अब म जितकाे लागि लडाइँ लड्ने छु

BreaknLinks
BreaknLinks

म आफैँले आफैँलाई लाचार सम्झिन्छु अनि त्यो मृत्युलाई बारबार सम्झिन्छु। जित्नैको लागि हरेक दिन लडिराख्दा पनि केही गर्न नसकेर भएको त्यो हारलाई सम्झिन्छु। लाग्छ यो जीवन यहिँसम्म त रहेछ! हो त्यति नै बेला म मेरा बा र आमाको मुहार सम्झिन्छु। पक्कै पनि म यी शब्द जति पटक पढ्छु, त्योभन्दा नि धेरै पटक मेरा बाआमाको अनुहार सम्झिन्छु।

सुनसान रात बन्द, कोठाभित्रको एउटा कुनापट्टी धिपधिप लान्टिनको उज्यालोसँगै छरपष्ट परेका किताब पल्टाएर दायाँबायाँ नजर नडुलाइ किताबका पानाभित्र लेखिएका इतिहास, देशदेखि विदेश, जलदेखि थल अनि जमिनदेखि आकाश, देवी देवतादेखि लगेर भूत प्रेत अनि विभिन्न घटनाका तिथि मिति कण्ठ गर्दै बसेको म।

लाग्छ सायद भाग्यले नै प्रगति गर्न दिएको छैन। जति मेहनत गर्दा नि किन हुँदैन, यस्तै सोच पढ्दापढ्दै यी मेरा मानसपटलमा कैयौंपटक घुमिरहेका हुन्छन्।

गाउँदेखि कोसौं टाढा यो अन्जान सहरमा दुःख गर्दै पढिरहेको म। बाहिरबाट हेर्दा लाग्छ होला मेरा साथीभाइ, इष्टमित्र र आफन्तहरूलाई मेरो कति सुख, शान्ति र खुशीको जीवन। तर मेरा साथीभाइ, इष्टमित्र र आफन्तहरूलाई के थाहा प्रगति गर्नकै लागि गाउँबाट निकै टाढा यो अन्जान र अपरचित ठुलो सहरको बस्तीमा दिनरात नभनी घामपानी, आधीँबेरी,भोक प्यास नभनी राम्रो होला कि भन्ने आशामा दुःख गर्दै पढ्न बसेको।

मेरो बाहिरी रूप देख्नेलाई के थाहा मेरा भित्री मनका ब्यथा। मेरा साथीभाइ, छरछिमेकीलाई के थाहा भोकभोकै खाली पेट पानी पिउँदै कटाएका ती अँधेरी रातका ब्यथा। अनि मेरा इष्टमित्रलाई के थाहा कति अनिदै कटाएका ती रातका कथा।

सहरको ट्युसन सेन्टरमा ट्युसन पढ्न जाँदा गाडी भाडा २ रूपैयाँ नपुगी कैयौं किलोमिटर लखरलखर चिल्ला गाडी, गगन चुम्बी ठूला-ठूला राम्रा भवन हेर्दै, मीठामीठा परिकारका बास्ना सुँघ्दै, घुटुकै थुक निलेर अमिलो मन पार्दै चिल्ला सडक पेटीमा हिँडेर डेरासम्म पुगेको कसले देखेको छ र?

आफ्नाले आफ्नालाई नचिन्ने यो शहरमा दुःख कष्ट गरेर भए पनि यो जिन्दगी जेन तेन् चली रहेको छ। आफ्नो घर परिवारको याद ले यो बिरानो सहरमा सारै मन पिरोल्ने गर्दछ। किताबका पाना पल्टाउदै गर्दा घरका दुःख र पीडाका पनि पाना यो मनमुटु भित्र पल्टिन्छन्।

हुनेखाने र हुँदा खानेको यो सहरमा आकाश-पातालको फरक छ। न त यो फरक जमिनले उडेर आकाशलाई छुन सक्ने छ, न त आकाश नै तल झरेर जमिनलाई छुन सक्ने छ। केवल एकअर्काको छत्र छायाँ भएर पनि प्रकृतिमा रूखले दिएको छहारी र ओतको आस गरेका हुँदा खानेको लागि यो सहर नर्ग सरह बनेको छ। ठुलोले सानोलाई सहयोग, सुख दिनुपर्ने हो तर यो कङ्क्रिट नै कङ्क्रिटले भरिएको सहरमा ठुलोले सानोलाई हेप्दै अघि बढिरहेको छ।

यो पापी सहरमा हुनेखाने साथीभाइ र आफन्तका परिवारसँगै रमाउँदै हिँडेको देख्दा खाली खुट्टै मेलापात गर्न हिँडेकी मेरी आमाको सम्झनाले यो मन सारै रूने गर्छ। सन्तानहरूको सुखका लागि भालेको पहिलो स्वरसँगै उठेर मेरी आमा काम गर्न थालेको सम्झिँदा तपक्क आँशुका धाराले सुन्दर कोमल गालालाई स्पर्श गर्दै ओठमा आएर एकैछिन विश्राम मार्दै नुनिलो स्वाद दिएर भुइँमा खस्छन्।

सहरको रमझम देख्दा मलाई लाग्छ, मेरा बाआमाले त्यो मेरो दुर्गम गाउँमा दुख गर्दै मलाई हुर्काएर सहरमा पढ्न पठाएका ती दिन। अरूको काम गर्दागर्दै थाकिसकेका मेरा बाउका काँध। अनि सोच्छु बालाई विश्राम दिने दिन कहिले आउला, आमाको पुरानो गुन्यु चोलो फेर्ने दिन पनि कहिले आउला। हो, आजभोलि मलाई यस्तै आमाको चोली र बालाई विश्राम दिने दिनको सम्झनाका तरेलीहरूले पनि निकै मेहनत गर्न सिकाएको छ। त्यही प्रगतिको प्रतिक्षामा हररात प्रयास गर्दागर्दै छर्लङ्ग उज्यालो भएको छ।

परिस्थिति जतिसुकै कठिन किन नहोस् सुन्दर सपना भने देख्न छोड्नुहुन्न, एकदिन अवश्य सुन्दर ठाउँमा पुगिनेछ। हो, साँच्चै हरेक पटक आउने घरको यादले अचेल मलाई झन् तगडा बनाइसकेको छ। किताबका पाना पल्टाउँदै गर्दा सोच्छु र अठोट गर्छु, अब त केही अलि बढी मेहनत दुःख गरेर प्रगतिको शिखर चुम्ने छु।

आजभोलि म मौन बस्न सिकेको छु, किनकि मौनताको अर्थ उत्तर नै नहुनु होइन। उत्तरको लागि सही समयको प्रतिक्षा गर्नु हो। अब म त्यही समयको प्रतिक्षामा रही अझ धेरै मेहनत गर्ने छु। अहिले मलाई नराम्रो भन्नेहरूलाई एकदिन समयले राम्रो पाठ पक्कै पनि सिकाउने छ।

हरेकको जिन्दगीमा आफ्नै किसिमको लडाइँ हुन्छ। सबैका कुनै न कुनै प्रतिद्वन्द्वी हुन्छन्। सबैसँग लड्ने ताकत आफैँसित हुनुपर्छ। हो , अब म मेरो तागत म भित्रैबाट झन् धेरै निकाल्ने छु। युद्ध भूमिमा समर्पित भइसकेपछि कि जित कि हार हुन्छ तर म भने जित निकाल्ने गरी पूर्व तयारीका साथ युद्ध भूमिमा समर्पित हुने छु।

मेरा पुरा आफन्तहरू र सिङ्गो संसारलाई नै देखाइदिने छु, हर दुःखपछि सुख आउने छ, हर अँधेरी रातपछि पूर्वमा उज्यालो किरण (लाली) छाउने छ, सुख्खा उदास लाग्दा हिउँदका दिनपछि रमाइलो वसन्तले आगमन गर्ने छ।

शिखर चड्दा जति कठिनाइ भएपनि शिखरको चुचुरोमा पाइला टेक्दा संसार नै जिती त्यो नीलो गगन चुमेको महसुस हुन्छ, कैयौ दूरी हिँड्दा अन्ततः गन्तव्यमा पुग्दा जस्तो महसुस हुन्छ। हो, म त्यही महसुस गर्ने लडाइँको तयारी गर्दै युद्धमा जित्ने आँट र अठोटका साथ संकल्प गर्दै यो प्रगति हुने नामक युद्ध भूमिमा समर्पित हुने छु।

प्रकाशित मिति: : 2022-09-24 07:38:00

प्रतिकृया दिनुहोस्