यसकारण ऋषिपञ्चमीप्रतिकाे 'विश्वास' भ्रम मात्र हाे

फाइल तस्वीर
फाइल तस्वीर

कुरा दुई वर्ष अगाडिकाे हाे।

तीज आउँन एक-दुई दिन मात्र बाँकी थियो। स्कुलमा म्याडमहरुले ऋषिपञ्चमीमा बिदा लिने विषयमा छलफल गरे। त्योभन्दा अगाडि हरेक वर्ष उक्त दिन महिलालाई बिदा दिइदै आइएको थियो। ओली सरकारले काटेका भारी बिदामा ऋषिपञ्चमी पनि पर्‍याे।

हामीले भन्यौं, ‘अब त बिदा काटियो, त्यो दिन हजुरहरुले बिदा पाउनुहुन्न।’ उनीहरु सबैको एक स्वर थियो, ‘बिदा नपाए के भयो त? हामी आफूले पाउने बिदा सुविधा उपयोग गर्छाैं नि।’

एकजना म्याडले त यस्ताे समेत भनेकी थिइन्, ‘ऋषिपञ्चमीको दिन पनि को स्कुल आउला त बाई !’

म आफै ऋषिपञ्चमीबारे अनविज्ञ थिएँ। जान्ने भएदेखि नाम सुन्दै आएको भए पनि यसबारे केही थाहा थिएन। म्याडमहरूले आफ्नो बिदा काटे पनि हामी आउँदैनौं, किनभने उनीहरुले ऋषिपञ्चमीलाई किन यति धेरै महत्व दिए? आखिर के हो ऋषिपञ्चमी? दिमागमा यस्तै प्रश्न खेलिरहेका थिए।

तीजको दिन विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रापती न्यौपाने बजारबाट हरियो झार बोकेर घर फर्किदै थिइन्। बाटैमा भेट भयो। उनले बोकेको झार के हो? भनी साधें। उनले त्यस झारको नाम ‘आँफामार्काे’ रहेकाे बताइन्।

ठाउँ-ठाउँमा गाँठा परेको त्यो झार ऋषिपञ्चमीको लागि विशेष रहेछ। किन ? प्रश्नको उत्तरमा उनले भनेकी थिइन् ‘हामी छुई भएको बेला घरभन्दा बाहिर बसे पनि कतिबेला थाहै नपाई नछुनु पर्नेलाई पनि छोइएको हुन सक्छ। किरा, कमिलालाई छोइएको हुन्छ। यसरी नछुनेलाई छोइने हुनाले पाप लाग्छ। त्यसैले ऋषिपञ्चमीको दिन यो आँफामार्काेका तीन सय पैंसट्ठी गाँठालाई दाँतले टोकेर फुटाएर पूजापाठ गरी नुहाउने हो भने पाप पखालिन्छ।’

उनले आफ्नो टोलका सात-आठ जनालाई पुग्नेजति ‘आँफामार्काे’ समेत ल्याएकी थिइन्। अध्यक्षलाई अलि बोझ लागेको थियो। उनले थपेकी थिइन्, ‘कम झ्याउ छ। नगरी सुख नाई। आँफामार्को खेड्डै (संकलन गर्दै) हैरान छ।’

त्यो झार जुम्लाको राना राउत भन्ने ठाउँमा सबभन्दा बढी पाइन्छ। हिजोआज यही समयमा त्यहाँका मान्छे त्यो घाँस बजारमा बेच्न ल्याउछन्। तीनसय पैंसट्ठी गाँठा लगभग पुग्ने झारको एक सयदेखि एक सय पचाससम्म पर्छ।

अध्यक्षसँगै रहेकी उनकी जेठानी दिदीलाई उनको कुरा चित्त बुझेनछ। त्यसैले काउन्टर दिदै बोलिन् ‘झ्याउ मान्नेभन्दा पनि मन शान्ति हुने र चलिआएको परम्परालाई निरन्तरता दिने हो। मान्छे मारेको र पूजापाठ गरेको एकैनासे कहाँ होला त?’

तीजको दिन र गणेश चौथीको बिहान ‘आँफामार्को’का ग्राहक खुब बढ्छन्। यो खरिद गर्न कतिपय लोग्नेमान्छे पनि सामेल हुन्छन्। एकजना एनजीओकर्मीले ‘आँफामार्काे’ किनेको देखेर मैले 'उनलाई के हो यो ?' भनेर सोधेँ।

उनलाई हिनताबोध भएको हुनुपर्छ सायद। उनले त्यति खुलेर बोलेनन्। यत्ति भने, ‘खै ? के हो-के? यी आइमाइहरुसँग सकिदैन। घरकीले ल्याइदे भनेपछि ल्याइदिएको हो।’

यति भइसकेपछि ऋषिपञ्चमीबारे बुझ्न केही धर्मशास्त्रसम्बन्धी लेख र केही लेखक खाेजें, गुगलकाे साहारा लिएर।

जुम्ला बहुमुखी क्याम्पसका उपप्राध्यापक विष्णु तिमिल्सिना ऋषिपञ्चमीले महिलाको पक्षमै बोलेको भन्छन्। ‘दतिवनले दाँत माझ्दा दाँतमा किरा लाग्दैन। खासमा हरेक दिन एउटा दतिवनले दाँत माझ्नुपर्ने हो। त्यो सम्भव नहुने हुनाले अवसर पारेरै एकैपटक यसो गर्नु परेको हो। हामीले पनि दतिवनले दाँत माझ्दा फरक पर्दैन। यो महिलाहरुको विपक्षमा छैन।’

ऋषिपञ्चमीको दिन प्राय महिलाहरु बिहानै उठेर नजिकको नदी, खोला, ताल-तलैया र पोखरीमा गई ३६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दै आएका छन्। यस विषयमा नेपाल पञ्चाङ्ग निर्णायक समितिले भनेकाे छ, ‘रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तर्षिको पूजा गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको छ।’

रजस्वला भएकाे बेलामा छोइछाई गर्दा महिलाका शरीरबाट निस्कने विकृत रगतका कीटाणुले नराम्रा रोग निम्त्याउँछ। कीटाणुले महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी-नजानी छोइछाइ भएमा ऋषि पञ्चमीको दिन पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वासले यस पर्वलाई वैज्ञानिक मान्नुपर्ने तर्क पञ्चाङ्ग निर्णायक समितिकाे छ।

रजस्वला हुँदा जानी-नजानी छोएको पापबाट मुक्त हुने उपाया स्वरुप ऋषिपञ्चमीको व्यवस्था गरियो। ३६५ वटा दतिवन टोकेर र गाईको गोबर लगाएर ३६५ पटक नुहाउनुपर्ने संस्कार पूरा गर्नु नै ऋषिपञ्चमीको रीत पुर्‍याउनु हो।

यतिमात्र होइन छुइछाईलगायत कुनै त्रुटि भएको भए अरुन्धतीसहित सप्तर्षिकाे पूजा गर्नाले त्यसबाट मुक्ति पाउने ‘मिथक’, जसले बोकेको ऐतिहासिक महत्व भनेकै महिलामाथिको विभेदको वैधानिकता र महिनावारी हुनेजस्तो स्वभाविक चक्रमा उमेर प्रवेश गरेसंगै हुने अभौतिक हिंसाको प्रतिककाे शृङ्खला हो, ऋषिपञ्चमी।

सुदूरपश्चिम र मध्यपश्चिमका केही पहाडी तथा हिमाली जिल्ला र शहरका तथाकथित पढेलेखेका समेतलाई डरको मनोविज्ञानले नछोडेपछि छाउपडी नामको कूप्रथालाई वैधानिकता दिन ऋषिपञ्चमीको रीत देशभरि चलाइएकाे हाे। यसले आम महिलाको मानसिकतामा हमला गरेको छ। डरको मनोविज्ञान खडा गरेको छ। जसले महिलाको जन्मलाई नै अशुद्ध र अपवित्र भनेर स्थापित गरेको छ। पुरुषसत्तालाई निरन्तरता दिने बलियो हतियार बनेको छ।

मध्य तथा सुदूरपश्चिमको छाउपडीलाई निहुँ बनाएर छिरेका 'एनजीओ' र 'आईएनजीओ'ले धामीझाँक्री र महिलालाई तालिम दिए। उनीहरुले दिएको तालिम र भत्तामा केही महिला सक्रिय पनि देखिए। केही ठाउँमा छाउगोठ भत्किए पनि। (पछि भत्केका गोठ पुनर्निर्माण गरेका समाचार पनि आए।)

'एनजीओ' र 'आईएनजीओ'ले रिपोर्ट बनाए। केही मिडियाले त्यसलाई मजाले प्रचार गरे। महिलालाई उनीहरुले आवाज दिन लगाए, ‘हामी छुई भएका बेला पनि घरमै सुत्छौं।’ तर, उनीहरूले कहिल्यै भनेनन्- ‘भान्छामा बस्छौं, खाना पकाउँछौं, धाराको पानी बोक्छौं, छिमेकीको घरमा निर्बाध आवतजावत गर्न पाउँर्छाैं, पूजाकोठासम्म जान्छौं, मन्दिर पस्छौं, धामीझाँक्रीलाई छुन्छौं, ऋषिपञ्चमीको बेला पापकट्टाको कर्मकाण्ड पूरा गर्दैनौ, मेरा एनजीओकर्मी पतिले आँफामार्को किन्न जानु पर्दैन।’

छाउपडीको विषयमा गैरसरकारी तवरबाट जति गतिविधि भए पनि ती सबै सतही छन्। मुल जरोमा प्रहार गरेर छाउपडी प्रथा उन्मुलन गर्ने प्रयास कहिल्यै भएन। राजनीतिक तवरबाट छाउपडीविरुद्धको गतिविधि शून्य प्रायः छ।

राजनीतिक पार्टीले यसबारे एक शब्द पनि खर्चेका छैनन्। कम्युनिष्ट नाम गरेकाले त सामाजिक आन्दोलनको 'आ' समेत उच्चारण गरेका छैनन्।

मध्य तथा सुदूरपश्चिमको छाउपडी जतिको उखरमाउलो छ, त्यसरी देशभरको छाउपडीविरुद्धको गतिविधि सरकारी तवरबाट शून्य छन्। खासगरी राजनीतिक परिवर्तन मात्र क्रान्ति मान्ने र सांस्कृतिक परिवर्तन उचित नठान्ने प्रवृति नै वर्तमान सत्ताको चरित्र हो। यसले शासक फेरिए पनि सत्ताको प्रवृत्ति र चरित्र पुरानै भएको प्रमाणित हुन्छ।

‘रजस्वला हुनु भनेको पाप हो, त्यही पाप पखाल्न सहज हुनेगरी बनाएको महिलामैत्री पर्व ऋषिपञ्चमी हो’ भन्ने तर्क हिन्दु धर्मशास्त्र र यसका धर्मभिरू पण्डितहरूको छ। उसोभए रजस्वला पछिको प्रजनन परिपक्वतालाई के भन्ने? अहिलेसम्मको मानव सभ्यतालाई के मान्ने? जो रजस्वलापछि मात्र सम्भव छ।

किन रजस्वलापछिको सृष्टि पाप भएन? सन्तानप्राप्ति सुख तर रजस्वला किन पाप? रजस्वलाजस्तो स्वभाविक चक्रको समयमा किन घर भित्र र बाहिर मानसिक तनाव? दतिवनले दाँतका किरा मार्ने हो भने किन यसको प्रयोग ऋषिपञ्चमी अघिपछि हुन नसकेको? किन पुरुषहरूले यसको प्रयोग नगरेको? यी प्रश्नहरूको उत्तर धर्मशास्त्रले दिएका छैनन् र दिन सक्दैनन् पनि। अनि कसरी ऋषिपञ्चमीको रीतलाई वैज्ञानिक मान्न सकिन्छ?

महिलाको प्रजनन क्षमतालाई अपवित्र ठान्ने संस्कृति र संस्कारलाई सुधार नगरेसम्म समाज अग्रगामी दिशातर्फ लम्कने छैन। यसको लागि महिलाले मानसिक हिनताबोधलाई त्याग्नु जरूरी छ।

संस्कारको नाममा थोपरिने मानवीय मूल्य र आत्मस्वाभिमान विरुद्धका हरेक प्रचलनलाई त्याग्नु स्वतन्त्रताको दिशातिर उन्मुख हुनु हो। मानसिक दासताको जञ्जिर छिनाल्नु हो। अब यो यात्रा तय गर्नुपर्छ।

प्रकाशित मिति: : 2021-09-11 12:33:00

प्रतिकृया दिनुहोस्

ट्रेन्डिङ