जब तिम्राे सिउँदोमा सिन्दुर देखेँ...

BreaknLinks
BreaknLinks

झन्डै ६ वर्षपछि तिम्रो नाम फेसबुकको सर्च बक्समा गएर टाइप गरेँ। तिम्रो नामका केही केटी मान्छेको प्रोफाइल लिस्ट पठायो फेसबुकले। मैले ती लिस्टमा स्क्रोल डाउन गर्दै तिमिलाई खोज्न थालेँ। एकछिनपछि एउटा प्रोफाइलमा गएर आँखा अड्डियो।

मैले प्रोफाइल खोलेँ, सिधै प्रोफाइल फोटोमा क्लिक गरेँ। तिमीलाई चिनिहालेँ। धपक्क बलेको गोरो अनुहार, सपक्क पारी लगाएको रातो सारी, एकजोर गाजलु आँखाहरु, कालो बादलरुपी केश, गालामा मिलेर बसेको कालो कोठी सप्पै उस्तै। तर मैले निधारको माथिल्लो भागमा रहेको खत खोजेँ, देखिनँ।

फोटोलाई जुम गरेँ, ए ए! खतलाई सिन्दुरले छोपेकी रैछेउ। अब बल्ल म वास्तविकताको धरातलमा ओर्लिन थालेँ। तिम्रो सिउँदोको सिन्दुर, रातो सारी, हातमा लगाएका राता चुरा र कङ्गना, गलाको पोते। फेरि अलिकति मन अमिलो भयो।

सिउँदोको सिन्दुर अरु कसैको नामको भएपनि तिम्रो सिउँदोको खत छोपेको रैछ, खुसी लाग्यो। एक जोडी चम्किरहने आँखाहरुलाई आज पनि गाजलले सिङ्गारेको देखेँ। तर तिम्रो आँखामा त्यो चमकता देखिनँ मैले। आँखाहरु शिथिल देखिन्थे। लोलाएका, टोलाएका एकजोर आँखा फाल्गुनमा फुङ्ग उडेको खर जस्तै, न रङ्ग न रस। तैपनि गाजल लगाउन छाडिनछेउ।

‘मलाई तिम्रो आँखामा गाजल मनपर्छ, मलाई मेरी आमाको आँखामा काजल मनपर्छ, मलाई संसारको सबै स्त्री जातिले गाजल लगाएको मनपर्छ’ के मैले भनेको यो कुरा अझै याद गरेकी हौली र तिम्ले?

यी कुराले फ्लास ब्याकमा पुर्याइदिन्छ मलाई। पहिलोचोटी भेट हुँदा हामी भर्भराउँदो बैँसमा थियौँ। अझ मेरो त झन् अल्लारे बैँस थियो क्यारे। राम्री लाग्नु पहिलो नजरमै होला, तर मन पर्नको लागि भने मलाई पनि एक हप्ता लाग्यो। तिम्रो स्वभाव, बानी, बोली बचन, अझ भनौँ तिमीभित्र लुकेको रहस्यमय अँध्यारो।

तिम्रा हरेक दिन लेखिने कविताहरुमा मैले मेरो आमाको दुख, पीडा भेटाएँ। जुनकुराले तिमीप्रतिको श्रदाको भाव झनै चुलिएर गयो। तिमीले कहिले पनि युवायुवतीको प्रेम रसका कविता कहिले कोरिनौ। कोही मान्छे यो उमेरमा यति बिघ्न जिम्मेवार र अनुभवी कसरी हुन सक्छ? मैले आफैँलाई सोधिरहेँ यो प्रश्न। खासमा म तिम्रो फ्यान थिएँ।

एउटा फ्यानको तर्फबाट मैले तिमीलाई कविता चढाएँ, तिम्रो नाउँमा। जहाँ मेरो घुमाउरो प्रेम प्रस्तावलाई तिम्ले अर्को एक हप्ता लत्याइदियौ। मैले प्रश्न गरिराखेँ, तिम्ले जवाफ दिइराख्यौ। खै कसरी तिमी मेरो प्रेममा पर्यौ? विस्तारै एककान दुईकान मैदान हुँदै तिम्रो मेरो प्रेमको हल्ला चल्न थालिहाल्यो। कसैले कुभलो चिताएनन्, तिम्रो र मेरो सम्बन्धलाई।

तिम्रो कभर फोटो खोलेर हेरेँ। एउटा सानो बच्चा हातमा खेलौना गाडी लिएर उभिरहेको रैछ। उसलाई पनि मैले एकछिनसम्म हेरेँ, फुच्छे त आमा जस्तै छ। आँखा, कपालको रङ्ग, ओठ, नाक सप्पै उस्तै। अझ सबैभन्दा त तिम्रो जस्तै एकजोर चम्किला आँखाहरु।

तिम्लाई भुल्ने बहानामा मैले आफैँलाई बिर्सिंदै गएछु। मैले कोठामा ऐना राख्दिनँ, किनकि मैले झुटो मुस्कान बाँड्न सिकिसकेँ। मैले मेरो स्वास्थ्यलाई नि खराब बनाएँ, तर सराब पिएर होइन। मेरो पेटमा भएको सर्लक्क मिलेको सिक्स प्याक अहिले छैन मसङ्ग। तिम्ले दिएको औँठी हराएदेखि मेरो हातको औँलाहरुले औँठी लगाउन भुलिसके।

प्रकाशित मिति: : 2022-09-11 18:00:00

प्रतिकृया दिनुहोस्

    ओख्खो रबिन बड्डा खुशि लाग्यो यार तिम्रो प्रगति देखेर । लेख राम्रो छ ।

    • एक बर्ष अगाडि
    • GS Kshetri