स्थानीय निर्वाचनबारे प्रवासी नेपाली भन्छन् : खबरदार ! नाेटले भाेट किन्ने काम बन्द गर्नुहाेला

Breaknlinks
Breaknlinks

आसन्न स्थानीय तहको निर्वाचन लक्षित चुनावी प्रचारप्रसार अभियान भइरहेकाे छ। चुनाव नजिकिँदै गर्दा यतिबेला नेताहरु आ-आफ्नो एजेण्डा बोकेर गाउँ-गाउँमा पुगिसकेका छन्।

सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू पार्टीका भेला, प्रशिक्षणदेखि घरदैलाे कार्यक्रममा व्यस्त छन्। यसरी भाेट माग्न नेताहरू घर–घरमा आइरहँदा उनीहरूप्रति जनताले आ–आफ्नै टिकाटिप्पणीहरू दिइरहेका छन्। यस्ता टिप्पणीहरूबाट सामाजिक सञ्जाल पनि अछुताे छैन। घरदेश तथा परदेशमा रहेका नेपालीहरू चुनवा कस्ताे हुनुपर्छ, कस्ता उम्मेदवारलाई भाेट दिनुपर्छ, उम्मेदवारले के गर्नुपर्छ भन्ने लगायतका टिकाटिप्णी सामाजिक सञ्जालमा दिइरहेका छन्। साेही सन्दर्भमा हामीले देशकाे निर्वाचनकाे महाेल परदेशमा बसेर नियाली रहेकाे नेपालीका प्रतिक्रिया समेट्ने प्रयास गरेका छाैँ:


नवीन बस्याल
स्वर्गद्वारी नगरपालिका, प्युठान
हाल जापान

म विगत ४ वर्षदेखि रोजगारीको सिलसिलामा जापानमा कार्यरत छु। त्यसैले स्थानीय जनता वा त्यहाँको राजनीतिक माहोलकाे प्रत्यक्ष अनुभव गर्न पाएकाे छैन। समग्रमा यो चुनाव पहिलाभन्दा बढी रोचक र भिन्न होला जस्तो लाग्छ। धेरै ठाउँमा तालमेलको कुरा आइरहेको छ। तर, कतिपय ठाउँमा भने तालमेल सम्भावना कम देखिन्छ। तालमेल हुने भन्ने कुरामा पाँच दलीय गठबन्धन सकसपूर्ण अवस्थामा छ। उम्मेदवार छनाेटकाे जिम्मा स्थानीय कार्यकर्तालालाई दिनुपर्छ।

चुनावी तालमेल भए पनि स्थानीय तहमा काम गर्ने कार्यकर्तालाई अधिकार दिनुपर्छ भन्ने लाग्छ। देशलाई विश्वमा चिनाउनमा विकास, कानुन निर्माण र अनुशासनको महत्वपूर्ण भूमिका रहन्छ। त्यसैले प्रतिनिधि निष्पक्ष काम गर्ने खालको हुनुपर्दछ। गाउँ/नगरको नेतृत्व गर्ने प्रतिनिधिकाे देश विकासमा महत्वपूर्ण भूमिका रहन्छ। जबसम्म गाउँकाे विकास हुँदैन, तबसम्म देशको विकास हुँदैन। विकास भन्नाले हिजोका धेरै जनप्रतिनिधिको मनमा बिजुली र बाटो लगायतका कामहरु नै विकास हो भन्ने बुझाइ देखिन्छ तर मेरो विचार र अपेक्षा भनेको नि:शुल्क शिक्षा नि:शुल्क स्वास्थ्य रोजगारको व्यवस्था हाे।

गत निर्वाचनमा निर्वाचित प्रतिनिधिहरुका कामबाट म सन्तुष्ट छैन। हिजोको घोषणा पत्रभन्दा विपरीत काम गरेको पाइन्छ। केही ठाउँमा केही राम्रा काम भएका छन्। भने, धेरै ठाउँमा विकासको नाममा बढी विनास भएकाे जस्ताे देखिन्छ। सडक निर्माण गर्दा मापदण्डविपरीत खन्ने कसैको क्षतिपूर्तिकाे मतलब नराख्नेहरू वा कुनै सार्वजनिक स्थल निर्माण गर्दा मनमर्जी गर्ने, महॅंगा गाडी किन्ने तथा व्यक्तिगत स्वार्थ पूरा गर्ने खालका गतिबिधि बढी भएकाे जस्ताे लाग्छ। अब आउने जनप्रतिनिधिले त्यस्ता काम गर्नु हुँदैन। अहिलेकाे चुनावमा सकेसम्म युवालाई अवसर दिनुपर्छ। नयाँ साेच र सही भिजन भएका नेताबाट मात्रै गाउँकाे विकास सम्भव छ।

कविराज बानियाँ 
लुङ्ग्री गाउँपालिका, रोल्पा
हाल युराेप

आसन्न स्थानीय तह चुनावलाई अधिकांश जनप्रतिनिधिहरुले लुट्ने लाइसेन्स नविकरण गर्ने पर्वको रुपमा लिइएका छन्, जस्ताे लाग्छ, मलाई त। चुनाव जितेपछि जनप्रतिनिधिले साँच्चिकै प्रतिनिधि बनेर जनताका आधारभूत आवश्यकताहरु जस्तै: शिक्षा, स्वास्थ र रोजगारिमा सहयोग पुग्ने कुनै काम गरिदिए हुन्थ्याे भन्ने लाग्छ।

गत स्थानीय चुनावबाट आएका जनप्रतिनिधिहरुबाट म त अलिकति पनि सन्तुष्ट छैन। केन्द्रबाट विकेन्द्रीकरण भएका नियम कानुनहरु यिनीहरूले स्थानीय तहमा बिस्तार गर्न सकेनन्। देशमा संघीयता आएको अवस्थामा पनि त्यहीँ अधिकांश जनप्रतिनिधिहरुले केबल पुरानै शैलीको निरन्तरता दिएको मात्र पाएँ, सायद जनप्रतिनिधिहरूमा क्षमतकाे कमिले हुनुपर्छ।

खुम रायमाझी
भूमिकास्थान नगरपालिका, अर्घाखाँची
हाल कुवेत

विशेषगरी हालका प्रदेश सरकारहरु खारेज गरी नयाँ संयन्त्रका साथ स्थानीय सरकारलाई बलियो बनाउँनुपर्छ। स्थानीय चुनाव नजिकिँदै गर्दा नोटमा भोट किन्ने दलालहरुको विगविगी हुन्छ। खबरदार नाेटमा भाेट किन्ने साेच कसैले नपाल्नुहाेला। जनताले पनि त्यस्ता खालका उम्मेदवारहरूलाई सचेत भई भोटबाट आउट गरिदिनुपर्छ। स्थानीयस्तरमा यस्तो जनप्रतिनिधी आउन जसलाई त्यहाँको स्थलगतरुपमा अनुभव होस, स्वास्थ्य, शिक्षाप्रेमी र जनताको मनोभावनालाई कदर गर्दै त्यहाँको आवश्यकता बुझ्न सकोस्।

वर्तमान स्थानीय सरकारले अपेक्षित काम नगरेको कुरा सत्य हो, भन्दै गर्दा थोरै तहहरुमा धेरै राम्रो विकास भएको भए पनि समग्रमा भन्नुपर्दा धेरै स्थानीय सरकारहरुमा भष्ट्रचार र विकृति बढेको छ। त्यसलाई नयाँ संयन्त्र बनाएर रोक लगाउनुपर्ने आवश्यकता छ।

सुरेशकुमार पाण्डे 
घोराही उपमहानगरपालिका- १८, दाङ
हाल भारत

अहिलेको चुनावलाई प्रतिगामी शड्यन्त्रको र विदेशी हस्तक्षेपविरूद्ध प्रयोग गर्नुपर्छ। देशमा आर्थिक मन्दी आउँन नदिन देशको खर्चमा कटौती गर्ने प्रयास गर्नुपर्छ, जसमा संघीयता पनि खारेज गर्नुपर्छ। विदेशीको हस्तक्षेप्त रोक्नलाई एमसीसी खारेज गरेर आफ्नो देशलाई आत्मनिर्भर गर्ने प्रयात्न गर्नुपर्छ। देशभक्त तथा गणतन्त्रवादी शिक्षित युवाहरूको आवश्यकता छ। जसले संविधानमा उल्लेखित गणतन्त्र र धर्मनिरपेक्षतालाई जोगाउँदै देशमा आमूल परिवर्तनको आधार खडा गर्न प्रयास गर्नुपर्छ।

धेरैजसो स्थानीय निकायमा जनप्रतिनिधिहरूकाे कार्य प्रणाली सन्तोषजनक देखिन्न। साथै उनीहरू राजनीतिकरण भएपछि पक्षपातपूर्ण सेवा प्रवाह गरेका छन् जस्ताे लाग्छ। देश नै परनिर्भरताकाे अवस्थामा रहेकाेले सबै क्षेत्र निराशाजनक छ।

होम घर्ती मगर
स्वर्गद्वारी नगरपालिका, प्युठान
हाल साउदी अरब

स्थानीय चुनाव नजिकिँदै गर्दा म उत्साहित छु र दु:खी पनि छु। उत्साहित किन छु भने स्थानीय जनतालाई फेरि ५ वर्षको लागि नयाँ र राम्रो जनप्रतिनिधि चुन्ने अवसर  मिलेकाे छ। दु:खी किन छु भने हामी जस्तो लाखौँ युवा/युवतीहरुले विदेशबाट भोट हाल्ने व्यवस्था नहुँदा दु:ख लागेकाे छ।

अबको स्थानीय तहको जनप्रतिनिधि समग्रमा सबै ठाउँमा जनताको समस्या बुझेर काम गर्ने र याे वा त्याे गाउँमा विपक्षी पार्टीको बहुमत छ, त्यहाँ विकास गर्नु हुँदैन भन्ने सोचभन्दा पनि सबैको मन जित्ने खालकाे हुनुपर्छ।

धनीराम पुन
स्वर्गद्वारी, प्युठान

हाल भारत

आफूलाई मनपर्ने प्रतिनिधि छान्ने अधिकार लोकतन्त्रले दिएकाे छ। तर, हामीले छानेका जनप्रतिनिधहरले हामीले अपेक्षा गरेअनुसार काम गरेकाे भने पाइदैन। आफन्ता र नातावाद/कृपावाद हाम्रा जनप्रतिनिधि समित भइदिँदा याेग्य र क्षमतावान युवा विदेशीनु परेकाे छ।

यसपटक जनताकाे हितमा काम गर्न सक्ने जनप्रतिनिधि आउनुपर्छ। यसपटक पनि जुन जाेगी आए पनि कानै चिरेकाे भने जस्ताे नहाेस्। यसअघिका जनप्रतिनिधि र अहिले निर्वाचन उठ्ने उम्मेदवारहरूबीच त्यस्ताे फरक केही नहाेला जस्ताे लाग्छ। त्यसैले अब जनता सचेत हुन जरूरी छ।

मिन राना
कालीगण्डकी गाउँपालिका, गुल्मी
हाल यु.के

चुनाव जनताको चुन्ने र चुनिने अधिकारको प्रयोग गर्ने उत्तम समय हो। सरकारले गर्ने र गर्न सक्ने कामको उचित संयाेजन गरेर स्थानीय बासीलाई उद्यमी बनाउन सक्ने, युवालाई स्वरोजगार बनाउन सक्ने, उत्पिडित समुदायलाई सामाजिक न्याय दिलाउन सक्ने र प्राकृतिक स्रोत र साधनको संरक्षण गर्दै उपभोग गर्न सिकाउन सक्ने मान्छेलाई निर्वाचनमा जिताउन पर्छ।

नेपालको हकमा अहिलेको स्थानीय निकायको अभ्यास पहिलो भएकोले केही समस्या देखिनु सामान्य हो। त्यसैले भएका असन्तुष्टि मेट्ने अवसर चुनाव नै हो। हाम्रोमा अझै राजनीतिक संस्कार बसेको छैन। पार्टीगत कुरामा झगडा र लडाइँ गर्ने बानी छ। त्यो बानी ठिक होइन। आफूलाई मन पर्ने पार्टी रोज्ने व्यक्तिको नैसर्गीक अधिकार हाे।

प्रकाशित मिति: : 2022-04-12 14:50:00

प्रतिकृया दिनुहोस्