सिद्धार्थ राजमार्ग : राज्यले थापेकाे धराप, ज्यानकाे माया मारेर सवारी चलाउनुपर्ने बाध्यता

Breaknlinks
Breaknlinks

पाल्पा, बटुवल, स्याङ्जालाई पोखरा जोड्ने मुख्य मार्ग हो, सिद्धार्थ राजमार्ग। जीर्ण बन्दै गइरहेको सडकको स्तरोन्नतिका लागि वर्षौंअघि तयारी सुरु भए पनि कुनै उल्लेख्य कार्य प्रगती भने हुन सकेको छैन।

सडक स्तरोन्नतिको काम अघि नबढ्दा साँघुरो बाटोमा जोखिमपूर्ण यात्रा गनुपर्ने बाध्यता छ, यात्रुलाई। अझ स्याङ्जा कटेर पोखरा छिर्नेबित्तिकै सडकको अर्को कुरुप चित्र देखिन्छ। बाटोभरि खाल्डाखुल्डी र धुवाँ, धुलो।

पोखरा-१७ छोरेपाटनबाट पोखरा छिर्नेबित्तिकै पृथ्वीचोकसम्मै यो दृश्य देख्न सकिन्छ। राजमार्गको यो बेहाल अवस्थाले साना सवारी मात्रै होइन, ठूला सवारीलाई पनि सास्ती दिएको छ।

अहिले बाटो चक्ल्याउने र कल्भर्ट हाल्नेलगायतका काम सुरु भए पनि कामको गति भने निकै सुस्त छ। बढ्दै गएको सवारी संख्याले ट्राफिक जाम त बढाएको छ नै, महानगरभित्रकै खराब बाटोले दुर्घटनाको जोखिम पनि उत्तिकै बढाएको छ।

‘बाटो बनाउने भन्छ, झन खाल्डाखुल्डी मात्रै बढाएको छ। हिंड्न पनि निकै गाह्रो छ, यो छोरेपाटनको बाटो त,’ पोखरा-१७ छोरेपाटनका मोटरसाइकल चालक पुरुषोत्तम पौडेल भन्छन्, ‘बाटो कहिले बन्छ खै ?’

बाटोले दुर्घटनाको जोखिम मात्रै होइन, स्वास्थ्यको जोखिम पनि उत्तिकै बढाएको छ। ‘घरबाट बाहिर निस्किने बित्तिकै शरीर ढाकी हाल्छ धुलोले।यसले त हाम्रो स्वास्थ्यमा पनि असर पारेको छ,’ उनले भने।

छोरेपाटनकै माधव खत्री र उनको परिवारलाई पनि उत्तिकै हैरान बनाएको छ। दैनिक कामका लागि हिंडिरहनुपर्ने बाटो धराप जस्ता भएको उनको दुखेसो छ। ‘वर्षदिन भयो बाटो बनाउन थालेको, अहिलेसम्म बनेको छैन। खाल्डाखुल्डी मात्रै भएकाे बाटोमा हिंड्न पनि जोखिम छ,’ उनले भने।

यी दुई दृश्टान्त मात्रै हुन्। यीबाहेक पनि खस्कँदो सडकको अवस्थाले यो बाटो भएर यात्रा गर्ने यात्रुले सास्ती त खेप्नु परेको छ नै, साथै दुर्घटनाको जाेखिम पनि मोलेर अघि बढ्नुपर्छ। साना सवारीभन्दा लामो दुरिका सवारीको बढी चाप हुने यो बाटोमा यात्रा गर्दा कुनबेला दुर्घटना हुने हो यसै भन्न सकिन्न।

सडकको स्तर सुधार्न किन ढिला-सुस्ती भइरहेको छ त ?

सडक डिभिजन कार्यालय पोखराका सूचना अधिकारी किरण सुवेदीले खानेपानीको पाइपले काम ढिलो भइरहेको बताए। ‘एक चरणको काम- नाला बनाउने काम लगभग सकियो। पिचको काम सुरु गर्नुपर्ने हाे, पूरानो पिच भत्काएर। खानेपानी संस्थानको पाइप असोजसम्म सार्छाैं भनेर भनेको हो पत्र लेखेर,’ उनले भने, ‘खानेपानीको पाइप अहिलेसम्म सार्नु भएन। त्यही भएर पनि पिच भत्काउन पाइएन।’

खानेपानी संस्थानले १० दिनभित्रमा पाइप व्यवस्थित गर्ने मौखिक सहमति गरेको उनले सुनाए। खानेपानी संस्थानले पाइप व्यवस्थित गर्ने बित्तिकै धमाधम पिचको काम सुरु हुने उनले बताए। उनका अनुसार अहिले कल्भर्ट हाल्ने काम भइरहेको छ। ‘बिरौटामा कल्भर्ट हाल्ने, एक्सटेन्सनको काम भइरहेको छ अहिले,’ उनले भने। 

प्रकाशित मिति: : 2022-03-12 07:19:00

प्रतिकृया दिनुहोस्