ओलीलाई खोकनाले बिर्सायाे जन्मथलो

हेटौंडाका त्रिवेन्द्र ओलीलाई जन्मथलोभन्दा कर्मथलो नै प्यारो लाग्छ। त्यसैले त उनी हेटौंडा छाडेर ललितपुरस्थित खोकनामा बस्दै आएका छन्।

हुन त उनको खोकनामा आफ्नो भन्ने कोही छैन। तर उनलाई खोकनाले सबैथोक दिएको छ।

‘मेरो लागि खोकना बाआमा जस्तै हुन्’, उनले बिएल नेपाली सेवासँग भने, ‘याे ठाउँले मेरो सबै आवश्यकता पूरा गरिदिएको छ।’

बिहानको मिरमिरेमा आँखा मिच्दै उनी हिलो बारीमा पुग्छन् अनि दिनभरि त्यहीँ रमाउँछन्। यसरी नै बितिरहेको हुन्छ, ओलीको दिनचर्या।

‘म आजभोलि रोपाइँमा व्यस्त छु। यो बर्खामा त मेरो सास फेर्नेसमेत फुर्सद हुँदैन’, उनले भने।

दिनको १५ सय कमाउने उनी रोपाइँ मात्र होइन खेताला खोज्ने कामसमेत गर्छन्। जसबापत उनी एकजना बराबर सय रुपैयाँ लिन्छन्।

‘अब साहुजनहरु मकहाँ आउनुहुन्छ खेताला खोजी देऊ भन्नुहुन्छ। म नाइँ पनि भन्न सक्दिनँ। त्यसैले खेताला खोजिदिन्छु। काम गरिसकेपछि दाम पनि त लिनैपर्यो नि’, हाँस्दै ओली भन्छन्।

काम गर्ने मान्छेकाे आवश्यकता पर्दा ओलीलाई सम्झिने गाउँले कुनै समय आफूलाई हेपेको समेत उनी बताउँछन्।

‘जब म खोकनामा नयाँ थिएँ, तब मलाई यहाँका स्थानीयले हेप्ने गर्थे। तर आज म नै उनीहरुको लागि प्रिय बनेको छु’, विगतलाई स्मरण गर्दै उनले भने, ‘राम्रो काम गर्नेलाई सबैले मन पराउने रहिछ।’

घरदेखि खोकनासम्मको यात्रा

वि.स. २०३४ सालमा हेटौंडामा जन्मिएका उनी घरका कान्छो छोरा थिए। १३ रोपनी जग्गाका मालिक उनीहरुलाई खान लगाउन मज्जैले पुग्थ्यो।

घरकाे सानाे सदस्य भएका कारण उनलाई सबैले पुलपुल्याएर राखेका थिए। त्यसैले उनी साथीको लहलहैमा घरको माया मारेर गाउँबाट भागे।

घरबाट भागेका उनीहरुलाई थाहा पनि थिएन, कहाँ जाने भनेर। भर्खरै कक्षा ७ मा पढ्दै गरेका उनीहरु हिँड्दै खोकना पुगे।

‘साथीहरुको कुरा सुनेर घरबाट भागियो। कता जाने थाहा भएन अनि हिँड्दै जाँदा खोकना पो पुग्यौँ’, घरबाट भागेको दिन सम्झँदै उनले भने, ‘त्यो बेला न पैसा थियो, न त गुड्ने गाडी नै।’

पहिलो पटक खोकना पुगेका उनीहरुलाई थाहै थिएन- कहाँ बस्ने, के खाने र कहाँ सुत्ने भनेर। तर गाउँ डुल्दै गर्दा उनीहरुले काम पाए, ३० पाथीको बोरामा सामान बोक्ने। त्याेबापत उनीहरुले दुई/चार रुपैयाँ पाउँथे।

पहिलो पटक भारीको नाम्लो थाप्लोमा पर्दा घरलाई सम्झेर आँसु खसेको उनलाई अझै याद छ।

कहिले काम नगरेका उनले खाेकना पुगेर नसकेकाे काम पनि गरे। घरमा मायाले हुर्किएका उनलाई मान्हरूले गाली गरेर झपारे पनि। तर पनि उनले हार मानेनन्।

उनलाई गाउँ जाने आँट आएन। त्यसैले यहीँ बसेर काम गर्ने निधो गरे। खोकनाकाे रहनसहरन बुझ्दै गएका उनले विस्तारै खेतकाे काम सिके। अनि त्यहीँबाट दिनको ३० रुपैयाँ कमाउन थाले।

तीन दशक बढी समय खोकनामा बिताएका उनको परिवार सबै हेटौंडामा नै छन्। उनी परिवारलाई बेला मौकामा पैसा पठाइदिने गर्छन्।

‘महिनामा ३०–४० हजार रुपैयाँ कमाएकाे पैसा म गाउँ पठाइदिन्छु’, उनले भने, ‘श्रीमतीले २२ वटा खसी पालेकी छिन्, गाउँमा कुनै दुख छैन।’

८ वर्षका छोरालाई उनले अङग्रेजी स्कुल पढाएका छन्। छोराले राम्रो शिक्षा पाउन् भन्ने उनको इच्छा छ।

आफ्नो गाउँबाट टाढा बसेका उनलाई घरबाट नबाेलाएका पनि हाेइनन्। तर उनी जानै मान्दैनन्। भन्छन्, ‘मलाई मेरो जन्मथलोभन्दा पनि कर्मथलो नै प्यारो लाग्छ।’

ज्यामी काममा पनि सिपालु

खेती किसानी मात्र होइन, ओली ज्यामी काममा पनि उत्तिकै सिपालु छन्।

बर्खामा खेतमा व्यस्त हुने उनी बाँकी महिना ज्यामी काम गर्छन्। ‘म मिस्तेरी हुँ। दिनको १२ सय कमाउँछु। मलाई कामको कुनै कमी छैन’, उनले भने, ‘जिन्दगीमा सबै काम गर्न सिकियो।’

विदेश जान नरुचाउने उनी स्वदेशमै रमाउँछन्। ‘नेपालमै बसेर थाेरै पैसा कमाउनुमा धेरै सन्तृष्टि छ। विदेश गएर अरुको कुल्ली हुन मन छैन’, उनले भने।

स्वदेशमै बसेर काम गर्न चाहने उनी भन्छन्, ‘बरू मेरो देशको ट्वाइलेट सफा गर भन्दा पनि पछि हट्दिनँ तर विदेश जान्नँ।’

प्रकाशित मिति: : 2022-06-29 18:11:00

प्रतिकृया दिनुहोस्