झापामा दुर्घटना हुँदा दुई जनाको मृत्यु 

झापाका अलगअलग स्थानमा दुर्घटना हुँदा शनिबार राति दुई जनाको मृत्यु भएको छ। 

तीव्र गतिमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ज ५ प १७३० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मेचीनगर नगरपालिका–९ झोडास्थित भित्री सडक खण्डमा पैदल यात्रीको मृत्यु भएको छ। मोटरसाइकलले राति ८ः५० बजेतिर ठक्कर दिँदा मेचीनगर–९ का ५४ वर्षीय कर्णबहादुर खड्काको मृत्यु भएको हो। 

पैदल हिँडिरहेका बेला दुर्घटनामा परेर गम्भीर घाइते भएका खड्काको उपचारका क्रममा बिर्तामोडस्थित बि एन्ड सी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले मोटरसाइकल र चालक २३ वर्षीय रञ्जित प्रधानलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ। 

त्यस्तै झापाको बाह्रदशी गाउँपालिका–६ साधुकुटीनजिक मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०१–०१४ प ९५३९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हो।  

दुर्घटनामा परेर मोटरसाइकल चालक बिर्तामोड नगरपालिका–६ का २० वर्षीय अभिषेक सुन्दासको मृत्यु भएको छ। साँझ ५ बजेतिर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बि एन्ड सी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बिर्तामोड–६ का १८ वर्षीय धनु राजवंशी घाइते भएका छन्। सामान्य अवस्थाका उनको उपचार जारी छ। मादक पदार्थ सेवन गरेर तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: : 2022-01-16 08:13:00

प्रतिकृया दिनुहोस्