हल नभएका जिल्लामा गरिएकाे 'प्रकाश'काे च्यारिटी शाेबाट जुम्लामा थिएटर निर्माण हुने

जुम्लाकाे पातारासी गाउँपालिका तिर्खु गाउँमा छायांकन भएको चलचित्र 'प्रकाश' काे कर्णालीका हल नभएका जिल्लामा च्यारिटी शाे गरिने भएकाे छ। उक्त च्यारिटी शाेबाट उठेकाे रकमले जुम्लामा थियटर निर्माण गर्ने तयारी गरिएकाे हाे।

कर्णाली प्रदेशका हल नभएका नाै वटा जिल्लामा गरिने च्यारिटी शाेबाट जुम्लामा थिएटर निर्माण गरिने चलचित्र 'प्रकाश' का कलाकार तथा लाेकल म्यानेजमेन्ट टिमका संयाेजक गाेबिन्द सुनारले बताए।

'कर्णालीमा सुर्खेतबाहेक अन्य जिल्लामा फिल्म हलहरु छैनन्। ती सबै जिल्लामा हामीले प्रकाशकाे च्यारिटी शाे गर्ने तयारी गरेका छाैं,' उनले भने, 'चलचित्र प्रदर्शनबाट प्राप्त भएकाे आधा आम्दानी हाम्राे हुनेछ। जसले जुम्लामा थिएटर निर्माण गरिनेछ।'

चलचित्र प्रकाश टिमले कर्णालीका कलाकारलाई स्थापित गर्न र नाटकमार्फत संस्कृतिकाे संरक्षण गर्न थिएटर जरुरी रहेकाे निष्कर्ष निकालेकाे सुनारले थपे।

जुम्लाकाे चाैधबीस क्षेत्रकाे कला, संस्कृति झल्किने गरि निर्माण गरिएकाे चलचित्रले शिक्षा क्षेत्रका जल्दाबल्दा समस्या उठान गरेकाे छ। आगामी दिनमा पनि कर्णालीकाे कला संस्कृतिकाे प्रवर्द्धनका निम्ति थिएटर जरुरी भएकाे प्रकाशका प्राेडुसर महेन्द्र कार्कीले बताए।

'हामीले कतिपय विषयकाे उठान गर्न सके पनि कर्णालीका सबै प्रथा परम्परा, चालचलन, रहनसहन र सबै प्रकारका समस्या उठान गर्न सकेका छैनौं,' उनले भने, 'तर कर्णाली यस्ता चालचलन र रितिथितिकाे खानी नै हाे। आगामी दिनमा यस्ता कुरा बिम्बात्मक रुपमा देखाउनकाे लागि थिएटर जरुरी छ।'

त्यसकारण पनि कर्णालीमा गरिएकाे च्यारीटी शाेमार्फत संकलित आम्दानीकाे आधा रकम जुम्लामा थिएटर निर्माणका लागि छुट्टयाइने भएकाे उनले थपे।

जुम्लामा सार्वजनिक प्रयाेजनका निम्ति निर्माण गरिएका हलहरुका झ्यालढाेका थुनेर थिएटरकाे अभ्यास गर्दा जुम्ली दर्शकले अत्यधिक रुचाएकाे हुनाले पनि कर्णालीमा थिएटर निर्माण गर्न जरुरी रहेकाे कलाकार धनराज सुनारले बताए।

'हामीले थियटर निर्माण गरिदिनुपर्‍यो र जग्गा उपलब्ध गराइदिनुपर्‍यो भनेर हात पसार्न बाँकी ठाउँ र निकाय बाँकी छैन,' उनले भने, 'कतैबाट सहयाेग पाएका थिएनौं। प्रकाश फिल्म टिमले हाम्राे पीडा बुझेकाे छ। हामी अब कर्णालीका सबै जिल्लामा देखाउनेछाैं।'

कर्णालीका सबै जिल्लाका दर्शकले हेर्नू नै चलचित्रकाे सफलता भएकाे निर्देशक दिनेश रावतले बताए। 'चलचित्रको प्रभावले ग्रामिण क्षेत्रका कलाकारलाई हाैसला प्रदान गर्नेछ। त्याे प्रस्तुत गर्ने माध्यम थिएटर हाे,' उनले भने, 'हामीलाई कर्णालीकाे कथाले उत्साहित बनायाे। यस्ता कयौं कथाहरु कर्णालीका दर्शकले फिल्म हल र थिएटर मार्फत हेर्न पाउन भन्ने हाम्राे मनसाय हाे।'

प्रकाश भदौ १० गतेबाट देशभर प्रदर्शन भइरहेको छ। भदाै २८ गतेबाट यसकाे च्यारीटी शाे जुम्लामा हुन लागेको कलाकार धनराज सुनारले बताए।

'आगामी भदौ २८ गतेबाट दिनमा तीन वटा शो चलाउने तयारी गरेका छाैं,' स्थानीय व्यवस्थापक समेत रहेका उनले भने, 'भदौ २८ गतेबाट चल्ने च्यारिटी शाेका लागि टिकट शुल्क पाँच सय र तीन ताेकिएकाे छ भने विद्यार्थीलाई २ सय लाग्नेछ।'

जुम्लामा चलत्रिच प्रदर्शनको सबै व्यवस्थापन 'जागौं कर्णाली' जुम्लाले गर्नेछ। उसले कमाएकाे आधा हिस्सा थिएटरका लागि लगाइनेछ। उनले थिएटर निर्माणका लागि चन्दननाथ गुठीकाे जग्गा भाडामा दिन समितिलाई बारम्बार अनुराेध गरिएकाे बताए।

हालकाे चन्दननाथ भैरवनाथ गुठीकाे समितिमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने पूर्णसिंह कठायत रहेकाे हुनाले पार्टीका केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाहीमार्फत जग्गा उपलब्ध गराइदिन सहयोग मागेकाे कलाकार गाेविन्द सुनारे बताए।

उनले भने, 'ज्ञानेन्द्र शाहीले जसरी भएपनि जग्गाकाे लागि पहल गर्ने बचन दिनुभएकाे छ। यस अघि धेरै पटक जग्गाकाे लागि कुरा गरेका थियाैं तर प्राप्त गर्न सकेका छैनौं।'

कर्णालीमा थियटर निर्माण भएकाे खण्डमा नाटक निर्माण गर्न, प्रदर्शन गर्न, फिल्म प्रदर्शनी गर्न समस्या नआउने निर्देशक राउतले बताए।

'जुम्लामा थिएटर भएको भए कुनै पनि नयाँ चलचित्र हेर्नका लागि युट्युब कुर्नुपर्ने अवस्था आउँदैनथ्याे,' उनले भने, 'थिएटर भएकाे खण्डमा चाहेका चलचित्र प्रदर्शनी गर्न सकिन्छ।'

झण्डै २ घण्टा समय अवधिकाे चलचित्र प्रकाश ४५ दिन लगाएर चाैधबीस क्षेत्रकाे तिर्खु गाउँमा छायाँकन गरिएको थियो। चलचित्र प्रकाश प्रर्दशनमा नआउँदै ७५ प्रतिशत लगानी सुरक्षित भएको चलचित्र निर्माताको दाबी छ।

जुम्लाकै एक युवकले शिक्षक बन्न गरेको संघर्ष, पक्षपाती शिक्षा संयन्त्र, चाैधबीसकाे भाषा, संस्कृति, हुदाँ खाने र हुनेखानेबीचको भेदभावलगायत विषयलाई चलचित्रले केन्द्र बनाएकाे लेकख विकास सुवेदीले बताए।

चलचित्रमा ६० प्रतिशत जुम्लाका स्थानीय कलाकारले अभिनय गरेका छन्। जसमा कलाकार गोविन्द सुनार, धनराज सुनार, पुर्ण प्रसाद चौलागाई, राजकली महत, रतन नेपाली लगायत स्थानीयकाे अभिनय देखिन्छ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन्।

राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत रहेको चलचित्रमा उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत छ। 

प्रकाशित मिति: : 2022-09-06 13:46:00

प्रतिकृया दिनुहोस्