अस्तव्यस्त पार्किङ र छाडा चौपायाले कुरुप बन्याे विराटनगर, बढ्याे दुर्घटनाको जोखिम

प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकामा व्यवस्थित पार्किङ छैन। अस्तव्यस्त पार्किङले सहर कुरूप बनेकाे र दुर्घटना निम्त्याउने खतरा बढेको स्थानीयहरु बताउँछन्।

विराटनगरमा अव्यवस्थित पार्किङका कारण आवतजावतमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढ्दै गएको छ। बजारका भित्री सकड साँघुरो भएका कारण व्यवस्थित पार्किङ छैन।

पार्किङकै कारण स्थानीयलाई हिँडडुल गर्न पनि अप्ठ्यारो हुने गरेको छ। अव्यवस्थित सहर अनि जथाभावी पार्किङले सहरको सौन्दर्य पनि हराउँदै जान थालेको छ। सहर भित्रका सडक, फुटपाथ, खुलास्थानमा जताततै पार्किङ गरेको देखिन्छ।

अव्यवस्थित पार्किङको कुरामा स्थानीय तह र ट्राफिक प्रहरी गम्भीर नदेखिएकाे स्थानीयकाे गुनासाे छ। बढ्दो सवारी साधनको चापले निम्त्याउने सवारी दुर्घटनालाई कम गर्न सम्बन्धित स्थानीय तह र ट्राफिक प्रहरीको विशेष भूमिका आवश्यक रहेकाे उनीहरू बताउँछन्।

अव्यवस्तिथत पार्किङले सवारी दुर्घटना बढ्ने मात्रै होइन सडक पेटीमा हिँडडुल गर्ने अधिकांश व्यक्तिहरुलाई सास्ती छ। व्यस्त सडकका छेउमा पार्किङ गरिएका सवारी साधनको मारमा दिन प्रतिदिन जनता परिरहेका छन्।

प्रभावकारी रुपमा महानगरले सवारी साधन पार्किङको व्यवस्था नगर्दा आफूहरुले सडक पेटीको छेउमा पार्किङ गर्न बाध्य भएको सवारी चालकहरुको भनाइ। तीन पाङ्ग्रे सवारी साधनको चाप अत्याधिक भएकाले पार्किङमा समस्या भएको स्थानीय उमेश मास्केले बताए। सम्बन्धित निकाय मौन बस्दा समस्या बढ्दै गएको उनी बताउँछन्।

सानो ढुवानी गाडी चालक संजिव यादवले सवारी पार्किङको निश्चित स्थान तोकिएको भए आफूहरुले बिच बाटोमा गाडीहरु पार्किङ गर्नुपर्ने बाध्यता नआउने बताए। सम्बन्धित पक्षले योजना बनाएर पार्किङको समस्या हल गर्नुपर्ने उनकाे भनाइ छ।

विराटनगरका स्थानीय प्रविन दासले सिटी रिक्साका लागि महानगरले नीति निर्माण गरेर व्यवस्थित बनाउनुपर्ने बताए। ‘पार्किङको कुरा त लथालिङ्ग छँदैछ,’ उनी भन्छन्, ‘सिटी रिक्साले अत्याधिक जाम गर्छ। अब सिटी रिक्सालाई लाइसेन्सको दायरामा ल्याउनुपर्छ।’ सडक संरक्षणमा महानगर उदासिन देखिएको उनको आरोप छ।

व्यवस्थित पार्किङका कारण आवातजावात गर्ने पैदल यात्रुलाई समेत समस्या बनाएको छ। त्यस्तै सडकमा गुड्ने सवारी साधनलाई समेत अवरोध सिर्जना हुने गरको छ। जिल्ला ट्राफिक प्रहरीले व्यवस्थित पार्किङ नहुँदा कडाइ गर्न समस्या भएको बताएको छ।

छाडा पशु चौपायाको समस्या

विराटनगरको अर्को समस्या हो, छाडा पशु चौपाया। सकडमा छाडा छोडिएका पशु चौपायाले सहरको सौन्दर्यतामा ह्रास ल्याउनुका साथै दुर्घटनाको जोखिम पनि बढाएको छ।

चौपायाको रेखदेख गर्ने कोही नहुँदा सडकको बीचमा बसेका चौपायालाई जोगाएर सवारी चलाउन चालकलाई निकै गाह्रो हुने गरेको विराटनगर-३ का कैलाश चापागाईंले बताए।

महानगरले छाडा पशु चौपायाको दीर्घकालीन योजना बनाएर व्यवस्थापन गर्नुपर्ने उनले बताए। नगर क्षेत्रभित्र खुल्ला छाडिएका चौपायाका कारण दुर्घटनाको उच्च जोखिमका साथै नगरको सौन्दर्यतासमेत घट्दै गएको चापागाईंको भनाइ छ।

खुल्ला छाडिएका चौपायाको व्यवस्थापनमा ध्यान नदिँदा सडकमा फोहोर हुनुका साथै दुर्घटनाको सम्भावना बढ्दै गएको स्थानीय बताउँछन्। 

प्रकाशित मिति: : 2022-07-28 12:13:00

प्रतिकृया दिनुहोस्