आइतबार, ०३ अगस्ट २०२५

ललितपुरको ठेचोमा गरियो नवदुर्गा देवी जात्राको भोज

• • •

ललितपुरको ठेचोमा प्रत्येक १२ वर्षमा हुने नवदुर्गा देवीको जात्राअन्तर्गत सोमबार दे भ्वय अर्थात देश भोज गरिएको छ।

जात्रामा सहयोग गरेका ठेचो र सुनाकोठीका अन्य गुठियारलाई नवदुर्गा गुठीले खुवाउने भोज हो देश भोज। गत साउन १० गते गठेमङ्गलको दिन सुरु भएको उक्त जात्राको विशेष दिन हो, दे भ्वय अर्थात देश भोज।१ महिना गुप्तबास बसेर निक्लिएका देवगणले ठेचो तथा सुनाकोठीका बासिन्दालाई भोज खुवाउने कार्यक्रम छ।

मन्दिरबाट बाजागाजासहित निक्लिएका देवगण उत्तरतर्फको चौरतिर लाग्छन् र सबैले उनीहरूलाई पछ्याउँछन्। त्यसपश्चात सुरु हुन्छ देश भोज। उक्त भोजमा नवदुर्गा गुठी समेत गरी सात वटा गुठी सहभागी छन्। प्रत्येक घरका मुलीले आफ्नो घरका लागि भाग बुझ्छन्। लस्करै बसेका गुठीयारलाई भैरव, काली, विष्णुदेवी, इन्द्रायणी लगायत १३ जना देवगणले कमलको पातमा विभिन्न परिकारहरु राख्छन्।

पहिले जनगणना नहुँदा यहाँ कति घरधुरी छन् भन्ने पनि यसै भोजबाट पत्ता लगाइन्थ्यो । यसपटक पनि ठेचो र सुनाकोठीका ५ हजार मानिस भोजमा सहभागी रहेको नवदुर्गा भवानी देवी गुठीले जनाएको छ। लगभग १ वर्ष चल्ने यस जात्रामा देवगणले विभिन्न स्थानमा पुगी नृत्यसमेत प्रस्तुत गर्ने गरेका छन्।

मंगलबार, आश्विन २५, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!