आफ्नै बुबाको हत्यारालाई अमेरिकी गुप्तचर संस्थाले दिएकाे गाेप्य मिसनमा ‘द ग्रे म्यान’

Breaknlinks
Breaknlinks

प्रसिद्ध उपन्यासकार मार्क ग्रिएनीको चर्चित उपन्यास 'द ग्रे म्यान' मा आधारित ओटीटी प्लेटफर्म नेटफ्लिक्सद्वारा निर्मित र करिब दुई सय मिलियन अमेरिकी डलरको बजेटमा निर्मित 'द ग्रे म्यान' शुक्रबार (२२ जुलाई) मा सिनेमा हल र सोमबार (२५ जुलाई) ओटीटीमा रिलिज गरिएको छ।

यो सिनेमाको सबैभन्दा ठुलो चुनौती उपन्यासकार ग्रिएनीको भावनालाई निर्देशकद्वय एन्थोनी रुसो र जो रुसोले न्याय गर्न सकेका छन् कि छैनन् भन्ने हो। स्मरण रहोस्, चर्चित पुस्तकमा आधारित रहेर निर्माण भएका सिनेमाहरुमध्ये अपवादलाई छोडेर लगभग सबै 'सुपर फ्लप' भएको इतिहास छ।

सिनेमाको कथा असल (ह्वाइट) र खराब (ब्ल्याक) को बीच खैरो (ग्रे) पृष्ठभूमिमा आधारित छ। आफ्नै पिताको हत्याको सजाय भोगिरहेका कोर्ट जेण्ट्री (र्यान गोस्लिङ्ग) को असल चालचलन देखेर अमेरिकी गुप्तचर संस्था (सीआइए) ले एउटा गोप्य काममा उसलाई पठाउने निर्णय गर्छ र त्यो कामको लागि उसलाई 'सिक्स' भन्ने नाम दिइन्छ। यो अभियानमा उनलाई डोनाल्ड फ्रिट्स (बिल्ली थ्राटन) को साथ र सहयोग छ।

सिक्स र फ्रिट्सको बीच बाउ-छोराको जस्तो आत्मीय सम्बन्ध छ र उनीहरु आफ्नो काममा दत्तचित्त भएर लागेका छन्। यसैबीच सिक्सलाई सीआइएका प्रमुखले देशको विरुद्ध गद्दारी गर्न लागेको शंका हुन्छ। उनको भेट एउटा खतरनाक र मानसिक रोगी अपराधी लोयड हेन्सन (क्रिस इवान्स) सँग हुन्छ। हेन्सन आफ्ना गुन्डाहरुको सहयोगमा अनेक अपराध गर्छ र उसको सम्बन्ध सीआइए प्रमुखसँग पनि छ।

सिनेमामा सिक्स र हेन्सनको बीच अनेक सङ्घर्ष देखाइएको छ। यो सङ्घर्षमा कसको जित हुन्छ, यसको लागि भने सिनेमा नै हेर्नुपर्ने हुन्छ। सिनेमामा कथालाई अगाडि बढाउन स्पेनिस नायिका एना डि अरमास (दानी मिरन्दा) र कोलाबरी डि गितका गायक भारतीय अभिनेता धनुस (अभिक सेन) जस्ता कलाकारहरुलाई पनि अभिनय गराइएको छ। यसको साथै अन्य ५० सह-कलाकार पनि छन्, जसले विभिन्न सानो-सानो चरित्रमा अभिनय गरेका छन्।

अभिनयको प्रसंगमा सबै प्रमुख पात्रको अभिनय उत्कृष्ट छ, त्यसमा पनि 'ला ला ल्याण्ड' र 'हाफ नेल्सन' मा पनि उत्कृष्ट अभिनयको दुई पटक ओस्कार पुरस्कार प्राप्त गर्न सफल र्यान गोस्लिङ्ग र क्रिस इवान्सको अभिनयको तारिफ गर्न कुनै कन्जुस्याइँ गर्नु पर्दैन।

नायिका एना डि अरमासको अभिनयको साथै स्टन्ट पनि लोभलाग्दो छ। सानो भूमिकामा देखिएका भारतीय कलाकार धनुस भारतमा जतिसुकै ठुलो कलाकार भए पनि उनी हलिउडको सिनेमामा केवल 'एक्स्ट्रा' जस्तै हुन्। अन्य कलाकारहरु आफ्नो-आफ्नो भूमिकामा सामान्य छन्।

सिनेमाको कथाको साथै पटकथा पनि उत्कृष्ट छ, जसलाई निर्देशकमध्येका एक जो रुसोले क्रिस्टोफर मारकस र स्टीफन मेकफीलीसँग मिलेर लेखेका छन्।

सिनेमाको सबैभन्दा सबल पक्ष भनेको जिउ सिरिङ्ग पार्ने स्टन्ट हो। जेम्स योङ्गले आफ्ना एक सय पचास स्टन्ट म्यानहरुको सहयोगमा बिना कुनै बडी डब्बल (कलाकारको जस्तै लुगा लगाएर स्टन्ट दिने) को सहयोगमा कलाकारहरुबाटै डरलाग्दो स्टन्ट लिएका छन्, जसलाई हेर्दा आनन्द आउँछ। दौडिरहेको रेलमा भएको द्वन्द र कुकुरको अभिनय पनि हेर्न लायक छ। हेनरी ज्याक्म्यानको सङ्गीत र स्टेफन डि विण्डनको छायाँकन पनि तारिफयोग्य छ। समग्रमा निर्देशकद्वय रुसोले एउटा मनोरञ्जनात्मक सिनेमाको निर्माण गरेका छन्।

एक्सन सिनेमा हेर्न मन पराउने दर्शकले यो सिनेमा अवश्य हेर्नुहोला। तर जो दर्शकलाई मारपिटको कथा भएको सिनेमा मन पर्दैन त्यस्ता दर्शकहरुले यो सिनेमा नहेर्दा पनि हुन्छ।

प्रकाशित मिति: : 2022-07-26 20:10:00

प्रतिकृया दिनुहोस्