के हो सिंगिङ बउल, किन गर्ने सिंगिङ थेरापी? (भिडियो)

ललितपुरका विश्व अवाले पेशाले एक थेरापिस्ट हुन्। त्यसैले उनी बिरामीहरुलाई थेरापी गराएरै निको बनाउँछन्।

‘पाटन सिंगिङ बउल थेरापी सेन्टर’ का सञ्चालक उनी ‘सिंगिङ बाउल’ को सहयोगले बिरामीलाई सन्चो बनाउँदै आइरहेका छन्।

उनी भन्छन्, ‘सिंगिङ बउल नेचुरल प्रोशेस हो। यसले बिरामीलाई निको बनाउन सकिन्छ। बरू औषधि खाँदा शरीरलाई साइड इफेट हुन्छ तर यसले केहीँ असर गर्दैन।’

विगतका दिनमा थेरापी सेन्टरमा काम गर्ने उनले उहीबेला थाहा पाएका थिए, सिंगिङ बउलबारे।

नयाँ कुरा थाहा पाएका उनी विस्तारै सिंगिङ बउलतर्फ आकर्षित हुन थाले। अनि आफूले गर्दैआएको कामलाई त्यागेर उनी सिंगिङ बउल थेरापिस्ट बने।

‘यो काम गर्नका लागि मैले ७ वर्षदेखि गरिरहेको कामलाई त्यागेँ’, उनले बिएल नेपाली सेवासँग कुराकानी गर्दै भने, ‘सिंगिङ बउल थेरापिस्ट हुनका लागि मैले विभिन्न ठाउँमा अध्ययन गरेँ। त्यसपछि यो काममा लाग्न थालेँ।’

दुई दशकदेखि सिंगिङ बउलले बिरामीको थेरापी गर्दै आएका उनले यसलाई बेच्ने पनि गरेका छन्। जसबापत उनी लाखौँ रूपैयाँ कमाउँछन्। 

उनीसँग सानो सिंगिङ बउलदेखि ठूला बउलहरू छन्। जसको मूल्य हजारदेखि लाखौँसम्म पर्ने उनी बताउँछन्। 

‘यो बउल किन्नका लागि सबैभन्दा सस्तो मूल्य पाँच हजार हो र सबैभन्दा महँगो मूल्य भनेको लाखाैँ हो’, सजाइएको बउललाई दखाउँदै उनले भने, ‘घरमै प्रयोग गर्नका लागि मानिसहरुले सिंगिङ बउललाई किन्ने गर्नुहुन्छ।’

सिंगिङ बउलले थेरापी गरिदिनका लागि उनी कहिले होटेल त कहिले घर-घर पुगिरहन्छन्। भन्छन्, ‘आधा घण्टा थेरापी गरेको दुई हजारदेखि पच्चीस सय रूपैयाँ लिने गरेको छु। आम्दानी ठिक्कै छ।’

सिंगिङ बउल भनेको के हो? 

उपचार गर्नका लागि प्रयोग गरिने ध्वनिलाई नै सिंगिङ बउल भनिन्छ। जसलाई छाला र काठले बजाइने गरिन्छ। हिमालय तिब्बतबाट आएको यो बउललाई सप्त धातुले बनाइने गरेको उनले बताए।

सिंगिङ बउल दुई प्रकारको हुने सुनाउँदै उनले भने, ‘एउटा बउल मेसिनबाट बनाइएको हुन्छ। अर्को बउल हातबाट बनाइन्छ।’ 

सुन, चादीँ, तामालगायत फलामको धातुले बनाइएकाे सिंगिङ बउल थेरापी गर्न लागि राम्राे हुने उनले बताए।

सिंगिङ बउलको विशेषता के छ?

सिंगिङ बउलको सहायताले तनाव, म्याइग्रेन, नकारात्मक सोच र जाेर्नीकाे दुखाइ मुक्त हुने विश्व बताउँछन्।

‘यसको ध्वनि शरीरभित्र गएर सबै तरङहरुलाई चलाख बनाउँछ, जसले अल्छिपना र नसकारात्मक सोचलाई हटाएर सकारात्मका साेच बढाउँछ।’ उनी भन्छन्।

१० औँ शब्तादीमा कुनै उपचार नहुने भएकाले सिंगिङ बउलको सहयोगले उपचार हुने गरेको उनको बुझाई छ। 

‘अहिले यो बउलबाट गरिने थेरापी उपचार चर्चित छ’ आफूले हजारौँको थेरापी उपचार गरिसकेको बताउँदै उनले भने, ‘मैले जतिको उपचार गरेँ, उहाँहरुबाट राम्रो प्रतिक्रिया पाएको छु। त्यही कुरामा म धेरै खुसी छु।’

त्यसैगरी उनले आफूसँग भएको ठूलो बउल देखाउँदै भने, ‘यो बउल पनि धातुहरुबाट बनेको हो। यो बउललाई पुरै शरीरको थेरापी गर्न प्रयोग गरिन्छ। जसबाट सकारात्मक ऊर्जा प्राप्त हुन्छ।’

हिलिङ वाटर

सप्त धातुहरुबाट बनेको बउलभित्र राखिएको पानीलाई हल्लाउनु नै हिलिङ वाटर हो। त्यही पानीको प्रयोग गरेर तनावबाट मुक्त हुन सकिने उनले बताए।

‘हिलिङ गरेको पानीले शरीरलाई स्वस्थ्य बनाउँछ’, हिलिङ वाटरलाई देखाउँदै उनले भने, ‘यसले आँखालगायत अनुहारलाई चम्किलो राख्ने भएकोले यसको प्रयोग गर्नु फाइदाजनक छ।’ 

कोरोना महामारीका कारण अस्तव्यस्त भएकाहरुलाई सिंगिङ बउलको आवश्यकता रहेको बताउँदै विश्वले भने, ‘मानिसलाई फुर्तिलो बनाउनका लागि सिंगिङ बउल जरुरी छ।’

प्रकाशित मिति: : 2022-07-11 22:00:00

प्रतिकृया दिनुहोस्