ध्रुब बस्याल
हिजो देशमा भएको व्यस्था र आज चलिरहेको वर्तमान राजनैतिक परिवेश निकै भिन्न देखिन्छ। अहिले जनताको जनप्रतिनिधि बनेर शासन सत्ता हात पार्नका लागि राजनीतिक दलदेखि स्वतन्त्र भनिएकाहरूको दौडधुप निकै छ।
यस्तै राज्य व्यवस्था र देशकाे वर्तमान राजनीतिक परिवेशमा रहेर बनेकाे नाटक हो, ‘असुर’। ‘असुर’ ले त्यही राजनीतिलाई भर्याङ बनाएर आफ्नो शक्ति प्रदर्शन गरिरहेका असुररूपी शासकको चरित्र प्रस्तुत गरेको छ।
नाटकमा मूलतः समकालीन शासन र सत्ताको चरित्र देखाइएको छ। मुलुकमा ठूला–ठूला राजनीतिक परिवर्तनबाट शासकका रूपमा उदाएकाहरू शासनको बागडोर हात पर्नेबित्तिकै कसरी सर्वहारा वर्गको सपनालाई कुल्चन्छन् भन्ने यथार्थलाई नाटकमार्फत प्रस्तुत गरिएकाे छ।
रवीन दोङको लेखन र विवेक न्यौपाने (घने) को निर्देशनमा बनेको नाटकमा शासक र शासित दुई वर्गहरू रहेको छ। व्यवस्था परिवर्तन भइरहँदै गर्दा शासकको शासनमा कसरी शाेषित वर्गका सपना, स्वतन्त्रता र वास्तविक जीवनका लय भत्किन्छन् भन्ने तीतो सत्यलाई प्रस्तुत गरिएको छ। युग फेरियो, जुग फेरियो, फेरिएन मान्छेको रूप भन्ने कुरा नाटकमा स्पष्ट देख्न सकिन्छ।
जुद्धप्रसाद र नरेन्द्रहरूले शासक वर्ग र भिउसेन, कलावती, चन्द्रे जस्ता पात्रले सर्वहारा वर्गको प्रतिनिधित्व गरेका छन्। जुद्धप्रसाद सिंगो गाउँको प्रतिनिधि हुन्। जब मुखियाका रूपमा गाउँमा आफ्नो रजगज चलाएका जुद्धप्रसादको सत्तालाई जनयुद्धले समाप्त गरिदिन्छ। जुद्धप्रसादपछि सत्ताको बागडोर सम्हाल्न उनकै छोरा नरेन्द्र अर्को शासकका रूपमा उदाउँछन्। उनी सर्वहारा वर्गको उत्थानका लागि भनेर सुरु गरिएको ‘जनयुद्ध’ का महान योद्धा हुन्।
जुद्धप्रसाददेखि नरेन्द्रसम्म आइपुग्दा समय फेरिन्छ, सत्ता गाउँदेखि राज्यको तहमा पुग्छ र वर्तमान राज्य व्यवस्था सुरू हुन्छ। देशमा गणतन्त्र आउँछ, निर्वाच सुरू हुन्छ, नेता चुनिने विषयमा फरक बहस चल्छ। तर पनि भिउसेन, कलावती, चन्द्रेहरूको हविगत फेरिँदैन उस्तै हुन्छ। सत्ताको अगाडि उनीहरूको अस्तित्व र अधिकारका कुरा ओझेलमै पर्छन्।
परिवर्तन के जनताको लागि पनि भएको हो कि सत्तालाई टेकेर परिवर्तन खोजिरहेका आम सर्वसाधारणलाई नाटकले तिनै सर्वहारा र निमुखा वर्गको विरहलाई प्रस्तुत गरेको छ। हिजो र आज युग-जुग फेरियो, व्यवस्था फेरियो, तर जनताको व्यवस्था भने उस्तै रहेको यथार्थ कथामा प्रस्तुत गरिएको छ।
प्रस्तुति समूहले कथालाई २०५७ देखि ०६२/०६३ सम्मको देशको परिवेश र प्रभाव, जनताले भोगेको सास्तीलाई जस्ताको तस्तै देखाउने प्रयास गरेको छ। यद्यपि जुद्धप्रसादको हुकुमी शासन र जनताको अवस्था हेर्दा पञ्चायतकालको बढी झल्को आउँछ। जस्तो कि हिजोको मुखिया ०४६ सालको राजनीतिक परिवर्तनपछि देशमा भएको स्वतन्त्रता र वर्तमान परिवेशलाई नजिकैबाट बुझ्न सकिन्छ।
दशवर्षे ‘जनयुद्ध’ को स्वरूपले ०६२/०६३ पछि पाएको राजनीतिक छनक अनि त्यसैमा जन्मिएकाहरूको वास्तविक चरित्र नरेन्द्रमा देखिन्छ। जो परिवर्तनका लागि आफ्नै अवस्था र बाबुसँग लडे तर अप्रत्यक्ष ढंगमै बाबुकै शासनलाई निरन्तरता दिए। नयाँ सोच, परिवर्तनको आशामा देशको नेतृत्व शक्ति तथा सत्ताको मोहले फेरि त्यही पुरानै अवस्थातिर रूमल्लिरहेको विषयवस्तु नाटकमा प्रस्तुत गरिएकाे छ।
जब घराना शिक्षित नरेन्द्र र कलावतीबीच प्रेम सम्बन्ध हुन्छ, तब प्रेमले पूर्णता नपाउँदै कलावती जुद्धप्रसादकी तेस्री श्रीमती र नरेन्द्रकी सौतेनी आमा बन्छिन्। कलावती कसरी जुद्धप्रसादकी तेस्री श्रीमती बन्छिन् भन्ने कुरा यही कथाबाट सुरु भएको बाउछोराको मनमुटाव, जुद्धप्रसादको मृत्यु, नरेन्द्रको सम्बन्धबाट गर्भमा हुर्किरहेको कलावतीको अपुरो कल्पना, वर्तमान नियम र सत्ताले फेरिएको नरेन्द्रको खास चरित्रलाई नाटकमा प्रस्तुत गरिएको छ।
नाटकले सुरुवाती चित्रमै घर–घरको कथा हो भनी दर्शकलाई जानकारी गराए पनि विषय र परिवेश भने खासै नयाँ होइन। त्यही सत्य वर्तमान अवस्था हो। जुद्धप्रसादको चरित्र र उनको प्रस्तुतिमा देखिरहेको कथा आम दर्शकका लागि त्यति नयाँ नौलो अनुभूति नहुन पनि सक्छ।
हाल चलिरहेको सामाजिक व्यवस्थालाई खुल्ला रूपमा नाटकले प्रस्तुत गरेकाे छ। साथै द्वन्द्वकालको चित्रलाई समेत प्रस्तुत गर्ने प्रयास गरिएकाे छ। राजारानीको तस्बिर झुन्डिएको घरको भित्तामा परिवर्तनका आन्दोलन सुरू हुन्छ, जुद्धप्रसादको मृत्युपछि कार्लमार्क्सको तस्बिर देखिन्छ। सामान्ती व्यवस्थालाई नाटकमा परिवर्तनको सम्वाहक भएको संकेतका रूपमा लिन सकिन्छ। उत्पीडन वर्गको पीडालाई संगीतका धुनहरूले उठान गरिएका छन्। पटकपटक झझल्काइरहेको हुन्छ संगीतले, ‘युग फेरियो, जुग फेरियो, फेरिएन मान्छेको रूप ।’
असुर एउटा गाउँको पारिवारिक कथा पनि हो। असुर एउटा शक्तिकाे भोको पात्र पनि हो। जो शक्ति प्राप्तिका लागि जे पनि गर्न सक्छ। कहिले देवता त कहिले दानवजस्तो रुप लिन्छ। के हाम्रो घर समाजमा पनि यस्ता पात्रहरू छन्? जसको शक्ति लालचले गर्दा राजनीतिक परिवर्तन, आम मान्छेको दैनिकीमा रुपान्तरण हुन सकेको छैन। क्रान्ति, परिवर्तनको नाममा आम जनताले भोगेको सास्ती नै असुरको मुख्य अर्थ हो।
असुरमा सागर कार्की, केशव सिंह ठगुन्ना, प्रतीक दुलाल, नमस्ते दिवाकर घिमिरे, सोफिया बज्राचार्य, विजय सापकोटा, सन्तोषी पौडेल, उज्ज्वलराज ढकाल, श्याम कार्की, वीरेन्द्र सिंह कुसवाहा, अस्मिता ढकाल, शेखर दाहाल, गंगा मगर, विशाल परियार, लक्ष्मी राई, अनिल गुरुङ, ओशन कार्की, सुचिता उप्रेती, प्रहलाद खरेल, प्रशंसा गहतराज र शुक्रराज मगरको समेत अभिनय छ।
भदौ १५ देखि मञ्चन सुरु भएको नाटक असुर असोज ८ सम्म चल्नेछ। काठमाडौँस्थित रातोपुलमा सञ्चालित ओजस थियटरमा बिहीबारबाहेक हरेक दिन साँझ ५ः३० बजे नाटक सुरु हुनेछ। शनिबार भने दिउँसो १ बजे पनि मञ्चन गरिने छ।
















विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया