जयनारायणले सडकमा जुत्ता टाल्दै देखेकाे सपना: जसरी हुन्छ छोरीलाई नर्स बनाउने

काठमाडौंको शंखमुलस्थित ‘आइकालु डाँडा’ मा उनले जुत्ता सिलाउन थालेको २८ वर्ष भयो। 

फाटेका जुत्ता, झोला र छाता सिलाउनु नै उनको दैनिकी हो। उनी अर्थात् सर्लाही हजारिया गाउँपालिकाका ५५ वर्षीय जयनारायण राम।

उनी बिहानको ७:३० बजेदेखि साँझ ५:३० बजेसम्म बाटोमै बसिरहेका हुन्छन्, ग्राहक आउने आशमा। तर हिजोआज उनी निकै निराश हुन थालेका छन्। जसको कारण कोरोना भाइरसको डर रहेकाे उनी बताउँछन्।

‘कोरोना संक्रमण बढिरहेको छ भन्छन्, त्यसैले पनि होला मान्छे यहाँ नआएको’, उनले भने, ‘आजकल पहिलाको जस्तो छैन।’

कोरोनाको महामारीअघि दिनमा हजारदेखि दुई हजारसम्म कमाउने उनलाई अहिले ५०० रुपैयाँमा नै चित्त बुझाउनु परेको छ। ‘आजभोलि त पाँच सो रूपैयाँ पनि कहाँबाट पाउनु र’, उनले आफ्नो अवस्थाबारे बताए।

संसारलाई कोरोनाको डर भएपनि आफूलाई भने डर नलागेको उनी बताउँछन्। ‘मलाई कोरोनाको डर छैन, बिरामी हुँदा औषधि किनेर खाइहाल्छु’, उनले हाँस्दै भने, ‘अहिलेसम्म त कोरोनालाई पचाउन सक्छु।’

उनलाई आजभोलि मात्र एउटा कुराको डर छ, त्यो हो ‘लकडाउन’ हुने। गत वर्षको लकडाउनमा आफूले निकै दुख सहनु परेको कुरा उनलाई अझै याद छ।

‘पहिलाको लकडाउनमा कोठाभाडा तिर्न सकिनँ, अहिले त्यही लकडाउनमा तिर्न नसकेको भाडा तिरिरहेको छु’, उनी भन्छन्।  

‘सहर पूरै बन्द भयो, काम गर्न सकिनँ। अनि कोठा भाडा खप्टिरह्यो’, नेपालमा पहिलोपटक भएको लकडाउन सम्झँदै उनले भने, ‘त्यसबेला पैसा कमाउने म नै थलिएँ।’

आफूले काम गरेपछि मात्र दुई छाक टर्ने उनको लकडाउन नहोस् भन्ने चाहना छ। ‘दिनमा काम गरे मात्र दानापानी पाइन्छ’, उनी सुनाउँछन्। 

दिनभरि बाटोमा बसेर फाटेका सामान सिलाउने उनलाई मान्छेले हेप्ने गरेको बताउँछन्। ‘फोहोरमा फ्याँक्ने बेला भएका सामानलाई म लगाउन मिल्ने बनाइदिन्छु, तर के गर्नु बुझ्दैनन् कसैले’, उनले बिएल नेपाली सेवासँग दुख पोख्दै भने, ‘सिलाएको दामसमेत दिन मान्दैनन्।’

जुत्ता सिलाउन लगाउने मान्छेले उनलाई भन्ने गरेका छन्, ‘१५० रुपैयाँ महँगो भयो। ४० रुपैयाँ लिउ है!’, त्यसबेला उनको एक मात्र जवाफ हुन्छ, ‘म भोक्कै आएको छुइनँ। पेटभरि खाना खाएर आएको छु। जब भोकै हुन्छु तब गर्छु।’’

बैंकमा काम गर्नेहरुले थोरै हस्ताक्षर गरेबापत लाखौँ लिने, तर आफूले दिनभरि लगाएर सिलाएको सामानको मूल्य माग्दा महँगो भयाे भनेकाे सुन्दा  दुख लाग्ने उनी बताउँछन्।

‘मान्छेले बैंकमा त लाखौँ खर्च गर्छन्, तर मलाई मेरो मेहनतको दाम दिन पनि मान्दैनन्। के मलाई गरिब भनेर हेपेको हो?’, उनी प्रश्न गर्छन्, ‘के हामी गरिब मान्छे होइनौँ?’

आफूले सितैमा कसैको पैसा नलिने भन्दै उनले भने, ‘गरिब भएपनि हामी इमान्दार छौँ।’

‘जुत्ता सिलाउनुअघि रिक्सा चलाउथेँ’

उनी २०५० सालमा काठमाडौं आए। त्यसबेला उनको एउटै उदेश्य थियो–परिवारको पेट भर्ने।

उनलाई काठमाडौंमा उनकै बहिनी-ज्वाइँले बोलाएका थिए। गाउँमा हुँदा उनी रिक्सा चलाउने गर्थे। जसबाट उनलाई परिवारको पेट पाल्न मुश्किल पर्थ्यो।

त्यसैले उनको दुख देखेर काठमाडौंमा बस्ने बहिनीले भनेकी थिइन्, ‘काठमाडौं आउनु दाजू, त्यहाँ बसेर काम छैन। यहाँ आएर काम गर्नु।’

बहिनी-ज्वाइँको कुरा मानेर उनी सहर आए। उनलाई जुत्ता सिलाउने काममा उनकै ज्वाइँले लगाइदिए।

सुरुसुरुमा जुत्ता सिलाउँदा उनलाई निकै लाज लाग्यो। तर बाध्यताको अगाडि लाजले के नै गर्थ्यो र! ‘लाजलाई लुकाएर काम गर्न थालेँ’, उनले भने।

सिलाउन सिकेको २ महिनापछि उनी आफैँ बाटोमा जुत्ता सिलाउन बसे। जसबाट उनलाई केही सहज हुन थाल्यो।

उनी भन्छन्, ‘आफैँले पसल राखेपछि त पैसा कमाउन थालेँ।’ जुत्ता सिलाएर रमाउन थालेका उनलाई विस्तारै नगरपालिकाले पनि दुख दिन थाल्यो। ‘नगरपालिका देख्ने बित्तिकै भाग्न पर्थ्यो’, उनले भने।

नगरपालिकाले भेटेको बेला उनलाई गाली गर्दै भन्ने गर्थ्यो, ‘बूढो मान्छे भएर किन बाटोमा पसल राखेको? सटर भाडामा लिएर पसल गर!’

नगरपालिकाको कुरा सुनेर उनले मलिनाे स्वरमा भन्ने गर्थे, ‘कोठाभाडा तिर्न त गाह्रो हुन्छ, म गरिबले कसरी तिर्न सक्छु र सटर भाडा!’

बूढो भएर नगरपालिकाले आफूलाई दया गरेको उनको बुझाई छ। त्यसैले त उनलाई हिजोआज नगरपालिकाले वेवास्ता गर्छ। नगरपालिकाले आफूलाई नधपाएकाकै कारण परिवारलाई पालिरहन सकेको उनी बताउँछन्।

गाउँमा उनकी श्रीमती, कान्छा छोरा, छोरी, बुहारी र ८ वर्षका नाती गरी उनको ६ जना परिवार छन्।

उनको जेठा छोरा भने साउदी अरेबियामा छन्। उनले बेला मौकामा घरमा खर्च पठाइदिने गर्छन्।

‘छोराले पठाइदिएको पैसा कति दिन पो पुग्छ र? आफूले काम नगरी हुँदैन’, उनले भने।

गाउँमा दानापानी चाहिने बित्तिकै आफूलाई श्रीमतीले फोन गर्ने गरेकाे बताउँदै उनी ठट्याैली पारामा भन्छन्, ‘अर्थमन्त्रीले फोन गर्न साथ पैसा पठाइदिनुपर्छ।’

छोरीलाई ‘नर्स’ बनाउने सपना

उनको कान्छा छोरा कक्षा–१० मा पढ्छन्। छोरी कक्षा–८ मा अध्ययनरत छिन्। जसलाई पढाएर ‘नर्स’ बनाउने उनको ठूलो सपना छ। ‘छोराले माया गर्दैन, छोरीले गर्छ’, उनी सनाउँछन्।

आफू गाउँ जाँदा छोरीले तातोचिसो बनाएर दिने गरेको सम्झँदै उनले भने, ‘छोरीले बिरामी हुँदा स्याहार गर्छिन् तर छोराले केही भनेको मान्दैन।’

आफूलाई छोराको भन्दा धेरै छोरीको माया लाग्ने गरेको भनाई छ। आफूले माया गरेर राखेकी छोरीलाई राम्रो घरबाट माग्न आए पनि नदिने उनको अठोट छ। ‘छोरीको सहमतिबिना विवाह गराउने छैनौँ’, उनी भन्छन्।

आफूलाई सानाेमा धेरै पढ्ने मन भएकाे तर गरिबीका कारण नसकेमा उनलाई धेरै दुख छ।

‘मुखमा लगाउने माड थिएन, कसरी पढ्न पाउँथेँ र’, बाल्यकाल सम्झँदै उनले भने, ‘धेरै पढेर शिक्षक हुने रहर थियो। तर पूरा भएन।’

उनी आफ्नो सपना छोराछोरीलाई पढाएर पूरा गर्न चाहन्छन्। जसका लागि उनी छोराछोरीलाई पढाउनका लागि काठमाडौं ल्याउने सोचमा छन्। ‘ऋण तिरेपछि दुई जनालाई यहीँ पढाउनेछु’, उनले भने।

१० लाख ऋण तिर्नुछ

उनले बैंकहरुबाट १० लाख ऋण निकालेका छन्। जसको कारण थियो–श्रीमती र छोरीको उपचार।

उनले आफूसँग भएका माटो धितो राखेर पैसा निकालेका हुन्। ‘बिरामी भएका श्रीमती र छोरीलाई बिरामी भएको हेर्न सकिनँ’, उनले विगत सझिँदै भने, ‘मेरा लागि माटोभन्दा प्यारो मेरो परिवार छन्।’

उनले लिएको ऋण आधी त तिरिसकेका छन्। अब बाकीँ तिर्ने सुरमा छन्। ‘बैंकको सबै ऋण तिरेपछि ढुक्क हुन्छु’, उनले भने, ‘अनि आफ्नो सपना पूरा गर्छु।’

प्रकाशित मिति: : 2022-06-01 11:30:00

प्रतिकृया दिनुहोस्