कम बोलेर धेरै काम गरेर देखाउनेछु: मन्त्री रोकाया

File photo
File photo

कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री पदम बहादुर रोकायाले जनताले महसुस गर्नेगरी विकास निर्माणका काम सुरुवात गरेको बताएका छन्। 

माघ २३ बाट मन्त्री बनेका उनले प्रदेशमा काम गर्ने वातावरण रहेको बताए।  

मन्त्री बनेपछि गृह जिल्लामा पुगेका उनले मन्त्री नहुने सांसदको क्षेत्रमा विकास निर्माणका योजनामा पक्षपात हुने गरेकोले सिंजा, मुगु लगायत क्षेत्रलाई पछि पर्न नदिने गरि तयारी थालेको बताए।

उनले आफूले निर्वाचन जितेको क्षेत्र सिंजा, मुगुका दानसिंह परियारले जितेको मुगु लगायत क्षेत्रमा एउटा पनि बहुवर्षीय योजना नभएको अवस्थामा यस्ता निर्वाचन क्षेत्रमा महत्त्वपूर्ण काम गरेको बताए।

'म मन्त्री बनेपछिको यो पहिलो काम हो कि मन्त्री नबनेका माननीयको क्षेत्रमा पनि बहुवर्षीय योजनाहरु परेका छन्,’ उनले भने, ’कर्णालीको निर्णय छ सबै निर्वाचन क्षेत्रमा कम्तिमा एउटा बहुवर्षीय योजना हुनुपर्ने भन्ने छ। तर राजनीतिक पूर्वाग्रह र पहुँचका आधारमा योजना छनोटहुने गरेको थियो। हामीले त्यसको अन्त्य गरेका छौं।’

उनका अनुसार खलंगा बजार, जलजला थलाले चौधविस, उर्थु चौतारा, जलजल लगायतका सडकलाई बहुवर्षीय योजनामा राखिएको छ।

मुगु र सिंजाका मजनतालाई  सहज हुने गरि बाटो निर्माण, सल्यान, दैलेख, सुर्खेत लगायतका जिल्लाका निर्वाचन क्षेत्रमा बहुवर्षीय योजना पार्न सक्नु आफ्नो सफलता भएको उनेले थपे। 

उनले प्रगति हुन नसकेका योजनाका ५०, ६० वटा फाइल पल्टाएर चैत मसान्तसम्म काम सक्न ताकेता लगाएर म्याद थप गरिएको बताए। 

’अब चाँडै नै प्रगति देख्न पाइनेछ। बदमासी गर्ने निर्माण कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढाउँछौं,’ उनले भने, ’यसले विकास निर्माण चुस्त हुने विश्वास लिएको छु।’ 

मुख्य ठेकेदारले दोस्रो, तेस्रो पक्षलाई दिएर कमिसन खाने खेल भइरहेकोले यस्तो कार्यलाई निरुत्साहित पार्नुपर्ने उनको जोड छ। 

मन्त्री रोकायाले एकीकृत बस्ती विकास, जनता आवास कार्यक्रम लगायतको निरन्तरताले आर्थिक अवस्था कमजोर भएका नागरिकले सुविधा पाउने बताए। 

अहिले प्रदेशले लगानी गरेका योजनाको अनुगमन गरिरहेका उनले एरपोर्ट उर्थु, चौतारा र पटमारा सडकको प्रगति विवरण बुझेका छन्। 

उनले भौतिक पूर्वाधार मन्त्रालयबाट खानेपानी र सिचाई सम्बन्धिको काम छुटेको हुनाले बजेट घटेपनि सडक, भवन र पुलहरु निर्माण गर्नको लागि प्रशस्त बजेट रहेको बताए।
 

प्रकाशित मिति: : 2022-04-01 18:42:00

प्रतिकृया दिनुहोस्