर्ने हो भन्ने कुरा नलेख्नुस्। कस्तो हुनुपर्ने भन्ने लेख्नको लागि तपाईंमा प्रचण्ड कल्पनाशिलता हुनुपर्छ। त्यसैले त्यतातिर नलाग्नुस्। नेपालमा गरिबी छ, भोक छ, अन्याय छ, अत्याचार छ भन्ने कुरा लेख्नुस।त्यसको समाधान सुझाउने दायित्व कविको हैन भन्ने मान्नुस्।

८. शीर्षक साधारण नराख्नू, यो आकर्षक हुनुपर्छ। तीन शब्दको प्रयोग गर्नुस्, 'सरकार, विचलन र मैदान' यसले गर्दा वजनदार देखिन्छ। अर्को उपाय भनेको कवितामा नभएको शब्द 'शीर्षक'को रूपमा रोज्नुस्, तपाईंको कवितामा आकाशको पनि कुरा छैन र धर्तीको पनि कुरा छैन भने कविताको शीर्षक राख्नुस 'नआकाश नधर्ती'।

९. छन्दमा लेख्न सक्दिन नभन्नुस्। 'सक्छु तर त्यो पुरानो स्टाइल हो त्यसैले लिख्दिन' भन्नुस्। 'त्यसले मेरो अभिव्यक्तिको  प्रवाह, प्रचण्डता र तीव्रतालाई धान्नै सक्दैन वा म त्यस्तो छन्द नामको बन्धनमा बाँधिने कवि नै हैन। शिल्प होइन भाव पो हेर्ने हो' भन्नुस्। भावको ज्वरो थेग्न नसकेर राती २ बजे जुरुक्क उठेर निसासिएर र छटपटाएर कविता लेख्ने कवि पो हो म, त्यस्तो बेलामा विचरा छन्दले के धान्न सक्नु मेरो भावको प्रचण्डतालाई, त्यसले त झन् रोक्छ भावलाई बग्नबाट भन्नुस्। यसले यो त कवितामै बाँच्ने मान्छे रात-दिन कविता नै सोच्ने रहेछ भन्ने पनि बुझिन्छ।

१०. इन्भेस्टमेन्ट गर्न सिक्नुस्। फेसबुकमा कसैको स्ट्याटस लाइक गर्नु भनेको त्यो तपाईंको इन्भेस्टमेन्ट हो। तपाईंले लाइक गरेकोले उसले पनि तपाईंको स्ट्याटसमा लाइक गर्छ। त्यसैले दुई-चार जना कवि साथीहरूको कवितामा लाइक ठोक्न सुरु गर्नुस्। तपाईंले उसको र उसले तपाईंको प्रशंसामा लेख्न नबिर्सनुस्।

११. पद, धन र कविता एउटै हुन्। तपाईंसँग पद वा धन छ भने तपाईंले त झन् तुरुन्त लेख्न सुरु गर्नुपर्छ। तपाईंको कविता तत्कालै राम्रो कवितामा गनिने चान्स बढी हुन्छ। पुरस्कारमा पनि इन्भेस्टमेन्ट गर्न सक्नुभयो भने झनै राम्रो। वा पैसा छैन भने कवि र कविता एउटै हो भन्ने पार्नुस्। मेरो कविता राम्रो छ भन्नुभन्दा पनि म दुःख पाएको कवि, कवितामा लागेर मेरो घरवार नै बिग्रेको वा प्रेममा धोका पाएर म कवि भएको भन्नुभयो भने तपाईलाई विचराले यस्तो बेलामा पनि लेखिराखेको छ भनेर मन पराइदिन थाल्छन्।

१२. आफ्नो उपनाम पनि राख्नुस्। 'विक्षिप्त', 'घायल', 'क्रान्तिकारी', 'पागल', 'ट्वाँटे', 'लुते' आदि अनौठो नाम सोच्नुस्, यसले गर्दा तपाईं भयङ्कर अराजकतावादी, समाजको वर्तमान अवस्थाप्रति तपाईंको ठूलै विद्रोह रहेछ वा तपाईं हटके (गैर पारम्परिक) किसिमको कवि हो भन्ने जस्तो देखिन्छ। आफ्नो लेखनलाई कुनै वाद वा समूहको नाम दिनुस्, जस्तो 'चेतनावादी', 'हेपिएको विचार', 'विद्रोही जमात', 'एक्लो पथिक', 'काव्यिक विद्रोह', 'मातेको कविता', 'उरन्ठेउलो भाव', 'हारेको कविता', 'विस्फोटक शिल्प', 'गरिबको लागि कवि' । सकेसम्म सजिलो अर्थ दिने हुनुहुन्न है, पढ्दा पनि के-के न हो जस्तो, उत्पातको सुनिनुपर्छ।

हस् त, केही समयपछि तपाईंले कविको रूपमा ठूलै पुरस्कार पाउनु भयो भन्ने सुन्ने सुअवसर प्राप्त होस् !

प्रकाशित मिति: : 2021-07-17 10:22:00

प्रतिकृया दिनुहोस्