मङ्गलबार, २३ सेप्टेम्बर २०२५

लघुकथा: मेरी उनी

मुक्ति गौतम

मुक्ति गौतम

कालापाहाड (मणिपुर) 
Breaknlinks
• • •

'आज पनि कसले फोहोरको डंगुर लगाएछ त सानु। छिमेकीहरूसँग पनि नसकिने भो। कसले कतिखेर ल्याएर थुपार्छ ? उता सरकार चाहिँ 'स्वच्छ भारत मिशन' अन्तर्गत फोहोर मुक्त भारत भनेर चिच्याइरहन्छ। यता हाम्रो टोलमा भने ह्वास्स दुर्गन्ध गनाइ रहन्छ। उफ नसकिने भो,' मैले भनेँ।

'म पनि वाक्कदिक्क भएँ। हाम्रा गाउँकालाई कति भनेपनि लागेन। सरकारले स्वच्छताको नारा मात्रै दिने हो नि। समाधान त हामी नागरिकले पो खोज्नुपर्ने हो। नागरिकको सहयोग बिना कसरी 'सबका साथ सबका विकास' सम्भव हुन्छ? हजुर हेर्दै जानु, म केही गरेर एउटा जिम्मेवार नागरिकको परिचय दिन्छु,' मेरी उनीले भनिन्।

हप्तादिन पछि बिहान सबेरै सधैँ पश्चिम पट्टिको झ्यालबाट आइरहने दुर्गन्धको ठाउँमा एकाएक सुगन्धित वास्ना आयो। झ्याल खोलेर चिहाएँ। म त हेरेको हेरै भएँ।

त्यो ठाउँमा चमचम चम्किने संगमरमरको शिवको मूर्ति स्थापित भइसकेको थियो। गाउँलेहरू मूर्ति स्थापना भएको वरिपरी सरसफाई गरिरहेका थिए। कोही शंख र घण्टी बजाएर आरती गरिरहेका थिए। पूजाअर्चनाका मंगलधुन बजिरहेका थिए।

'देख्नुभयो मेरो आइडियाको इन्डिया। लु तातो चिया पिउँदै मंगलधुन सुन्नुस्', टेबलमा चिया राखी दिँदै मेरी उनीले भनिन्।

शनिबार, बैशाख ०९, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)