बिहिबार, १८ सेप्टेम्बर २०२५

दोस्रो बिहे गरेपछि बुवा पनि सौतेना हुन्छन्

Breaknlinks
• • •

न कुनै महत्वाकांक्षा छ, न त छ कुनै लोभलालच। छ त मनमा सदा उर्लिरहने उही सेवाभाव। न मेकअपको आवश्यकता पर्छ। न त नयाँ डिजाइनका पहिरनको आवश्यकता। उही सेतो एर्पोन जीउमा झुण्ड्यायो। अस्पताल पुग्यो। दिनभर बिरामीको सेवामा तल्लीन रह्यो। इमर्जेन्सी केशहरू आउँदा पुनः दौडियो। यसरी नै बितिरहेको छ बैतडीकी लक्ष्मी धामीको दिनचर्या।

जिन्दगीरुपि यात्राामा जतिजति उमेरका घुम्ती थपिदै जान्छन् उति नै विगतका सम्झना स्मृतिमा उग्राइरहन मन लाग्छ। आमा, दाइ र भाउजूको स्नेह कल्पेर बेलाबखत आफैँलाई छ्याप्ने गर्छिन्, उनी। कामको चाप बढ्दै जाँदा कहिलेकाहीँ सोच्ने गर्छिन्– कहाँ आएछु। कस्तो पेशा अपनाए छु। न चाहेको बेला बिदा पाइन्छ। न त बिदामा बसेको बेला म बिदामा बसेको छु भन्न मिल्छ। आकस्मिक केश आइदिँदा मध्यरातमा पनि जानुपर्ने हुन्छ अप्रेसन थिएटरमा। मनमा यस्ता कुरा खेल्नथाल्दा पुनः आइदिन्छन् बिरामी। अनि फेरि मान्दैन मन। दौडिदै पुग्छिन् बिरामीको छेउमा।

८ वर्ष भयो उनलाई डोटी राजपुरस्थित सुजङ अस्पतालमा काम गर्न थालेको। बिरामीको बेडदेखि अप्रेसन थियटरसम्म दौडिरहेकी हुन्छिन् पुतलीझैं हलुका चालमा। अनुहारमा मुस्कान सजाएर सम्झाउँछिन् बिरामीलाई। अधिकांश बिरामी उनीसँग कुरा गर्न रुचाउँछन्, निकै नजिक भएर। तिनले आफ्नो स्वास्थ्यसँग सम्बन्धित समस्या मात्र भन्दैनन्, सुनाउँछन् व्यक्तिगत, पारिवारिक कुराहरू पनि। बिरामीले मन पराएकी, बिरामीकी प्रिय सिस्टरका रुपमा चिनिएकी छन्, लक्ष्मी।

खाना दिने सिस्टरका रुपमा समेत आफ्नो पहिचान बनाएकी उनी सुनाउँछिन्,‘कतिपय बिरामी र बिरामीका कुरुवासँग पैसा नभएको बेला, समयमा घरबाट खाना नआउँदा, दालभात तरकारी पकाएर दिने समय नभए पनि खिचडी पकाएर दिने गरेकी छु। तातो पानी उपलब्ध गराउनु त दिनचर्या नै बनिसक्यो।’ अस्पतालले नै उपलब्ध गराएको क्वाटरमा बस्दै आएकी धामीका एक छोरी एक छोरा खेलिरहेका हुन्छन् त्यही आँगनमा। तिनको हेरचाहदेखि अस्पतालको ड्युटी गर्न मिलाएकी छन्, समय तालिका।

बिहानीपख झुल्किने सूर्यका किरण हेर्छिन्। एकनाशले टोलाउँछिन्। अस्पतालमा प्रायजसो सुनिन्छ आमा भन्ने शब्द। बिरामीले पीडामा होस् वा कसैले साच्चिकै सम्बोधनका क्रममा होस् आमा भनेको सुन्दा झस्किएर उघार्न खोज्छिन् सम्झनारुपी मनको  दैलो। तर, पनि सक्दिनन् आमाको मुहार सम्झिन। सदाका लागि बिलाइ सक्यो ममतारुपि स्नेहको सुस्केरा। माइती घरलाई रित्तो र बुच्चो तुल्याएर पुगिसक्यो कतै टाढा क्षितिजभन्दा पनि पर। अचेल कल्पनामा सिमित भैदिन्छ त्यो मुहार। गहभरी आँसु छल्काएर सुनाउँछिन् उनी, ‘बालखै छँदा आमा परलोक हुनु भयो। बुवाले नै जेनतेन गरेर पाल्ने पढाउने काम गर्नु भएको हो।’

अहिलेको प्रविधिमा जब फेसबुक युट्युब आदि हेर्छिन् तब मनमा प्रश्न उब्जिन्छ, यसरी नै मैले पनि मेरी आमाले बोलेको सुन्न पाए, तस्बिर हेर्न पाए यो मन कति शान्त हुन्थ्यो होला। कल्पेको बेला परेला पुछेर चित्त बुझाउनु शिवाय उपाय नै छैन केही।

सानो छँदा माइतीमा गाईभैंसी पालेका दिनहरूले याद दिलाउँछन् त्यो भूगोलको। इष्टमित्रहरूले दोस्रो बिहे गर्न सल्लाह दिन्थे उनका बुवा दली धामीलाई। दोस्रो बिहे गरेपछि बुवा पनि सौतेना हुन्छन्, यी छोराछोरीको बिजोग भएको हेर्न सक्दिनँ भन्ने ती बुवासँग भइरहन्छ बेलाबखत कुराकानी। उनका तीन जना दिदी–बहिनी तीन जना दाजु–भाइमा १३ वर्षको उमेरमा जेठी दिदीको बिहे भयो। दिदीको बिहे भएको ६ महिना नबित्दै आमा तुली धामीले धर्तीबाट बिदा लिनु भयो। सानैमा गाईभैसी चराउन वनतिर जाने लक्ष्मीले दाइको बिहे भएर घरमा भाउजू भित्रिएपछि १० वर्षको उमेरमा विद्यालयको आँगन टेक्ट्न पाएकी हुन्। कक्षामा कहिल्यै दोस्रो हुनु परेन उनले। एसएलसी दिए लगत्तै बिबाह बन्धनमा बाधिइन्। इन्टर पास गरेर शिक्षण पेशा अँगाली परिवारको राम्रै व्यवस्थापन गरिरहेका दाइले ३५ वर्षको उमेरमा एकाएक धर्ती त्यागे। ६ महिना पछाडि दाइको शोकमा डुबेकी उनकी भाउजूले पनि रोजिन श्रीमान गएकै बाटो। वर्षौसम्म शोकमा डुब्यो माइतीको आँगन। लक्ष्मीका पनि आँखा ओभाना हुन सकेनन् माइती घरमा परेको बज्रपातको खबर सुनेर।

‘भगवान जस्तो श्रीमान भेटाएकी हुँदा घरबाट निकै साथ सहयोग पाएँ। कल्पना पनि गरेकी थिइनँ त्यस्तो श्रीमान पाउला भन्ने। उहाँले नै दिनुभयो आमा,बुवा, दाइ, भाउजू सबैले दिने माया। मायासँगै दिइरहनु भयो पढ्ने सल्लाह पनि। अनि प्लसटुमा भर्ना भएँ,’ विगत सम्झिदै बताइन्।

१२ कक्षामा पढ्नेताका सेती प्राविधिक स्कुलमा अनमीमा भर्ना भएकी उनले १२ कक्षा र अनमी दुबै र्कोर्स सजिलै उत्तीर्ण गरिन्। ओजिटिका लागि सुजङ अस्पताल पुगेकी उनले त्यतै जागिर पनि पाइन। छोराछोरी पाएपछि रोकियो उनको पढाइ। श्रीमान उद्घवसिंह साउँदले उच्च शिक्षा अध्ययन गर्न भनिरहे तर उनले चित्त बुझाइन् बिरामीको उपचार गर्नमै।

अस्पतालमा काम गर्ने क्रममा छोराको आशमा आउनेहरू भेटिन्छन्। पाठेघरको समस्याले ग्रसित महिला त्यतिकै हुन्छन्। छोरी पाउँदा खिन्न हुने अनुहार पनि भेटिन्छन्। विगतमा औषधि लगेर पनि नखाइदिने महिलाहरू त्यतिकै हुन्थे। यस्ता घटनाले कोमल मनकी लक्ष्मीलाई भित्रैसम्म छुन्छ। ‘विभिन्न किसिमका दुर्घटनामा परी उपचारका क्रममा बचाउन नसकेका केशले भक्कानो फुट्छ कण्ठमा,’ उनी बताउँछिन्।

अहिलेसम्म एक दर्जन बढी डाक्टरसँग काम गरिसकिन् उनले। जनरलबाट सुरु गरेकी उनी विगत केही वर्षदेखि डाक्टरसँगै अप्रेसन थियटरमा हुन्छिन्। सुरुमा डा. परमेश्वर महतासँग धेरै कुरा सिक्ने मौका पाएको बताउने लक्ष्मीले डा.पंकज प्रतापसँग सिएस केशका बारेमा सिक्ने मौका पाइन। उनको क्षमता देखेर डा. पङ्कजले नै उनलाई ओटीमा काम गर्न सुझाव दिएका थिए। अस्पताल प्रशासन प्रमुख अर्जुन बलायर र डा. पंकजले नानीबाबुलाई विद्यालय पुर्‍याउने र ल्याउने समय पनि उपलब्ध गराए। हाल कहिलेकाहीँ उनको मनमा प्रश्न तेर्सिन्छ परिआयो भने त गरिएला नि भन्ने। बढिदिन्छ एक्लै सिएस केश हेन्डलिङ गर्न सक्ने शाहस। तथापि त्यो उनको अधिकार क्षेत्रभित्र पर्दैन।

उनकाअनुसार कुनै इन्डिकेसन बिना सिएस हुँदैन। पछिल्लो समय अधिकांश महिलाहरूमा त्यस्ता इन्डिकेसन देखिने भनेकै विषादियुक्त खानपिनले हो भन्ने तर्क गर्छिन्, उनी। समाजमा थुप्रै छन् महिलाका समस्याहरू। अस्पताल न हो विभिन्न खालका बिरामी आउँछन्। जेहोस् उनी सन्तुष्ट छन् बिरामीको सेवा गर्ने अवसर पाएर।

उनका अनुसार यो सरल ढंगले बाँच्न सिकाउने पेसा पनि हो। कहिलेकाहीँ भने बिरामीको उपचारकै  क्रममा सोच्न बाध्य हुन्छिन् आखिर के रहेछ त जिन्दगी। त्यसैले त उनी सुनाउँछिन्,‘मान्छेले दुई दिन बाँचुन्जेल यति संघर्ष गर्नुपर्छ। त्यसमा पनि कतिखेर के हुने हो थाहा छैन्। नाङ्गै जन्मिएका शिशुहरू देखिन्छन्। संसारबाट नाङ्गै गइरहेकाहरू पनि देखिन्छन्। बीचको पिरिएडमा कति सुख दुःख झेल्नु पर्दो रहेछ भनेर मनन् गर्ने मन लागिरहन्छ।’

हरेक मंगलबार ब्रत बस्छिन्, उनी। अहिलेसम्मको अनुभवमा ब्रतकै दिन बढी केश हेन्डलिङ गर्नुपर्ने हुन्छ। यो संयोग हो वा भगवानले गरेको परीक्षण हो थाहा छैन्। उनलाई यति मात्रै थाहा छ, यो क्षेत्रमा बढी भन्दा बढी बिरामीको सेवा गर्न पाउनु नै ब्रतको फल हो। त्यसैले त सोच्ने गर्छिन्,‘कसैको ज्यान जोगाउन ब्रत बसेकी रहेछु।’ उनी भगवानप्रति आस्थावान छन्। तर, कट्टरबादी छैनन्। त्यसैले त ब्रतको दिन परसरेकी वा दश दिन नपुगेकी सुत्केरीलाई छुनु हुँदैन भन्ने समाजको मान्यताले छुदैन उनलाई। उनी भन्ने गर्छिन्,‘हरेक मंगलबार मेरा लागि मङ्गलमय बनिदिन्छ। उपचारार्थ अस्पतालमा पुगेकाहरुको आशिर्वाद मिलिरहन्छ।’

महिला भन्ने शब्द नै समस्याको रुपमा हेर्ने गरेकी लक्ष्मीलाई कहिलेकाहीँ आफ्नै जिन्दगी पनि कुनै आख्यानभित्रको पात्र जस्तै लागिदिन्छ। अझैं उपचारका क्रममा देखापर्छन् थरिथरिका बिरामी। यो पेसाले उनलाई बाँच्न सिकाएको छ। संवेदना थपेको छ। सहयोगी भावनामा निकै नै ऊर्जा थपेको छ। उनी बिरामीको सेवा गरेरै पुण्य कमाइरहेकी छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!