कम्युनिस्टको गड भत्काउदै काँग्रेसको ‘किला’ गाड्ने जुम्लाका ललितजंग

Breaknlinks
Breaknlinks

ललितजंग शाही कलात्मक भाषण गर्नमा माहिर छन्।

उनलको भाषण कलाको तारिफ गर्नेमा काँग्रेस कार्यकर्ता त छन् नै कम्युनिस्ट कार्यकर्ता पनि पर्छन्। कार्यकर्तामा लोकप्रिय छवि निर्माण गरेका उनी यतिबेला नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

महाधिवेशन प्रतिनिधिले प्रदेश र केन्द्रमा मताधिकार पाउने र उम्मेदवारी समेत दिन सक्ने भएकाले उनले कर्णाली प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन्।

काँग्रेस राजनीतिमा सक्रिय उनी संलग्न भएको देउवा पक्षको यतिबेला जिल्लामा पकड बलियो मानिएको छैन।

जिल्लाका अधिकांश वडा र प्रदेशका क्षेत्रमा समेत रामचन्द्र पक्षको बलियो उपस्थिति रहेको जुम्लाको जिल्ला सभापति भने देउवा पक्षले जितेको छ। यसको जस उनी लगायतका नेताहरुले पाइरहेका छन्।

काँग्रेस जुम्लाको उचाई निरन्तर बढिरहनुमा उनको लामो समयको देखिको योगदान छ। लामो राजनीतिक यात्रामा संगठन बलियो भइकन पनि चुनावमा काँग्रेसले सफलता हासिल गर्नबाट चुकिरहयो।

त्यसको अपजस काँग्रेस नेता कार्यकर्ताले पाइरहँदा उनी पनि कँही कतै भागिदार छन्। यति हुँदा पनि २०४८ सालदेखिका निर्वाचनमा कम्युनिस्ट पार्टीको वर्चस्व रहिआएको थियो। तर, २०७० को संविधानसभाको निर्वाचनमा कम्युनिस्टको गड भत्काएको भनी जस उनैले पाए र काँग्रेसको गम्छा ओडेर जनतासँग खुसी साँटे। 

त्यसयता काँग्रेस जुम्लामा थप बलियो कहलिन थालेको छ। तथापि २०७४ को प्रदेश र संघको निर्वाचनमा काँग्रेस विजयी हुन सकेन। तर, त्यो पार्टी संगठन कमजोर भइकन भन्दा पनि माओवादी र एमाले दुईवटा ठूला कम्युनिस्ट पार्टी एक भएको हुनाले थियो। 

‘हामी जुम्लामा सँधै बलियो छौं। पार्टीका केही आन्तरिक र बाह्य कारणले हामी सफल हुन सकेनौं,’ उनले भने,‘तर अब एक ढिक्का छौं। पार्टीको आफ्नै निर्वाचनमा एउटा पक्षको भएर लाग्नु अन्यथा होइन। अबका दिनमा पनि काँग्रेस जुम्लाले सफलता हासिल गर्नेमा कुनै दुविधा देख्दिन।’

जुम्लामा दुबै पक्षको नेतृत्वसँग समन्वय गरेर संगठन मजबुत बनाउन भूमिका निर्वाह गरेका उनी यतिबेला सिंगो कर्णाली प्रदेशभरिको संगठन मजबुत बनाउनका लागि अग्रपंक्तिमा आउन चाहन्छन्। त्यसका लागि सभापतिको भूमिकामा आउन अभ्यासरथ छन्।

विद्यार्थी जीवनदेखि नै सेवा भावनाले प्रेरित शाही २०३६ सालमा राजा महेन्द्रले घोषणा गरेको जनमतसंग्रहमा बहुदलको प्रचार गर्ने क्रममा नेपालगन्जमा विपी कोइरालालाई भेटी काँग्रेस पार्टीमा लागेका थिए। 

भीमप्रसाद श्रेष्ठ तत्कालीन कर्णाल अञ्चल बहुदलको प्रचार समितिको संयोजक हुँदा उनी कालिकोट जिल्लाको संयोजक भए। 

‘त्यसबेला हामी बहुमत जनतालाई बहुदलका फाइदा र निरंकुश पञ्चायती शासन व्यवस्थाका अवगुणबारे शिक्षित गराउन सफल भएका थियौं,’ उनले भने,‘त्यसबेला निर्दलको पक्षमा जनता दखिए पनि त्यो व्यापक धाँधलीपूर्ण थियो। जनताको बलले नभई झुटको जगमा उभिएको दरबारलाई २०४६ सालको जनआन्दोलनको धुजाधुजा पारिदिएको थियो।’

त्यसबेला काँग्रेस जनतालाई सचेत बनाउने अभियानमा लागेकै कारणा आज जनताले प्रजातान्त्रको अनुभूति गर्न पाएका उनले बताए। उनले भने, ‘त्यसै कारण हामीले स्वतन्त्र गतिविधि गर्न पाएका छौं।’

उनले राजनीतिसँगै लामो समय रेडक्रसको केन्द्रीय सदस्य भएर पनि जनताको सेवा गरे। रेडक्रमा हुँदा गाउँगाउँका जनता प्राकृतिक विपत्तिका कारण मर्कामा पर्दा राहत उपलब्ध गराई घाउमा मलम लाउन सक्रिय रहे।

पहिलो संविधानसभाले संविधान बनाउन नसकेपछि दोस्रो संविधानसभाको निर्वाचनमा निर्वाचित भएका उनी जुम्लाको प्रतिनिधित्व गरि सदनमा पुगेका थिए

‘त्यसबेला दुर्गम र पिछडिएको क्षेत्रका जनताको आवाज सदनसम्म पुगायौं,’ उनले भने,‘हामी धेरै हदसम्म आफ्ना एजेन्डा संविधानमा समावेश गराउन सफल भयौं। आज सिमान्कृत जनताको आवाज संविधानमा सशक्त रुपमा लिपीवद्ध छ।’

यी विविध कारणले मंसिर १६ र १७ गते हुन लागेको प्रदेश अधिवेशनका एक योग्य उम्मेदवारमा ललितजंग शाहीको नाम अग्रपंक्तिमा आउँछ। त्यसैल नै उनमा प्रदेश सभापति भएर जनताको सेवा गर्ने तिब्र उत्कण्ठा पलाएको छ।

प्रकाशित मिति: : 2021-11-29 17:36:00

प्रतिकृया दिनुहोस्