मैले देखेका पाँच भलाद्मी, जो रोचक हुन सक्छन् 

Breaknlinks
Breaknlinks

आलेखको प्रारम्भमै स्पष्ट होस् कि यो पंक्तिकारको निजी विचार हो। यसमा सहमत वा असहमत हुने अधिकार सबैको छ तर पनि पंक्तिकारको अनुभव पनि आफ्नो स्थानमा उचित छ।

यदि कसैले यस्तो हुनै सक्दैन भन्छ भने पंक्तिकार यसलाई आफ्नो अपमान सम्झिन्छ। यो आलेखमा उठाउन खोजिएको प्रसङ्ग विभिन्न समयमा पंक्तिकारले भेटेका व्यक्तिहरु र उनीहरुका असामान्य गतिविधिहरु हुन्। यस्तै अनुभव पंक्तिकारलाई भेटेर अन्य महानुभावहरुलाई पनि भएको हुनसक्छ। त्यो उनीहरुले भन्ने वा लेख्ने कुरा हो।

प्रसङ्ग नम्बर एक: पंक्तिकारका एक मित्र छन्। भलाद्मी स्वभावका उनी नेपाली काँग्रेसको हरेक गतिविधिलाई नजर लगाएर बस्छन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नियम तोडेर मनपरी गर्न खोज्दा उनलाई सरकारले नियन्त्रणमा लियो– दमौलीमा।

त्यस घटनाबाट मेरा ती मित्र यति विचलित भए कि मलाई डर लागेको थियो– कतै आत्महत्या नै गर्छन् कि भन्ने। उनी गगन थापा र विश्वप्रकाश शर्माका कट्टर समर्थक हुन्। उनको विश्वास छ– यिनीहरुले पद पाए नेपालमा कायापलट हुनेछ।

थापा र शर्माको समर्थनमा सामाजिक सञ्जालमा विभिन्न पोस्ट गर्नु उनको दिनचर्या हो।

पंक्तिकारले बुझ्न नसकेको यत्ति हो–  उनले यत्रो भक्ति गर्दा मासिक तलब पाएका छन् कि नि:शुल्कै थापा र शर्माको कमारो भएका हुन्? पंक्तिकारलाई भने यी दुवै नेता 'बकम्फुसे' लाग्छ्।

प्रसङ्ग नम्बर दुई: एक मान्यवर छन्। दश डलर प्रतिघण्टाको दरले पेट्रोलपम्पमा सातै दिन दैनिक १४ घण्टा काम गर्छन्। हप्ताको नौ सय ८० डलर कमाउनु भनेको अमेरिकामा राम्रै आम्दानी हो तर तलब बुझेको दिनमै कहिले मामा, फुपू, भान्दाइ वा भाउजूलाई पठाउँछन्।

आफ्नो हाड घोटेर यसरी कमाएको पैसा किन अरुलाई दिएको भनेर पंक्तिकारले सोध्दा आफ्ना नातेदारहरुले रोइकराई गरेको र माया लागेर उनीहरुलाई पैसा दिएको भन्ने उत्तर पाइयो।

यदि वास्तवमै माया लागेर सम्झना आएको हो भने पैसाले टाल्न सकिने कस्तो माया हो ? पंक्तिकारलाई सम्झेर डाँको छोडेर रुने मामा, फुपू, भाउजूजस्ता मान्छे एउटा पनि नभएको कारण त्यो अनुभव भएन तर कुनै दिन चिठ्ठा पर्‍यो भने तलब दिएर भए पनि डाँको छोडेर रुन लगाउने पंक्तिकारको योजना छ।

प्रसङ्ग नम्बर तीन: च्याट्नुङ्गा (टेनेसी) मा अचानक एक मान्यवरसँग भेट भयो। त्रिभुवन विश्वविद्यालयका सहपाठी उनीसँग नेपालमा त्यस्तो घनिष्ट सम्बन्ध थिएन तर परदेशमा परिचय भएको मान्छेसँग आत्मीयता हुँदो रहेछ।

उनको आग्रहमा उनको डेरा गइयो। उनले आफ्नो श्रीमती र सम्भवत: तेल भिसा अर्थात् छोरी वा बुहारी सुत्केरी हुँदा बच्चालाई तेल घस्न आएकी सासूसँग परिचय गराए तर उनकी वृद्धा सासू र श्रीमतीले लगाएको लुगा देख्दा म आफैँ लाजले भुतुक्क भएँ।

फेशन टीभीको मोडेलको भन्दा पनि उत्तेजक लुगा उनीहरुले कता खरिद गरेका होलान् ? पातलो र पारदर्शी लुगामा उनीहरुको शरीर छर्लङ्ग देखिन्थ्यो। एक कप चिया पिउने बेलासम्म पनि घोसे मुन्टो लगाएर बस्नु पर्‌यो ! '.....भन्दा देख्नेलाई लाज' भनेको जस्तै। हे भगवान ! आधुनिक हुन् त्यस्तो भद्दा हुनुपर्छ र ?

प्रसङ्ग नम्बर चार: ती मान्यवरले करिब पाँच वर्षजतिको आफ्नो छोरोतर्फ देखाउँदै भने, 'यो राष्ट्रपति हुन्छ।' त्यो अबोध बालकले हान्ने राँगाले हेरेको जस्तो गरी हेरेर मलाई अङ्ग्रेजीमा कुनै यौनजन्य गाली गर्दै थियो।

कुनै भूल नगरी गाली खानुपर्दा मलाई रिस नउठेको होइन तर सभ्य भएको नाटक गर्दै 'बाबु किन अपसेट छ ?' भनेर सोधेँ।

मेरो त्यो प्रश्नको उत्तर आमाले दिइन्।

उनको विचारमा 'खैरे' (यहाँ उत्कृष्ट मान्छेको अर्थमा) हरुसँग सङ्गत भएको कारण ऊ सधैँ अङ्ग्रेजीमै गाली गर्छ रे ! नेपालमा रहेका नातागोताहरुलाई पनि उसले अश्लील गालीको उपहार दिएको छ रे !

अब फर्कौं राष्ट्रपतिको प्रसङ्गतर्फ। प्राय: आफ्ना बच्चाहरुलाई अमेरिकामै जन्मेको भन्नुपर्दा 'यो राष्ट्रपति हुने हो' भन्ने प्रचलन छ।

फर्सी र लौका फलेको फोटो फेसबुकमा अपलोड गर्ने, बीपी कोइराला र मदन भण्डारी भनेर होहल्ला गर्ने, अँग्रेजी बोल्नुको दु:खले भारतीय मूलको साहुको चमेना गृह वा पसलमा काम गर्ने, आफूलाई अत्यन्तै महङ्गो ठाउँमा बस्छु भनेर भन्ने यो वर्गका नेपालीमध्ये केहीले अरुलाई फूर्ति देखाउन घर किन्छन्।

पछि किस्ता तिर्न नसकेर तल्लो तलामा भाडामा दिन्छन्। त्यही भाडामा बस्नेले घरपटीको स्वास्नी टिपेर सुइँकुच्चा ठोक्दा परिवार नै बिचल्लीमा परेका पनि छन्।

जहाँसम्म अमेरिकामा जन्मदैमा राष्ट्रपति बन्ने हो भने दोबाटो चौबाटो मा 'हेल्प मी' लेखेको कागज लिएर भीख माग्न बसेको त्यो खैरे किन राष्ट्रपति बनेन ?

प्रसङ्ग नम्बर पाँच: एक मान्यबर छन्– जर्जिया राज्यमा। नेपालमा बसेको भए आजसम्म मन्त्री भइसक्ने उनको दाबी छ।

कुनै पनि विषय र व्यक्तिको बारेमा उनीसँग एउटा न एउटा कथा छ। उनको घरमा भने सोफा र 'बेड' लाई कपडाले छोपेर राखिएको छ तर उनी भुइँमै बस्छन् र सुत्छन्।

यस्तो किन गरेको भनेर जिज्ञासा राख्दा उनको विचार छ– धेरै प्रयोग गर्‍यो भने सोफा र 'बेड'को फोम धसिने कारणले प्रयोग नगरेको। यदि त्यो वस्तुको प्रयोग नै गर्नु थिएन भने पैसा खर्च गरेर किन खरिद गरेको होला?

माथि नै उल्लेख गरिएको छ कि यी सबै पंक्तिकारका निजी अनुभवहरु हुन्। यदि कसैलाई उचित जस्तो लाग्छ भने पंक्तिकार आफूलाई सफल सम्झिन्छ। रचनात्मक प्रतिक्रयाहरुको स्वागत गर्दै पाँडे गालीप्रति कुनै सरोकार नभएको जानकारी दिन चाहन्छु।

प्रकाशित मिति: : 2021-09-25 11:27:00

प्रतिकृया दिनुहोस्

ट्रेन्डिङ