युक्रेनको दर्दनाक इतिहास 

पेम्पा तामाङ

पश्चिम बंगाल

सन् २०१४ मा रूसले आफ्नो विशेष सैन्य दस्ताद्वारा युक्रेनको पूर्वी क्षेत्र क्रिमियामा आक्रमण गर्‍याे। यस आक्रमणको कारण बताउँदै रूसी समाचारमा भनियो युक्रेनको सत्तामा रहेको फासीवादी र नाजीवादीहरूबाट मुक्तिको निम्ति युद्ध गरिएको हो। युक्रेनलाई बदनाम गराउन रुसले आफ्नो संसारभरि फैलिएको सञ्चार माध्यमद्वारा धेरै दुष्प्रचार गर्‍याे।

सन् २०१९ मा रूसले क्रिमियालाई युक्रेनदेखि छिनेर आफ्नो कब्जामा लियो। यस वर्षको २४ फेब्रुअरीमा रूसले फेरि युक्रेनमा आक्रमण गर्‍याे। यसपालि पनि रूसले हमलाको कारण युक्रेनको सत्ताबाट नाजीहरूको विनाश गर्नु नै भएकाे बतायाे। रसियाले युक्रेनको इतिहास, भाषा, संस्कृति सबै मेटाउने प्रयास गर्‍याे तर सकेन।

युक्रेनी भाषा युक्रेन जातीयता जीवित छ। रूसले आफ्नो विशाल सेना र अत्याधुनिक हातहतियारले आक्रमण गरिरहेछ। रूसले सम्झेको थियो दुई/तीन दिनभित्र युक्रेनको सेना धराशयी हुनेछ। तर देशभक्त युक्रेनीको अदम्य साहस र दृढताले महिना बितेर जाँदा पनि युद्धको परिणाम रूसको पक्षमा निर्णायक हुन सकेको छैन।

रूस र युक्रेनबीचको द्वन्द्वबारे रूसले युक्रेनमा हमला गर्नु परेको कारण एवम् पक्ष-विपक्षका विचार मनन गर्न सक्छौं। रूसको कार्यलाई समर्थन जनाउने पक्षको धारणाअनुसार युद्धको निम्ति रूस नभएर युक्रेन नै जिम्मेवार हो भन्ने विचार राखिएको पाइन्छ।

युक्रेनमा अहिले जो भइरहेछ यो युक्रेनको आफ्नै कुकर्मको फल हो भन्छन्। यस विचारमा भारतीयहरू पनि रहेका छन्। रूस भारतको पारम्परिक मित्र राष्ट्र रहेको हुनाले भारतले रूसको युक्रेन हमलाको विरोध जनाएको छैन र तटस्थ नीति अपनाएको छ। तर युक्रेन भारतको विरोधमा पटक-पटक अन्तर्राष्ट्रिय मयमा देखिएको कारण रूसको पक्ष लिनुपर्छ भनेर भारतीय राष्ट्रवादी जनता भन्छन्। उनीहरू युक्रेनको राष्ट्रपति जेलेन्स्कीलाई तथानाम अपशब्द प्रहार गर्न पनि चुक्दैनन्।

भारत र नेपालका वामपन्थीहरू युद्धको समर्थनमा खुला रूपमा नरहे पनि युक्रेनको शासन नाजीको हातमा छ र युक्रेनको नाजी विनाश गर्नुपर्ने मत राखेर रूसको आक्रमणलाई सही ठहर गर्छन्। सोभियत सङ्घको विघटनपछि रूसमा पनि पुँजीवादी अर्थतन्त्र नै रहेको छ। तर वामपन्थीहरू त्यही पुरानो स्मृतिमा अल्झेर रूस मोहमा ग्रस्त छन्। यही अतीत मोहको भ्रममा उनीहरू पुतिनको दुस्साहसको समर्थन गर्न अघि आउँछन्।

रूसी राष्ट्रपति पुतिनले युद्धको घोषणा गर्दै भनेका छन्- युक्रेनलाई नाजीबाट मुक्त गराउन र यसको सैन्य शक्ति विनाश गर्न विशेष सैन्य कारवाही गरिएको हो। उनले यो पनि भने कि युक्रेनको आफ्नो इतिहास छैन, यसैले स्वतन्त्र राष्ट्र हुने हक अधिकार छैन। शीतयुद्ध कालमा नाटो र वार्सअपेक्ट भएको थियो। नाटो सैन्य गठबन्धन अमेरिका र पश्चिमी युरोपका देशहरू थिए भने वार्सअपेक्टमा सोभियत सङ्घ र उसको ध्रुवमा रहेका पूर्वीय युरोप।

सोभियत सङ्घको विघटन भएपछि वार्सअ रहेन तर नाटोको अस्तित्व बनिरह्यो। समयको साथ यसको सदस्यमा वृद्धि भएर गयो। रूसले अहिले नाटो गठबन्धनलाई उसको सुरक्षाको निम्ति जोखिम मान्दछ। युक्रेन युरोपीय सङ्घ र नाटोमा सामेल हुने महत्वाकाङ्क्षा राख्दछ।

युक्रेनको यो कदम रूसको हितमा नभएको र यसकारण उसले आक्रमण गरेर युक्रेनलाई नाटोको सदस्य हुनबाट रोक्ने प्रयास हो भन्छ एक समूह। यसैकारण उनीहरू रूसको युद्ध आत्मरक्षाको युद्ध मान्दछ। तर बुझ्नुपर्ने कुरो के हो भने युरोपीय सङ्घ र नाटोले सदस्यता दिन हिच्किचाइरहेको थियो। युक्रेन यी दुवै गठबन्धनका सदस्य थिएन र भएको पनि छैन।

रुपर्ट रसेलले लेखेको किताब प्राइस वार-मा बताइएको छ- युक्रेनको पूर्वी क्षेत्र र कालो सागरमा ग्यासको ठुलो भण्डार पाइएको छ। यसको जानकारी सन् २०१२ मा भएको हो। रूसले यस ग्यास भण्डारबारे सम्झौता गर्न चाहेको थियो तर सहमति हुन सकेन। युक्रेनमा यसको पछि पूर्वीय प्रान्तबाट अलगाववादी अभियान रूसको सहकार्यमा आरम्भ भयो।

पूर्वीय प्रान्तमा युक्रेनी भाषीभन्दा रूसीभाषी जनसङ्ख्या अधिक छ र उनीहरू पारम्परिक रूस समर्थक हुन्छन्। हाल युरोप रूसको ग्यास र तेलमा निर्भर छ। युरोपीय देशहरूको ४० प्रतिशत ग्यासको आपूर्ति रूसबाट हुने गरेको छ। यसले रूसलाई आर्थिक लाभ मात्र होइन तर आफ्नो वर्चस्व कायम गर्न ठुलो भूमिका खेलेको छ।

यदि यो ग्यास युक्रेनमा पाए उसले यसको उपयोग गर्न सक्नेछ। यो ग्यास भण्डार यति धेरै भएको अनुमान गरिएको छ कि यसले युक्रेनको आफ्नो आवश्यकता पूरा गरेर युरोपलाई निर्यात गर्न सक्नेछ। यसो भए युरोपलाई ग्यास आयातको निम्ति रूसमा भर पर्नुपर्दैन। यसले रूसलाई आर्थिक हानि मात्र होइन तर उसको वर्चस्वमा पनि आघात पुयाउनेछ।

पूर्वी युक्रेनलाई आफ्नो हिस्सा या आफ्नो प्रभाव क्षेत्र बनाइराख्न सके रूसको युरोपमाथि दबदबा कायम रहनेछ। पुतिनले युक्रेनको पूर्वी क्षेत्र दोनवास र लुहान्स्कलाई स्वतन्त्र गणतन्त्रको मान्यता दिएकोमा घोषणाको उद्देश्यले स्पष्ट बनाउँछ। युक्रेनको क्रिमिया त सन् २०१९ मा रूसमा मिलाइएको हो। पुतिनको युक्रेनमाथि हमला कुन कारणले गरेको रहेछ यस दृष्टिले हेरिए उसको नियत स्पष्ट हुनेछ।

प्रकाशित मिति: : 2022-12-16 08:47:00

प्रतिकृया दिनुहोस्