बिग्रदै गएकाे तीजकाे परम्पराः दारू इन् दर

भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म करिब चार दिन मनाईने पर्व तीजको पहिलो दिन आज दरखाने दिन हो। यो दिनमा माइतीले छोरी-चेलीलाई घरमा बोलाएर मीठा-मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुख-दुख साटासाट गरी एउटै ठाउँमा खाने-बस्ने चलन छ।

यस दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ। यही दर खाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ। दरमा ठाउँअनुसार विभिन्न मीठा-मीठा परिकार साथै खीर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफूल खाने गरिन्छ।

दरमा ठाउँअनुसार विभिन्न मीठा-मीठा परिकार साथै खीर, घ्यू, सेलरोटीलगायतका फलफूल खाने गरिन्छ। दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ। भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो।

नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्। यो पर्व विशेषत:नेपालभर मनाइन्छ भने भारतका केही प्रान्तमा पनि मनाइन्छ। भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो। त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउँदै आएका छन्।

पछिल्लो पुस्ताका तीज मनाउने नारीहरुले भने तीजको संस्कारविपरित तीजलाई मान्दै आइरहेका छन्। तीजमा आपसमा दिदीबहिनीले आफ्नो दुख, वेदना, पराई घरको भोगाई, सासु तथा नन्द आमाजुहरुको ब्यवहार अनि माइती घर जन्मदिने आमाबुबा तथा दाजुभाई दिदीबहिनीलाई सम्झिएर गितमार्फत ब्यक्त गर्दथे। तर, अहिले आएर त्यो प्रचलनमा ह्रास आएको छ। जसले गर्दा तीज पर्व 'नुन बिनाको खल्लो तरकारी' बन्न पुगेको छ।

तीजको अर्को विशेषता हो दर खाने। दर भनेको तीजको व्रतको अघिल्लो रात माइतीले घरमा गएका चेलीबेटीहरुलाई आमाले पकाएको विभिन्न प्रकारका मिस्ठान्न भोजन, घ्यु, खिर आदि खानुलाई दर खाने भनिन्छ। उक्त खानेकुराहरु मध्यरातमा उठेर खाने प्रचलन रहेको छ ताकी त्यो दरको आडले भोलिपल्टको व्रतमा पानी पनि नखाई दिनभर नाचगान रमाईलो गर्न सकु। तर, अहिले  दर खाने प्रचलन परिवर्तन भएका छन्। तीज आउनु भन्दा एक, दुई महिना अगाबैबाट दर खाने चलन चलेको छ। यस्तो विकृतिले भोली तीज भन्ने पनि पर्व थियो रे भन्ने दिन नआउला भन्ने सकिन्न। तीजको मर्म तथा महत्वलाई वास्तै नगरि विकृति दिनप्रतिदिन बढिरहेको कुराले सबैको मनमा डर पैदा भएको छ।

त्यतिमात्र हैन तीज भनेको सासुले गरेको ब्यवहार, कर्मघरको दुख र नारीको वेदनालाई उजागर गरेर गित गाउने तथा नाच्ने प्रचलन छ। तर अहिले गीत, संगीतमामा मौलिकता हराइसकेको छ। अहिलेको तीज गीतको नाममा विकृति भित्रिने खालका शब्दहरु प्रयोग गरेर गीत कोरेका हुन्छन्। रातो सारी तीजको विशेष पहिरन हो। साँच्चै रातो सारीमा सजिएकी एक नारी पक्कै पनि राम्री नदेखिने त कुरै हुँदैन। तीजको लागि श्रीमतीलाई रातो सारी र गरगहना किनिदिएर पुरुषले आफ्नी संगिनीलाई खुशी बनाउने प्रयास गर्छन्।

तीज गीतको नाममा परिवारसंग र चेलीबेटीहरुसंग समेतसंगै बसेर हेर्न नसकिने भिडियो निर्माण गर्ने महिनौ अगाडीबाटै व्यापारका लागि युट्युबमा सार्वजनिक भएका गीत संगीतले भने परम्परा,पर्वको खिल्लि उडाईरहेको छ।

तीजको गीत भनेको सभ्य भाषा, सबैले बुझ्ने खालको र चेलीको पिर मर्का र बेदनामा रचिएको हुनु पर्ने हो। तर, तीजका गीत कुनै मर्मबिनै बजारमा सार्वजनिक हुन्छन् तीज र तीज गितको महत्व कम हुदै गएको छ। यसतर्फ राज्यले ध्यान दिन जरुरी छ। हरेक कुराहरुको सकारात्मक पक्षका साथै नकारात्मक पक्ष पनि साथमा आएका हुन्छन्। तर, आफ्नो मौलिकतालाई नै चटक्क बिर्सिएर पश्चिमबाट भित्रिएको पहिरन र नाच तीजको लागि शोभनीय देखिंदैन।

एकातर्फ हामी हाम्रो धर्म, संस्कार, संस्कृति, रहनसहन, चाडपर्व, परम्परा, मेलापर्वप्रति गर्व गर्दै जान्छौं भने अर्कोतर्फ हामी तिनै धर्म, परम्परालाई संकटतर्फ डोर्याउदैछौँ।

निराहार ब्रत 

व्रत बस्नु कुनै नराम्रो कुरा होईन। पतिको लागि पत्नी व्रत बस्दा पनि हुन्छ र पत्नीको लागि पति व्रत बस्दा पनि हुन्छ। सबैभन्दा ठूलो कुरा आफ्नो स्वास्थ्यको लागि हप्तामा एक दुई दिन व्रत बस्न सकियो भने हामी आफैलाई फाईदा पुग्छ। आस्थाका आधारमा बसिने ब्रतमा खाना खाने प्रक्रिया बीच लामो अन्तराल राख्दा शरीरलाई नै फाइदा पुग्ने विश्वाश गर्दछन्। हिन्दु धर्मपरम्पराअनुसार कुनै पनि उद्देश्यप्राप्तीको लागि ब्रत बस्ने गरिन्छ। यो हिन्दु धर्मभित्रको आफ्नो छुट्टै मौलिकता हो। 

हिन्दु धर्ममा महिलाले आफ्नो श्रीमानलाई भगवान शिवको स्वरुपमा सम्झिएका हुन्छन्। त्यसैले पनि महिलाले भगवान शिवको नाममा व्रत बस्ने गर्दछन्। यसरि व्रत बस्ने महिलाहरु आफ्नो स्वेच्छाले व्रत बस्ने गर्दछन्। आफ्नो मनमष्तिष्कलाई अझ आध्यात्मिक एवं पवित्र बनाऊन व्रत बस्ने गर्दछन्। यद्यपि महिलामात्र होईन, हिन्दुधर्ममा आस्था राख्ने पुरुषहरु पनि भिन्न भिन्न बारमा भिन्न भिन्न भगवानको नाममा व्रत बस्ने गर्दछन्। यो केवल भगवानको नाममा मात्र नभएर आफ्नो मनमस्तिष्कलाई शान्त एवं आध्यात्मिक बनाऊन व्रत बस्ने, मठमन्दिर जाने, पुजाअर्चना गर्ने, तिर्थयात्रा जाने गर्दछन्।

धार्मिक रिवाजभित्र कतिपय विकृति होलान्, अब्यवहारिक कुराहरु होलान्, ती सबै कूरिती र विकृतिहरु समाजको चेतनास्तरसँगै विलय भएर पनि जान्छन्। 

धर्मसंस्कृतिका नाममा फैलिएका विकृति, विसंगती र अब्यवहारिक पक्षलाई निरुत्साहन अवश्य गर्नुपर्दछ। तर, तिनै धर्मसंस्कृतिका पहिचानयुक्त सकारात्मक मौलिकतालाई जोगाइ राख्न सक्नुपर्दछ। हिन्दु धर्ममा तीजको मौलिक पहिचान भनेको नारी सौन्दर्यता, समर्पण, संघर्ष र त्याग पनि हो। तीजमा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै महत्व छ।

धार्मिक संस्कारयुक्त तीज सर्वमान्य हुन्छ। तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ। रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ। पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो। हृदय स्वच्छ भए मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वास तीजको व्रतमा अन्तरनिहित छ। प्राचीन भारतवर्ष विशेष गरी उत्तर भारत एवं नेपालमा पौराणिक कालदेखि नै चलिआएको तीज भारतभन्दा पनि नेपालमै बढी चलेको पर्व हो।

पछिल्ला केही वर्षहरुमा धर्म र संस्कृतिका नाममा फरक शैली भित्रिएको छ। कला उत्तिकै विगारिएको छ भने परमपरागत संस्कार, संस्कृति लोप हुँदै गएको छ। तीजको महिमा, धार्मिक एवं सांस्कृतिक महत्त्व, यसको सामाजिक पाटो, परम्परागत धारणाभन्दा बाहिर गएर हामीले अहिले तीज मनाइ रहेका छौँ। तीजमात्र होईन आजकल अन्य चाडपर्व पनि संस्कार, संस्कृति, रितिथिती, रहनसहन, परम्परालाई भुलेर विकृतितर्फ गइरहेको पाउछौँ। हामीले हाम्रो मौलिकता विर्सिंदै गईराखेका छौं। हामीले हाम्रो धार्मिक एवं सांस्कृतिक सम्पत्तिको महत्त्वलाई बिर्सिंदै गईराखेका छौं र तिनको गरिमालाई कुल्चिंदै छौं।

धार्मिक, सांस्कृतिक एवं सामाजिक पाटोलाई चटक्कै बिर्सिएर तीजलाई एउटा भड्किलो पर्वको रुपमा मनाउन पुगेका छौं। तीजको दर दारुमा रुपान्तरण भएको छ भने तीजको गीत डिस्कोमा परिणत भएको छ। हुँदाहुँदा अब तीजको नाममा च्यातिएका पाईन्ट र कट्टु अनि अर्धनग्न अवस्थाका भिडियो सार्वजनिक हुन थालेका छन्। यो भनेको सरासर धर्म, संस्कार र संस्कृतिमाथी सोझै आक्रमण हो।

अहिलेका तीज गीत होस् या लोकगीत, पटक्कै पनि लोक संस्कारको आभाष पाईंदैन। त्यस्तै तीजको मर्म पनि छैन। 

संस्कारको नाममा विकृति फैलाउने अधिकार कसैलाई छैन। व्यक्तिगत स्वतन्त्रता सबैमा छ। यसो भन्दैमा संस्कारको नाममा विकृति फैलाउन भने हुँदैन। कोही महिनादिन देखिनै रमाउने र कसैले पुर्पुरोमा हात हाल्ने अवस्था आउनु हुँदैन। संस्कारको नाममा विकृतिभन्दा पनि परम्परागत मौलिकता, महत्व र सद्भाव कायम राख्न सक्नुपर्दछ।

पछिल्लो समय बजारमा तीज गीतको नाममा जति गित सार्वजनिक हुन्छन्, त्यस्ता गीतले न त् तीजको मर्म बोल्छन् न त् चेलीको वेदना बोल्छ। संस्कृति र परम्पराअनुसार मनाइने तीज लोप हुँदै गएको छ।

मौलिक भाका र संस्कृति, परम्परा बिर्सिएका प्रवृतिले आफ्नो पन हराउँदै गएको छ। मनपरि तरिकाका छाडा तीज गीतले गर्दा तीजको परम्परा नै ह्वीस्की खाएर इङ्लिस गीतमा नाच्ने प्रवृतिमा परिणत भएको छ। त्यौलीमा डान्स गरेर तीज मनाउन थालिएको छ। तीज आउनुभन्दा दुइ/चार महिना अघिदेखि नै रेडियो, टीभी र युट्युबमा तीजका नाममा गीत बज्न थाल्छन्। सोही अनुसार पार्टी प्यालेसमा दर कार्यक्रमको आयोजना गरिन्छ। तीजको मर्म बोकेका गीत भेट्न भने गाह्रो भइसकेको छ । 

तीज गीतका नाममा उच्छृङ्खल शब्द र दोहोरो अर्थ लाग्ने गीतहरू बढी भेटिन्छन्। तीजका अवसरमा आएका अधिकांश गीत रत्यौली शैलीका हुन्छन्। 

पहिलेको तुलनामा अहिले तीज गीतमा धेरै लगानी गर्न थालिएको छ। संगीतदेखि भिडियोसम्म धेरै पैसा खर्च गरेर तयार हुने गरेका छन्। प्रतिफल कमाउन बजारमा बिक्ने गीत निकाल्नुपर्ने बाध्यता पनि होला। तर, यही कारणले संस्कृति मास्न हुँदैन। यो विषयमा गीत निकाल्नेले ठण्डा दिमागले सोच्न जरुरी छ। निजी सञ्चारमाध्यमले त बजारलाई ध्यानमा राखेर यस्ता गीत बजाऊलान्, सरकारी सञ्चारमाध्यमसमेत जिम्मेवार नभएको देखिएको छ। 

आफ्नोपन, परम्परा, संस्कृति जोगाउन युवा तथा राज्यलगायत सबै पक्षले एक पटक ठण्डा दिमागले सोच्नु पर्ने देखिन्छ। जे जस्तो भए पनि नेपाली नारीहरुको महान चाड हरितालिका तिजको स्वदेश तथा विदेशमा रहनुभएको सबैलाई एक मुष्टमा शुभकामना!

प्रकाशित मिति: : 2021-09-09 19:52:00

प्रतिकृया दिनुहोस्

ट्रेन्डिङ