आइतबार, १७ अगस्ट २०२५

एलपीएल–६ होलिल्यान्ड र लिटल फ्लावर विजयी

News Image
• • •

धनगढीमा जारी एलपीएलको छैठौं संस्करण अन्तरगत बिहीबार सम्पन्न खेलमा होलिल्यान्ड इंगलिश स्कुल अत्तरिया र आयोजक लिटल फ्लावर स्कुल धनगढी विजयी भएका छन्।

होलिल्याण्ड इंगलिश स्कुलले शारदा सरस्वती स्कुललाई दुई विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङ रोजेको शारदा सरस्वती माविले १८ ओभर ३ बलमा सबै विकेट गुमाएर ७४ रन मात्रै बनाएको थियो।

उसको लागि विकास सुनारले सर्वाधिक ११ तथा नीरज तेजचन्द र मिलन बोहराले समान १०र१० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर जोड्न सकेका थिएनन्। शारदालाई सस्तैमा रोक्ने होलिल्याण्डका बलर सन्जय बोहराले तीन विकेट लगेका थिए।

जीतका लागि ७५ रनको लक्ष्य पाएको होलिल्याण्डले १६ ओभर २ बलमा ८ विकेटमा लक्ष्य पुरा गरेको हो। होलिल्याण्को जीतमा अभिषेक पालले सर्वाधिक २२ रनको योगदान गरेका थिए। शारदा सरस्वतीका बलर हेमन्त धामी, गणेश बिटालु र विकास सुनारले समान दुई विकेट लिए।

बिहीबार नै सम्पन्न एलपीएलको दोस्रो खेलमा आयोजक लिटल फ्लावर स्कुलले स्टेपिंग स्टोन धनगढीलाई ७१ रनले पराजित गरेको छ। टस हारेर पहिला ब्याटिङ गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो। लिटल फ्लावरका लागि ओपनर सुवास ऐले सर्वाधिक ६७ रन बनाए। स्टेपिंग स्टोनका बलर वीरेन्द्र चन्द र आयुब चन्दले समान दुई विकेट लगेका थिए। 

१ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा स्टेपिंग स्टोनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो। उसका लागि आयुब चन्दले सर्वाधिक ३२ रन तथा बिशाल बिस्ट र भुपेश जोशीले समान १४ रन बनाए।

स्टेपिंगलाई न्यून स्कोरमा रोक्ने क्रममा लिटल फ्लावरका अनुराग सिंहले दुई विकेटको योगदान दिएका थिए। खेलको प्लेयर अफ द म्याच लिटल फ्लावरका सुवास ऐर भए।

प्रतियोगिता अन्तरगत शुक्रबार दुई खेल हुने छन्। पहिलो खेल गुरुकुल र सत्यवती एकेडेमीबीच हुनेछ भने दोस्रो खेल सैनिक आवासीय मावि र होलिल्याण्डबीच हुने छ।

१० विद्यालयका टिमको सहभागिता रहेको प्रतियोगिता समूह ‘ए’ र ‘बि’ गरी दुई समूहमा विभाजन गरी खेलाइँदै छ। समूह ‘ए’ मा हिमालयन ह्वाइट हाउस वर्ल्ड स्कुल काठमाडौं, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, होली ल्यान्ड इङ्लिस बोर्डिङ स्कुल अत्तरिया, शारदा सरस्वती सेकेन्डरी स्कुल दोधारा चाँदनी कञ्चनपुर र एभरेस्ट एकेडेमी अत्तरिया रहेका छन्। 

त्यसै गरी समूह ‘बी’मा आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, गुरुकुल इङ्लिस मिडियम स्कुल लम्की, स्टेपिंग स्टोन इङ्लिस बोर्डिङ स्कुल धनगढी, विद्या भूषण पब्लिक स्कुल धनगढी र सत्यवती एकेडेमी अत्तरिया रहेका छन्।

प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन्।

बिहिबार, फाल्गुण ०५, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!