‘बेल्जियम गए कर्मसँगै नेपाल गए कपालसँगै’

‘तपाईंहरूले दूतावासलाई कार्यक्रमको निमन्त्रणा पत्र कम्तिमा पनि तीन हप्ता अगाडि पठाइदिनु होला। हाम्रो विभिन्न कार्यक्रमहरू महिना दिन अगाडिबाट तयार भइसकेको हुन्छ। एक हप्ता अगाडि वा ३/४ दिन अगाडि दिएको निम्तोमा हामी उपस्थित हुन सक्दैनौं।’

नेपाल पत्रकार महासंघ बेल्जियम शाखाले केही समयअगाडि गरेको अन्तर्क्रिया कार्यक्रममा बेल्जियमस्थित नेपाली दूतावासका राजदूत गहेन्द्रराज भण्डारीले  दिएको अभिव्यक्ति हो यो। उक्त कार्यक्रममा राजदूत भण्डारीले  बेल्जियमस्थित नेपाली संघसंस्थाहरूले एक महिना अगाडि नै दूतावासलाई आफूहरूले गर्ने कार्यक्रमको निमन्त्रणा पठाउँदा आफूहरू उपस्थित हुन सक्ने कुरामा जोड दिएका थिए। कार्यक्रम समयमै सञ्चालन नहुने हुँदा त्यसतर्फ पनि ध्यान दिनुपर्ने उनको सुझाव रहेको थियो।

विडम्बना राजदूतले दिएको अभिव्यक्तिलाई उनकै आफ्नै कार्यालय नेपाली दूतावास ब्रसेल्सले नै उलङ्घन गरिदिएको छ। दूतावासले आज ब्रसेल्समा राष्ट्रिय दिवसको अवसरमा  गर्न गइरहेको कार्यक्रमको निमन्त्रणा हिजोसम्म बाँडिरहेको थियो। योसँगै राजदुतले  विभिन्न नेपाली संघ संस्थाहरूलाई दिएको सुझाव प्रथम त दूतावासले नै कार्यान्वयन गर्नुपर्ने देखाएको छ।

यसैबारेमा राजदूत गहेन्द्रराज भण्डारीसंग बुझ्न खोज्दा उनले कुनै जवाफ दिएनन्। केही समय अगाडि सामाजिक सञ्जालमा ब्रसेल्स दूतावासका कर्मचारीलाई इंकित गर्दै सरकारी मान्छेबाट मानव तस्करी भएको आरोपबारे बुझ्दा पनि उनले कुनै प्रतिक्रिया दिएका थिएनन्। बेल्जियममा सम्पन्न नेपाल फेस्टिवल बारेमा बुझ्न खोज्दा आफू व्यस्त रहेको भन्दै पछि कुरा गर्ने बताए पनि पछि कुनै जानकारी प्रदान गरेनन्।

नेपाली दूतावास मात्रै नभइ बेल्जियमस्थित नेपाली संघ संस्थाहरूले कार्यक्रमको निमन्त्रणा अन्तिम समयसम्म पठाइरहेका हुन्छन्। फुर्सद मिल्ने कार्यक्रममा उपस्थित हुन्छन्, नमिल्नेमा हुँदैनन्। नेपाली जनसम्पर्क समिति बेल्जियमले संविधान दिवसको अवसरमा सोमबार आयोजना गरेको विचार गोष्ठी कार्यक्रम पनि यस्तै भएको थियो। कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा एक दिन अगाडिसम्म गरिरहेका थिए। अपर्झट गरेको जस्तो देखिने कार्यक्रममा कार्यसमितिकै व्यक्तिहरूको न्यून उपस्थित रहेको सामाजिक सञ्जालमा व्याप्त फोटोहरूमा देखिन्थ्यो।

संघसंस्थाहरूले निमन्त्रणा अन्तिम समयसम्म दिने मात्रै होइन, कार्यक्रम पनि भनेकै समयमा सुरू गर्दैनन्। कार्यक्रम एक वा दुई घण्टा ढिलो सुरू भएका धेरै उदारहण छन् बेल्जियममा। केही दिन अगाडि गैरआवासीय नेपाली संघको वार्षिक साधारणसभा कार्यक्रम पनि तोकेको समयभन्दा निकै ढिलो सुरू भएको सहभागीहरूले बताएका थिए।

युरोपेली मुलुक बेल्जियम सिस्टमले चलेको देश हो। हरेक नेपाली श्रमिकहरू आफ्नो कार्यलय समयमा पुगेर काम गर्ने र फर्कने गर्दछन्। समयमा काममा नपुगेको खण्डमा उनीहरूको जागीर जानसमेत सक्नेछ। व्यवसायीहरूले नियमपूर्वक व्यवसाय नगरेमा बेल्जियमको सरकारको काम कारबाहीमा पर्न सक्छन्। तर यहीँकै सिस्टममा सबै कुराहरूमा चलेपनि आफ्नै संघसंस्थाको कार्यक्रममा भने लागू गर्न अहिलेसम्म सकिरहेका छैनन्। यो आफैँमा दुखद पक्ष देखिन्छ।

‘बर्मा गए कर्मसँगै नेपालगए कपालसँगै’ भन्ने उखानलाई परिवर्तित गरेर ‘बेल्जियम गए कर्मसँगै नेपाल गए कपालसँगै’ बनाउँदा फरक नपर्ने देखिन्छ।

बेल्जियममा अधिकांश नेपाली संघसंस्थाहरूले समयमा कार्यक्रम सञ्चालन नै गर्दैनन्। कार्यक्रममा मन्तव्य, आसन ग्रहणले नै धेरै समय लिने गरेको देखिन्छ। राजदूत भण्डारीले भनेजस्तै कार्यक्रम नजिकिँदै गर्दा आइदिनुस् भन्दै निमन्त्रणा गर्नेहरूको कमी हुँदैन। यसैलाई ध्यानमा राखेर नेपाल पत्रकार महासंघले गरेको अन्तरक्रिया कार्यक्रममा उपस्थित संघसंस्थाका प्रतिनिधिले कार्यक्रम समयमै र नयाँ ढंगबाट गर्ने भनेर सहमति जनाएका थिए। तर कार्यान्वयन कहिले र कुन कुन संस्थाले गर्दै जाने हुन्? त्यो चाहिँ हेर्न बाँकी नै छ।

प्रकाशित मिति: : 2022-09-20 12:40:00

प्रतिकृया दिनुहोस्