देवताहरूकाे संघर्षमा ‘थोर : लभ एण्ड थन्डर’

Image via Marvel Studios
Image via Marvel Studios

मार्बल कमिक्सको सुपरहिरो थोर चरित्र विशेष गरेर अंग्रेजी भाषी युवाहरुमा निकै लोकप्रिय छ। त्यसैको कथामा आधारित र मार्बल सिनेमेटिक युनिभर्सद्वारा निर्मित सिनेमा ‘थोर: लभ एण्ड थन्डर’ विश्वभर रिलिज भइरहेकाे छ। यो सिनेमामा थोर (क्रिस हेम्सवर्थ) एकपटक पुन: दर्शकहरुलाई खुसी बनाउन सफल छन्। र, उनको साथै जेन फोस्टर (नटालिया पोर्ट्म्यान) र खलनायक गोर (क्रिश्चियन बेल)ले पनि दर्शकको मन जित्न सफल छन्।

सिनेमाको कथाअनुसार थोर एउटा देवता हो तर गोर नामको पिशाचले सबै देवताको हत्या गर्न अघि सर्छ र केही देवताहरुको हत्या पनि गर्छ। यसपछि थोरले अर्को देवता ज्यूस (रसल क्रोय)सँग मिलेर गोरविरूद्ध लड्ने घोषणा गर्छ, जसलाई सबैले व्यंग गर्छन। तर, भलकेरी (टेसा थम्प्सन) ले भने थोरलाई साथ् दिने घोषणा गर्छिन्। के यिनीहरुले गोरलाई जित्न सक्छन ? थोर र गोर बिचको युद्धमा के कस्ता घटनाहरु घट्छन यो हेर्नलाई भने पूरै सिनेमा हेर्नुपर्छ।

कलाकारहरुको अभिनयको कुरा गर्दा सबै मुख्य कलाकारहरुको अभिनय उत्कृष्ट छ। जो त्यही कलाकारहरुको अभिनय क्षमताको साथै निर्देशक टाइका वाइटीटीको पनि क्षमता हो भन्नु पर्छ। निर्देशक वाइटीटीले यो सिनेमामा एक्सन र इमोसनको साथै कमेडीलाई पनि स्थान दिएको कारण दर्शकहरुले भरपुर मनोरञ्जन लिने कुरामा भने दुई मत छैन। थोर र जेनको प्रेम प्रसंगमा उत्तेजक दृश्य घुसाएर निर्देशकले सिनेमालाई निकै उत्तेजक बनाएका छन्। नायिकाको लामो–लामो नग्न दृशले कतै–कतै बिझाउँछ। एक्सन भने मार्बलको पुरानो सिनेमाहरुको जस्तो भव्य छैन। त्यसको कमजोरी स्टन्ट काेर्डिनेटर जेड अमाण्टेलाई जान्छ, बाँकी स्पेसल इफेक्ट, भ्युजल इफेक्ट र ध्वनि उत्कृष्ट छ।

समग्रमा सिनेमा हेर्नलायक भए पनि थोरको पहिलेका सिनेमा थोर (२०११), थोर: द डार्क वर्ल्ड (२०१३), गार्डियन्स अफ द ग्यालेक्सी (२०१४), गार्डियन्स अफ द ग्यालेक्सी भोल्युम टु (२०१७), थोर: रग्नारोक (२०१७), एभेन्जर्स: इन्फ़िनिटि वार (२०१८) र एभेन्जर्स: इन्डगेम (२०१९) हेर्न नपाएका दर्शकहरु भने सिनेमाको कथा र पात्रहरुको बारेमा अलमलमा पर्ने सम्भावना रहन्छ। अर्को शब्दमा भन्ने हो भने थोर चरित्रको पहिलेको सिनेमा नहेरेका र यो चरित्रको बारेमा जानकारी नभएका दर्शकहरुको लागि भने यो सिनेमा ‘अर्थ न बर्थ गोबिन्द गाई, कपाल दुखेको औषधि नाइटोमा लाई’ भने जस्तै हुने पक्का छ।

तपाईंको अंग्रेजी भाषामा दखल छ, सुपर हिरोको सिनेमा प्रिय लाग्छ र एक्सन सिनेमा हेर्न मन छ भने यो सिनेमा अवश्य हेर्नुहोला तर यी तिनै कुरामा तपाईंमा कमी छ भने यो सिनेमा हेर्नु समय र पैसा को बर्बादी मात्र हो।

प्रकाशित मिति: : 2022-07-13 20:55:00

प्रतिकृया दिनुहोस्