राजीनामा मागेपछि मुख्यमन्त्रीले भनेः लुम्बिनीमा एमालेलाई भाँङ बालेर खोज्ने बनाउँछु

प्रादेशिक अस्पताल भवनको ठेक्कामा सेटिङ मिलाएर अनियमितता गर्न खोजेको भन्दै नेकपा एमाले लुम्बिनीले राजीनामा मागेपछि आक्रोषित बनेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्थानीय तहको निर्वाचनपछि एमालेलाई भाँङ (बत्ति) बालेर खोज्ने अवस्थामा पुर्‍याउने बताएका छन्।

रोल्पाको लिबाङमा विहिवारदेखि सुरू भएको महोत्सवको उद्घाटन गर्दै केसीले आगामी स्थानीय तहको निर्वाचनमा लुम्बिनी प्रदेशका १०९ तहमै गठबन्धन गरेर एमालेलाई भाँङ बालेर खोज्ने बनाउनको लागि आफूले बैठक डाकेको बताएका हुन्। ‘म गठबन्धनको पनि नेता भएको हैसियतले एमालेलाई हराउनका लागि मैले १०९ तहबाटै बैठक डाकिसकेको छु,’ केसीले भने, ‘तपाईहरू साना लोभलाभ नगर्नुहोला यहाँबाट, यो भनेको गणतन्त्रको रक्षाको लडाइँ हो।’

अबको पाँच वर्ष गठबन्धनभन्दा बाहिरको सरकार बन्ने कल्पना समेत नगर्न आग्रह गर्दै केसीले आगामी चैत २२ गतेसम्म केन्द्रको गठबन्धनबाट केहि सर्कुलर आउने भन्दै त्यसपछि प्रदेशमा छलफल हुने बताए। ‘केन्द्रको गठबन्धनका आधारमा अहिलेको गठबन्धन कायमै हुन्छ,’ केसीले भने, ‘तर लुम्बिनीका सबै स्थानीय तहमा एमाललेलाई हराउन मैले छुट्टै बैठक बोलाउदै छु।’

लुम्बिनी प्रदेशमा एकल बहुमत रहेको बलियो सरकारलाई ४१ सिटबाट ३६ सिटमा झार्ने आफूनै भएकाले धेरै निहुँ नखोज्न एमालेलाई केसीले चेतावनी समेत दिएका छन्। एकल बहुमत रहेको सरकारकै सांसद्ले राजीनामा दिएर सरकार ढालेको इतिहास अन्य ठाउँ कतै नभएको भन्दै उक्त इतिहास नविर्सन समेत एमालेलाई केसीले आग्रह गरे।

महोत्सवको विषयमा भन्दा एमाले विरूद्ध धेरै बोलेका मुख्यमन्त्री केसीले झापामा अर्बाैको भ्यूटावर बन्दा कसैले केहि चर्चा नगरेको तर रोल्पामा ६ करोडको भ्यूटावर बन्दा अनावश्यक आलोचना भएको प्रति पनि आपत्ति जनाएका थिए।

प्रकाशित मिति: : 2022-03-31 18:39:00

प्रतिकृया दिनुहोस्