जनार्दनलाई वहिर्गमन गराएर वर्षमानले जितेको ‘सेकेण्ड इनिङ’

जीवन डाँगी

काठमाडाैँ
Breaknlinks
Breaknlinks

अर्थ मन्त्रालयको बागडोर सम्हालेका नेकपा (माओवादी केन्द्र)का शीर्ष नेता जनार्दन शर्मा बुधबार सिंहदरबारबाट बिदा भएका छन्। 

अनधिकृत व्यक्तिलाई बजेट निर्माणमा सामेल बनाएर करको दररेट हेरफेरमार्फत् गम्भीर आर्थिक अपराध गरेपछि उनी पदबाट राजीनामा दिन बाध्य भएका हुन्। उनीमाथि बजेटमा करको दर हेरफेर गरेर सीमित व्यवसायिक घरानालाई लाभ पुर्‍याएको आरोप छ । त्यस वापत उनलाई आर्थिक लाभ मिलेको छ । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको पालामा ऊर्जा (२०७३) मन्त्रालय सम्हालेर चर्चा बटुलेका उनी अर्थमन्त्री हुँदा 'देउवा क्याबिनेट'को सबैभन्दा विवादित पात्र बने। थप लोकप्रियताको अभिलाषा बोकेर अर्थ मन्त्रालय छिरेका उनको छवि धुलिसात भएको छ। 

काम गर्ने ढंग नहुँदा सत्ताबाट बाहिरिएका शर्माले यसको दोष पार्टीका नेताहरूलाई लगाउन सुरू गरेका छन्। पार्टीभित्रैबाट आफूलाई लखेटिएको गुनासो गर्न थालेका छन्। 'जनार्दन कमरेडलाई पार्टीभित्रैबाट असफल बनाउने धेरै काम भयो। पटक–पटक असहयोग गरियो,' उनीनिकट नेता–कार्यकर्ता भन्छन्। 

उर्जा र गृहजस्ता शक्तिशाली मन्त्रालय हाँकिसकेका शर्मा सत्ता–स्वार्थमा डुबेपछि महासचिवका तीव्र आकांक्षी पूर्वमन्त्री वर्षमान पुनले माओवादी संगठनभित्र राम्रो पकड जमाउन थाले। राजनीतिक त्रास भोग्दैआएका शर्मा पार्टीभित्र वा बाहिर उग्र स्वभावका कारण बढी चर्चामा छन्।

माओवादीभित्र 'प्रचण्ड' रहँदासम्म यी दुई किनाराको मिलन असम्भव प्रायः छ। युद्धको 'कमाण्ड'देखि संसदीय राजनीतिलाई पनि बराबर हैसियतमै लगिरहेका उनीहरू अहिले पार्टीभित्र वारपारको लडाइँमा छन्। प्रचण्डले रोक्दा–रोक्दै 'शर्मा–पुन' विवाद बेलाबखत सतहमा आएको छ। 
शर्मा अर्थमन्त्री बनेदेखि नै पूर्वअर्थमन्त्री पुन समूहको 'तारो' बनेको माओवादी नेता नै बताउँछन्। मन्त्री पदको सपथ लिएलगतै गुटबन्दीको चेपुवामा परेको शर्मानिकट एक नेताले बिएल नेपाली सेवालाई जनाएका छन्। 'प्रभाकर कमरेडको लोकप्रियतामाथि खेल्न खोजियो। यो काम पार्टीभित्रैबाट भएको हो,' ती नेताले भने।

अर्थ मन्त्रालय सम्हालेका उनी आफ्नै पार्टीका शीर्ष नेताबाटै घेरिन पुगे। शर्माको वहिर्गमन कतै न कतै माओवादीभित्रको आन्तरिक द्वन्द्वकै परिणाम भएको बताउँछन्, शर्मानिकट अर्का एक केन्द्रीय सदस्य।

बजेट निर्माण प्रक्रियामा आफूले गल्ती नगरेको बारम्बार बताएपनि अन्य शीर्ष माओवादी नेताहरू उनको पक्षमा कहिकतै बोलेनन्। बरू मौन बसे। सच्चाईका अनेकौं तर्कअघि सारेका शर्मा अब आफैले संसदीय छानविन समितिको सामना गर्नेछन्।

एकपटक सफलतापूर्वक अर्थमन्त्रालय हाँकिसकेका पुनलाई शर्माले काममार्फत् उछिन्न चाहन्थे तर प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री रोजेका शर्माको विदाई सुखद रहेन। तर उता शर्माले भने छानविन समितिबाट निर्दोष सावित भएर फेरि सिंहदरबार फर्किने संकेत गरेर बाहिरएका छन्। नेता पुनले पनि 'निर्दोष सावित भए शर्मा फेरि अर्थ मन्त्रालयमा फर्किने' बताएका छन्। तर शर्मानिकट एक नेता बताउँछन् 'यो वर्षमानकाे चाहना होइन सहानुभूति हो।'

शर्मा अर्थमन्त्री भएदेखि एकपछि अर्को विवादै–विवादमा लगातार मुछिए। यतिसम्म कि व्यापारी पृथ्वी शाहका नाममा विदेशबाट आएको करोडौं शंकास्पद रूपैयाँ प्रकरणमा पनि शर्माको प्रष्टै संलग्नता देखियो। वर्षमान र जनार्दनबीचको टकराव राष्ट्र बैंकका गभर्नर निलम्बन प्रकरणले पनि सतहमा आएको थियो।

प्रधानमन्त्री देउवा र प्रचण्डको सल्लाहमा राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई तत्कालीन अर्थमन्त्री शर्माले निलम्बन गरेपछि वर्षमान नचाहेरै प्रचण्डको विपक्षमा उभिएका थिए। भलै यो विषय सर्वोच्च अदालतबाट सुल्झिसकेको छ। शर्माको कमजोरी मसिनो गरी नियालिरहेका पूर्वमन्त्री पुनले कूटनैतिक ढंगले पार्टीदेखि आम–सञ्चारसम्मै खेले।

अर्थमन्त्रीबारे आइरहेका अनेकौं समाचारको पछाडि उनको भूमिका रहेको शर्मानिकट नेताहरूको आरोप छ। उर्जामन्त्री हुँदा जनार्दनको लोकप्रियता चुलियो। कारण– कुलमान घिसिङको नियुक्ति र उर्जा मन्त्रालयमा देखाएको कार्यकुशलता नै हो। त्यसपछि केपी शर्मा ओली नेतृत्वको सरकारमा उर्जामन्त्री बनेका पुन भने छाँयामा परे। 

शर्माविरूद्ध माओवादीभित्र पकड जमाइरहेका नेता पुनले खाली ठाउँ खोजिरहेका थिए। त्यसै बेला भेटाए– गर्भनर निलम्बन र बजेट निर्माणमा बिचौलिया प्रवेश गराइएको सीसीटीभी फुटेज नै डिलिट। कारण– शक्तिशाली महासचिव पद। सम्भवतः माओवादी केन्द्रको महासचिव पुन नै बन्ने छन्। आफू नबने तेस्रो नेतालाई बनाउन भूमिका खेल्ने छन्। तर शर्मालाई कुनै पनि हालतमा ठाउँ दिने छैनन्। किनकि उनी शर्माको दुःखद वहिर्गमनको पछाडिका 'किङ्ग मेकर' हुन्। उनी सफल भइसकेका छन्।

त्यसो त महाधिवेशन चल्दै गर्दा उपचारका लागि देश बाहिर थिए, पुन। उनी चीन हुँदा शर्माले महाधिवेशनस्थलमा खेल्ने प्रयास नगरेका होइनन्। तर अस्पतालको शैय्याबाटै बाधक बनिदिए, उनै पुन। पुनले महाधिवेशनपछि अर्को एउटा 'ग्याम' जितेका छन्।

शर्मालाई महासचिव हुँदै अनैतिक अर्थमन्त्रीको 'ट्याग' भिराउन सफल भएका छन्, पुन। शर्मा बदनाम छवि बनाएर बाहिरिनुमा उनको मात्रै हात छैन। यसका मुख्य दोषी शर्मा आफै हुन्। पालैपालो अनुचित निर्णय गरेर खास व्यापारिक समूह पोस्दै आएका थिए। अर्थ मन्त्रालयलाई शर्माले नीतिगत भ्रष्टाचारको अखडा नै बनाएर गएका छन्।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक राजधानीमा जारी छ। सम्भवतः यो बैठकले पदाधिकारीको टुंगो लगाउने छ। यसपटक पनि वरिष्ठ उपाध्यक्ष र महासचिव पद विशेष चासोका साथ हेरिएको छ। महासचिवका लागि पुन र शर्मा नै सतहमा छन्। शर्मा अब महासचिवका लागि पूर्णरूपमा असफल भइसकेका छन्। प्रचण्डले जसलाई महासचिव चयन गर्छन्, ऊ नै माओवादी केन्द्रको आगामी नेतृत्व सम्हाल्ने तहमा पुग्ने छ।

अर्थमन्त्री हुँदा बदनामी कमाएका कारण प्रचण्ड शर्मादेखि खुसी छैनन्। नेकपाको शक्तिशाली सरकार भएको बेला जर्नादनले ओलीसँग सम्बन्ध सुधारेर पार्टीको महासचिव र गृहमन्त्रीको लागि सौदाबाजी गरेको जानकारी प्रचण्डलाई थियो। खाेजेजस्तै भए प्रचण्डलाई छोडेर ओलीको पक्षमा लाग्ने उनको योजना पार्टी फुटेका कारण सम्भव नभएपनि प्रचण्डले शर्माप्रति अविश्वास गर्दैआएका छन्। तर महासचिवका लागि उनले उग्रता प्रदर्शन गरिरहेका छन्। उनी प्राप्ती गर्ने दाउमा छन्।

माओवादी पटक–पटक सत्तामा पुग्यो। ०६२–६२ पछि सरकार वरिपरी नै छ। उनै 'शर्मा–पुन' पालैपालो सरकारमा पुगिरहेका छन्। प्रचण्डले दशकौंदेखि नेपाली राजनीतिको राजमार्गमा 'माओवादी रथ' हाँकिरहेका छन्।

प्रचण्डले माओवादी केन्द्रको नेतृत्व छोडेपछि पार्टी क–कसको पञ्जामा पर्ला? पछिल्लोपटक दोस्रो पुस्ताका नेताको मनमुटावले के–कति काम गर्ला? खासगरी यी दुई।

रोल्पाका वर्षमान। रूकुमका जनार्दन। भू–गोलसँगै राजनीतिक संस्कार पनि एकैखाले छ। रोल्पा–रूकुमलाई उनीहरू माओवादी 'किल्ला' कै रूपमा चिनाउन चाहन्छन्। तर प्रभाव खस्किँदो छ। यसपटकको स्थानीय निर्वाचनमा पुनभन्दा शर्मा थप कमजाेर देखिए। उनले गृहनगरमै पराजय भाेगे। आठबिसकोटमा पनि कांग्रेसले विजय हासिल गर्‍यो। 

रूकुममा कम्युनिष्ट पार्टी संस्थागत गर्न जनार्दनका बुबा स्कन्द शर्माको महत्वपूर्ण भूमिका मानिन्छ। सानै उमेरदेखि राजनीतिक संस्कारमा हुर्किएका उनी ०३४ सालदेखि कम्युनिष्ट आन्दोलनमा होमिएका हुन्। उनी जनमुक्ति सेना नेपालका चारजना डेपुटी कमाण्डरमध्ये एक हुन्।

२०४८ सालमा जनमोर्चा नेपालको तर्फबाट उम्मेदवारसमेत बने। उनी पार्टीको कुशल सङ्गठन मानिन्छन्। युद्धकालमा सेती–महाकाली केन्द्रीत संगठन विस्तार अभियानमा लागे।

रोल्पाका वर्षमान पञ्चायती कालमा बाम विद्यार्थी आन्दोलनबाट प्रभावित थिए। ०५२ साल फागुन १ गते होलेरी चौकी आक्रमण गरेर सशस्त्र संघर्षको औपचारिक राजनीतिक यात्रा आरम्भ थालेका हुन्। रोल्पाको निम्न मध्यम वर्गीय मगर परिवारमा जन्मिएका हुन्, उनी।

युद्धको बेला पूर्वाञ्चल र राजधानीमा संगठन विस्तारमा लागे। र, माओवादीभित्र 'स्पेस'को लडाइँमा रहेका शर्मा र पुन अध्यक्ष प्रचण्डको वारिपारिका दुई किनारा जस्तै बनेका छन्।

शक्तिका लागि आफैमा भिडिरहेका जर्नादन र वर्षामान मध्ये कसलाई पार्टी महासचिवको जिम्मेवारी देलान् भन्ने सर्वत्र चासो छ। यदि प्रचण्डको रोजाइँमा वर्षामान पुन परेभने जर्नादनको प्रभाव झनै खुम्चिने छ।

प्रकाशित मिति: : 2022-07-07 21:40:00

प्रतिकृया दिनुहोस्