बसन्तपुरमा पानी बेचेर परिवार पाल्ने १२ वर्षीया किसुको प्रहरी बन्ने सपना (भिडियाेसहित)

काठमाडौंको बसन्तपुर पुग्दा १२ वर्षकी नानी भेटिइन्। जो हातभरि पानी बोकेर यताउती डुलिरहेकी थिइन्।

हामीलाई देख्ना साथ छेउमै आएर भन्न थालिन्–‘एउटा पानी किनिदिनुस् न है।’ उनी थिइन्–किसु शाह ठकुरी। 

किसुले बसन्तपुर जाने हरेक मान्छेलाई पानी किन्न आग्रह गर्छिन्। उनको दैनिकी यसरी नै बितिरहेको हुन्छ।

मान्छेलाई रोकेर पानी किन्न लगाउनु रहर नभई बाध्यता भएका उनी बताउँछिन्। ‘काम गर्न रहर नै हुनुपर्छ र?,’ उनले भन्छिन्। 

उनले ३ वर्षअघि पानी बेच्न सुरु गरेकी हुन्। त्यसबेला पानी बेच्नु उनको रहर र बाध्यता दुबै थियो। 

उनले आफूसँगै पढ्ने साथीहरुले पानी बेचेर पैसा कमाएको देखिन्। जसले गर्दा उनको मनमा पैसा कमाउने सोच आयो।

त्यसैले उनी सुरुमा ‘गणेश थान’ पुगिन्। त्यहाँबाट एक ‘बन्डल’ पानी किनिन् र त्यसैलाई उनले दिनभरि बेचिन्।

किसुले पहिलो दिनै ३६० रुपैयाँ पाइन्। जसबापत उनले २०० रुपैयाँ नाफा कमाइन्। ‘मलाई त्यसबेला खुशी लागेको थियाे’, सुरुवाती दिन सम्झिँदै  उनले बिएल नेपाली सेवासँग भनिन्। 

९ वर्षकै उमेरमा दिनको दुई सय कमाएको देख्दा उनलाई बाआमाले भन्न थाले, ‘स्कुलबाट फर्किएपछि पानी बेच्न जानू है।’

सुरुसुरुमा पानी बेच्न थालेकी किसुलाई डुलेर पैसा कमाउन खुबै रमाइलो लाग्यो। तर विस्तारै उनी दिक्दार बनिन्।

पानी बेचेर हिंड्ने उनलाई मान्छेले भन्न थाले, ‘सानो मान्छे भएर स्कुल जानुपर्देन, किन पानी बेचेर हिंडेको नानी?’ अरुको त्यस्तो कुरा सुनेकी उनलाई ग्लानी महसुस भयो। त्यसैले उनले बाआमालाई भन्न थालिन्–‘काम गर्दिनँ। राम्रोसँग पढ्छु है।’

पैसा कमाउन थालेकी छोरीको त्यस्तो कुरा सुन्दा बाआमाले पनि भनेका थिए, ‘तेरो कामले थोरै भएपनि घर खर्च पुगिरहेको छ। काम गर्न नछाड है नानी!’

आफूले काम गर्दा घरमा दाल चामल किन्ने पैसा आउने भएकाले पानी बेचिरहेको उनले बताइन्। ‘मैले पानी बेचेर कमाएको पैसाले घरमा दाल चामल आउँछ। त्यसैले मैले याे काम गरिरहेकाे छु’, उनले भनिन्।

उनको परिवारमा बाआमासहित ५ जना छन्। बुबा गलैँचा बेच्न सहर बाहिर गएका छन्। आमा काखे भाईलाई दिनभरि स्याहार गर्छिन्। दिदी घरबाट बाहिर निस्किँदिनन्। 

उनी भन्छिन्, ‘दिदीको अनलाइन कक्षा हुन्छ, त्यसैले बाहिर आउँदिनन्।’ पढाई राम्रो भएकी दिदीले काम गर्न नपरोस् भन्ने उनको चाहना छ। ‘काम गर्न थाल्यो भने फेरि पढाई बिग्रिन्छ नी त’, उनले भनिन्।

आफ्नी दिदीको पढाईबारे सोच्ने उनलाई दिदीले समेत भनेकी छैनन्, ‘काम नगर बहिनी!’

नचिनेका मान्छेलाई पानी बेच्दै हिंड्ने उनको एउटै सपना छ। त्यो हो–पुलिस बन्ने। ‘ठूली भएर पुलिस बन्छु अनि चोरलाई समात्छु’, हाँस्दै उनले भनिन्। 


 

प्रकाशित मिति: : 2022-02-03 20:28:00

प्रतिकृया दिनुहोस्