बलात्कार घटना : पीडितलाई झन् पीडित बनाउँदै सामाजिक सञ्जाल

BreaknLinks
BreaknLinks

‘केटाहरु हो, एकजना सरको चर्तिकला हेर्नु। अब फलानो-फलानो केटीसंग गएर माया गरेझैँ गरेर मुसार्छन्’ सहपाठीले सबैको बीचमा गएर सूचना दियो। कतिले वास्ता गरे, कतिले गरेनन्। तर मैले चाहिँ उसको कुरा कत्तिको सत्य रहेछ भनेर हेरिरहेँ। उसले भनेको दिनमा त्यस्तो केही देखिएन, तर दुई दिनपछि ऊ गलत रैनछ भन्ने प्रष्ट भयो। विगतमा अहिलेको जस्तो स्थिति हुन्थ्यो भने सायद उनलाई आफ्नै विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लाग्न सक्थ्यो र उनी जेल चलानसम्म हुन सक्थे।

गायक शिव परियारले फेसबुकमा बलात्कारका विषयमा विचार व्यक्त गर्ने क्रममा '‘पेशेवर पीडित’ लगायत अन्य शब्दहरू लेखेपछि उनी विवादमा परे। हजारौं प्रतिक्रियाहरु उनीविरुद्ध खनिए। धेरैले उनको विरुद्धमा स्टाटस लेख्न भ्याए, ट्वीट गरे, टिकटक बनाए। कसैले उनलाई जातीय आरोप लगाउनसम्म पछि परेनन्।

त्यस्तै गरेर सामाजिक सञ्जालमा एक व्यक्ति लेख्छन्, ‘बलात्कार हो भने तत्काल प्रतिवाद गर्नुपर्छ, महिनौंसम्म मोज अनि पैसामा कुरा मिल्दैन अनि बलात्कार! वेश्याहरु।’ उनले जस्तै धेरैले पीडित भनिएका नाबालिगलाई ‘वेश्या’ को उपनाम दिने, तथानाम गाली गर्न पछि परेका छैनन्।

माथिको सुरुको प्रसङ्ग केही वर्ष अगाडिको भएपनि सञ्चारको न्यून प्रयोग तथा सामाजिक सञ्जालको सुरुवात नै नभएको हुँदा अहिले जस्तो व्यापकता हुने कुरै थिएन। यस्ता कृत्यविरुद्ध बोल्ने आँट कमैमा नै हुन्थ्यो। यदि हुन्थ्यो भने शिव परियार जस्तै गाली खानु पर्यो वा सामाजिक सञ्जालमा ‘वेश्या’ को उपनामले चिनिनु पर्थ्यो।

पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै विकृति पनि बढाएको छ। याैन दुर्व्यवहारमा परेकी गायिका समीक्षा अधिकारीलाई सञ्जालमा तथानाम गाली गर्नेको संख्या उलेख्य देखिन्थ्यो। उनलाई ‘वेश्या’ जस्तो उपनाम दिन प्रयोगकर्ता लाज नमानी लागिपरे। बीचमा अर्को केस आइपर्यो, त्यसमा पनि सोही किसिमका प्रतिक्रिया आए। अहिले क्रिकेटर सन्दिप लामिछानेबाट पीडित भनिएकी नाबालिगलाई पनि अपशब्द बोल्ने, अपाच्य आरोप लगाउनेहरुको कमी छैन। जुन हाम्रो समाज कता जाँदैछ, हामी कता जाँदैछौं? भन्नेमा गम्भीर प्रश्न उठेको छ।

अब अर्को प्रसंगको कुरा गरौं, केही समय अगाडि पंक्तिकार नेपाल पारिवारिक भेटघाटका लागि जाँदा बुटवलमा राम्रै घुम्ने मौका मिलेको थियो। उच्च शिक्षासँगै पत्रकारिताको सुरुवात गरेको सहरसंग विगतमा धेरै परिचित थिए। तर सहरको स्वरूपसँगै धेरै कुराहरुको परिवर्तन भइसकेको रहेछ। साथी प्रितम, पुनाराम र म एउटा चिया पसलमा छिर्यौँ। उनीहरू मेरा स्कुलदेखिका मित्र थिए। चिया पसलमा पस्यौं, चिया पियौं तर त्यहाँ भित्रको दृश्य अचम्मित थियो। १८ वर्ष नटेकेका युवायुवतीहरु यौनजन्य क्रियाकलापमा मस्त देखिन्थे। एकअर्कालाई अँगालो हाल्ने, चुम्बन गर्ने जस्ता क्रियाकलाप देखिन्थे। उनीहरूका लबाइ पनि उस्तै देखिन्थ्यो।

देशमा करणीसम्बन्धी घटना बढ्नुमा पनि बुटवल सहरमा देखिएको जस्तै गतिविधि प्रमुख कारण नै देखिन्छ। क्रिकेटर सन्दिप लामिछानेको केस हेर्दा पनि पीडित युवती दिनभर सन्दिपसंग घुमेर साँझ होटल गएको प्रहरीको अनुसन्धानमा देखिएको छ। अनुसन्धानको रिपोर्ट मिडियामा सार्वजनिक भएलगत्तै ‘अहिले किन तत्काल केस नगरेको? किन घुम्न गएको? आफ्नो विद्यार्थी राति अबेरसम्म नआउँदा होस्टेलले किन खोजी गरेन?’ आदि इत्यादि प्रश्न स्वयं पीडितलाई सामाजिक सञ्जालमा प्रयोगकर्ताले गरेका छन्। प्रश्न उठ्नु पनि जायज हो। धेरैले सन्दिपलाई फसाउन खोजेको निष्कर्ष पनि दिएका छन्। प्रतिक्रिया दिने सबै गलत वा सही छन् बेग्लै कुरा हो तर केही हदसम्म उठेका कुरा नाजायज भन्न पनि सकिँदैन।

यसै विषयमा त्रिचन्द्र कलेजकी लेक्चर निर्मला ढकाल प्रश्न गर्छिन्, ‘सामाजिक सञ्जालमै पीडकलाई गर्ने ढाकछोप र पीडितमाथि ओहिरिने आरोपले मै त डिप्रेसनमा जान्छु जस्तो भो, घरमा छोरी हुने बाउआमालाई कस्तो हुन्छ होला? हुन त मेरा सन्तान त संस्कारी छन् भन्ने बाउआमाको कमी छैन तर नाबालिगको मस्तिष्कमा खेल्न सहजै सक्छन् भन्ने सोच कहिले आउने?’

त्यस्तै गरेर ज्वाला संग्रौला लेख्छिन्, ‘कलेज पढ्ने उमेरका किशोरीहरु अलि चर्चित र पैसावाल युवा देखेपछि म तिम्रो फ्यान हुँ है भन्दै फोटो पठाउने, भेटघाट गर्ने, गाडीमा घुम्ने, होटल रेस्टुरेन्टमा मन परेको अर्डर गरीगरी खाने, साँझ घर नफर्कने, बेलुका एउटै रुममा सुत्ने अनि केही दिन सोचविचार गरेर बलात्कारको मुद्दा हाल्ने! अब बलात्कारसम्बन्धी कानुन संशाेधन हुनुपर्छ र केटाकेटी दुबैलाई सजाय गरिनुपर्छ, यस्ता मन मिलेर घुमेर, डुलेर लास्टमा हा हा र हु हु गर्दै प्रहरी गुहार्नेहरुलाई चाहिँ! दुबै दोषी हुन् यो काण्डमा! उमेरको हद देखाएर केटालाई मात्रै एकतर्फी पीडित बनाउनु ,जेल हाल्नु र ठूलो रकम तिराउनु कानुनको हाँगामा टेकेर गरिने जघन्य अपराध हो!’

आफ्ना बढ्दो उमेरका सन्तानहरूलाई अभिभावकले विशेष ध्यान दिनुपर्ने देखिन्छ। समयको मागअनुरुप भन्दै खुल्ला छोडिदिँदा कतै बलात्कार वा यौन हिंसा वा यौन दुर्व्यवहारमा पर्ने गरेका त छैनन्? यसबारे सबैले सोच्नुपर्ने बेला भएको छ। पछिल्लो समय युवायुवती दुवै पीडित देखिन्छन्। १८ वर्षभन्दा कम उमेरका आफ्ना सन्तानहरूको हरेक क्रियाकलापमा अभिभावकले ख्याल नगर्दा पनि घटना घटिरहेका छन्। यसको जिम्मेवारी हरेक अभिभावकले पनि लिनु जरुरी देखिन्छ।

कुनै पनि बलात्कार केसमा सामाजिक सञ्जालमा पीडित नाबालिकालाई विभिन्न गाली गर्नु, अपशब्द बोल्नु, लेख्नु अगाडि एकपटक सोचौँ। आफ्नै घरमा रहेका छोरी-चेलीलाई हेरौं। उक्त शब्दहरूको अर्थ आफ्नै आमा, दिदीबहिनी, फुपूहरुलाई सोधौँ। के तपाईं आफ्नै परिवारका महिला सदस्यलाई सोही अपच शब्द प्रयोग गर्न सक्नुहुन्छ? सोही वेश्या उपनाम दिन सक्नुहुन्छ? त्यो लेख्दा पक्का पनि तपाईंका हात काँप्नेछन्, आफैँलाई लज्जित अनुभूति गर्नु हुनेछ। हो, त्यसै गरेर कोही चेलीबेटीलाई सोही सम्मान दिनुस्। सामाजिक सञ्जालमा छाडा नबनौं। सतर्क बनौँ।

प्रकाशित मिति: : 2022-09-12 09:30:00

प्रतिकृया दिनुहोस्