के हाे मंकीपक्स ? मान्छेमा कसरी सर्छ ? (भिडियाेसहित)

कोरोना भाइरसकाे प्रभाव कम पूर्णरूपमा कम नहुँदै संसारमा फेरि अर्काे भाइरसको त्रास फैलिएको छ। जसको नाम हो, मंकीपक्स।

सन् १८५८ मा पहिलाे पटक बाँदरमा देखा परेकाे याे भाइरस पछिल्ला केही दिन यता मानिसमा फैलिने क्रमबढेसँगै त्रास फैलिएकाे हाे। हाल सामाजिक सञ्जालमा समेत यसकाे चर्चा हुन थालेकाे छ।

विश्व स्वास्थ्य संगठनका (डब्ल्युएचओ)अनुसार अस्ट्रेलिया, इजरायल र स्वीटजरल्यान्डमा मंकीपक्स देखिएको छ। योसँगै साेमबारसम्म मंकीपक्स संक्रमण फैलिने देशको संख्या १५ पुगेको छ।

यो जनावरबाट मानिसमा सर्ने भाइरस हो। यसको लक्षण बिफरको जस्तै हुन्छ। मंकीपक्स गराउने भाइरस पनि बिफर भाइरसकै वर्गको हो। तर, यो बिफरजत्तिको गम्भीर नभएको अनि कम संक्रामक रहेको वैज्ञानिकहरुले बताएका छन।

सन् १९५८ मा बाँदरमा पहिलो पटक यो भाइरस देखिएकोले यसको नाम मंकीपक्स राखिएको हो। यो रोगले विशेषगरी अफ्रिकीहरु लामो समयसम्म आक्रान्त बनेको पाइएको छ। मानिसमा भने पहिलो पटक मंकीपक्सको पुष्टि सन् १९७० मा रिपब्लिक अफ कंगोमा भएको थियो।

यो रोग प्रायः मध्य र पश्चिम अफ्रिकी देशका वन नजिक रहेका दुर्गम भेगमा पाइएको थियो। सन् २००३ मा अमेरिकामा पनि यसको प्रकोप देखिएको थियो। पछिल्लो समय बेलायतमा मे ७ मा यो रोग पुष्टि भएपछि क्रमशः अन्य देशमा पनि यो पाइने क्रम बढेको छ। बेलायतमा नाइजेरियाबाट आएका दुई बिरामीमा मंकीपक्सको संक्रमण पाइएको थियो।

के–के हुन् मंकीपक्सका लक्षण ?

मंकीपक्सको संक्रमणको लक्षण ५ देखि २१ दिनसम्ममा देखिने गर्दछ। सुरुको अवस्थामा यसको लाक्षण अन्य संक्रामक रोगहरुसँग मिल्दो जुल्दो देखिन्छ। ज्वरो आउनु, टाउको दुख्नु र जिउ दुख्नु, ढाड दुख्नु, मांशपेशी दुख्नु, शरीर कमजोर हुनु यसका यसका प्रारम्भिक लक्षण हुन।

यी लक्षणहरु देखिएको १ देखि ३ दिनमा अनुहारमा बिबिरा देखिन थाल्छन। यो विस्तारै शरीरका अन्य हिस्सामा फैलिन्छन। यी बिबिरा पानी फोका बन्छ अनि फुट्दै, सुक्दै जान्छन्। यस्ता डाबर निकै चिलाउने खालका हुन्छन्। डाबर फुटेर सुक्दै गएपछि विस्तारै उप्किएर जान्छ। यस्ता घाउहरु १४ देखि २८ दिनमा आफैँ निको हुने हुन्छन्।

कसरी सर्छ मंकीपक्स ?

मंकीपक्स बादर, मुसालगायत जनावरबाट मानिसमा सर्दछन्। मंकीपक्स भाइरसको संक्रमण संक्रमित जनावरको शरीरबाट निकल्ने तरल पदार्थ अथवा रगतबाट सर्न सक्ने बताइएको छ।

मानिसबाट मानिसमा चाहिँ थुकको छिटा, फुटेको छाला वा नाक, मुख, आँखामा भाइरस परे सर्न र संक्रमण हुन सक्छ। भाइरस भएको कपडाबाट पनि सर्न सक्ने बताइएको छ। यो रोग शारीरिक सम्पर्कबाट पनि सर्न सक्ने प्रारम्भिक अनुसन्धानम उल्लेख छ।

प्रकाशित मिति: : 2022-05-23 19:30:00

प्रतिकृया दिनुहोस्