विद्यार्थी आन्दोलनदेखि शिक्षक हुँदै सात पटक जेल

गोरखापत्र

काठमाडौं

मुख्य मन्त्री राजेन्द्रप्रसाद पाण्डेको जन्म धादिङको गजुरी गाउँपालिका वडा नं. २ मा भएको हो । एमालेका तर्फबाट धादिङ क्षेत्र १ (क) बाट विजयी पाण्डे एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी) को वाग्मती प्रदेश संसदीय दलको नेता हुनुहुन्छ । २०२९ सालमा एसएलसी उत्तीर्ण गरेपछि राजनीतिमा होमिनु भएका पाण्डेले २०३० साल असारमा काठमाडौंको सरस्वती क्याम्पसमा भर्ना भएपछि प्रगतिशिल बिद्यार्थीहरुको तर्फबाट राजनीतिक सक्रियता बढाउनुभयो ।

२०३२ सालको बिद्यार्थी आन्दोलनको सरस्वती क्याम्पसको तर्फबाट नेतृत्व गर्नुभएका पाण्डे पक्राउपछि जेल पर्नुभयो । यसै क्रममा जेलमा झापाली राजवन्दीसँग भेट भई झापा आन्दोलनलाई मन पराउँदै सोही पार्टीको कमिटिमा जेल देखिनै संगठित हुनुभएको थियो ।

२०३३ बैशाखमा ८६ औं अन्तरराष्ट्रिय श्रमिक दिवस मनाउने क्रममा पुनः पक्राउ पर्नुभयो र राष्ट्र विप्लवको मुद्दा अन्तर्गत १० हजार रुपियाँ जरिवाना सहित १० बर्ष जेल पर्नुभयो ।

मुख्यमन्त्री पाण्डेले सुरुदेखि हालसम्म निर्वाह गरेको प्रमुख जिम्मेवारी अन्तर्गत २०३३ साल श्रावणमा केन्द्रिय कारागारमा जेल कमिटिको सदस्य, २०३४ साल श्रावणमा प्रथम भ्यालि अर्गनाईजिङ कमिटिको सदस्य, २०३६ कार्तिकमा प्रथम जिल्ला पार्टी सक्रिय दल धादिङको सचिव रहेको छ । २०४२ साल पौष पछि २०४७ पौषसम्म जिल्ला कमिटि धादिङको सदस्य, २०४७ साल पौष देखि २०५२ सम्म जिल्ला कमिटि धादिङको पुनः सचिव बन्नु भयो । तत्कालिन अवस्थामा सचिव नै पार्टीको प्रमुख रहने व्यवस्था थियो ।

पाण्डे २०५० साल बैशाख २० गतेदेखि नेपालगञ्जमा सम्पन्न छैटौं महाधिवेशनसम्म अञ्चल सचिव, २०५५ मंसिर ५ देखि नेकपा एकिकृत समाजवादी पार्टी दर्ता नहुँदासम्म नेकपा एमालेकै केन्द्रिय कमिटि सदस्य हुदै हाल पोलिटब्यूरो सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

प्रकाशित मिति: : 2021-10-29 07:46:00

प्रतिकृया दिनुहोस्