खाल्डोले खोसेका बालबालिका

हिमाल खबर

मुकेश पोखरेल

ढुङ्गा, गिटी, बालुवाको अनियन्त्रित दोहनले वातावरणीय असर मात्र पारेको छैन, व्यवसायी र ठेकेदारले खनेको खाल्डोमा डुबेर हरेक वर्ष तराईका जिल्लाहरूमा बालबालिकाको ज्यान गुमिरहेको छ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ वीरेन्द्रबजारका सुशील लायोमगर (१२) महोत्तरी, बर्दिबासको निजी विद्यालयमा कक्षा ६ मा पढ्थे। १० दिनको बिदा सकेर १० साउन २०७६  बिहान उनी बर्दिबास फर्किन ठिक्क परेका थिए। तर, दर्के झ्रीका कारण घरमा रोकिएका सुशील त्यही दिन संसारबाटै बिदा भए। उनको मृत्युको कारण बन्यो, घरभन्दा २०० मिटर टाढा ठेकेदारले गिटी-बालुवा निकाल्न खनेको खाल्डो।

“बर्दिबास जान कपडा लगाएर ठिक्क परेको थियो, बेस्सरी पानी परेपछि गएन। दिउँसो घाम लागेपछि बाख्रा चराउन गयो,” सुशीलकी आमा छलीमाया भन्छिन्, “त्यही वेला पौडी खेल्न जाँदा ठेकेदारले खनेको खाल्डोमा परेर छोराको ज्यान गयो।”
 

छलीमायाको जीवनमा एकै वर्ष दोस्रो बज्रपात थियो, त्यो। रोजगारीका लागि साउदी अरब गएका श्रीमान् हरिबहादुर बिरामी परेर उतै बितेको वर्ष दिनभित्रै छोरा पनि गुमाइन्।

सुशीलसँगै बाख्रा चराउन गएका आदित्य लायोमगरको पनि खाल्डोमा परेर त्यसै दिन मृत्यु भयो। उनीहरू डुबेको स्थानमा ५० मिटरभन्दा गहिरो खाल्डो छ। आदित्यका काका भोजबहादुर लायोमगरका अनुसार, वडा नम्बर ३ को भरतपुर-श्रीरामपुर सडक बनाउँदा ठेकेदारले उक्त स्थानबाट गिटी-बालुवा लगेका थिए।

गिटी-बालुवा निकाल्दा स्थानीयले विरोध पनि गरेका थिए। आदित्यकी हजुरआमा मधुमाया लायोमगर (८०) भन्छिन्, “बच्चाहरू खाल्डोमा पर्छन्, नखन भनेर कति भनेका थियौं, तर हामीले किनेको हो, कसैले रोक्न सक्दैन भनेर उल्टै कराउँथे।”

गिटी-बालुवाको व्यवसाय गर्ने व्यवसायी र ठेकेदारले खनेका खाल्डोमा परेर मृत्यु भएका सुशील र आदित्य त प्रतिनिधि पात्र मात्रै हुन्। नदीजन्य वस्तुको कारोबारीले खन्ने खाल्डोमा परेर बर्सेनि धेरै बालबालिकाले ज्यान गुमाउने गरेका छन्। तर, यसको तथ्याङ्क प्रहरीसँग समेत छैन। प्रहरीले एकमुष्ट रूपमा ‘डुबेर मृत्यु’ भएको अभिलेख मात्र राख्ने गरेका कारण नदीजन्य वस्तुको अव्यवस्थित सङ्कलनले कति जनधनको क्षति गरिरहेको छ भन्ने पाटो छायामा परेको छ।

बेहिसाब मरण

२२ साउन २०७७ मा धनुषाको मिथिला नगरपालिका-२ नक्टाझ्जिका अनिलकुमार महतो (२२) को स्थानीय बसही खोलाछेउको खाल्डोमा डुबेर मृत्यु भयो। गिटी-बालुवा निकाल्न खनेको खाल्डोमा वर्षात्को पानी भरिएको वेला अनिल पौडी खेल्न गएका थिए। अनिलका काका बच्चेलाल महतोका अनुसार, बसही खोला किनारमा व्यक्तिको निजी जग्गामा ठेकेदारले गिटी-बालुवा निकाल्न खाल्डो खनेका थिए।
 

प्रकाशित मिति: : 2021-11-01 09:45:00

प्रतिकृया दिनुहोस्