डोल्पामा निर्वाचन: कतै झडप, कतै सुनसान

डोल्पामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

जिल्लाका ६८ वटै मतदान केन्द्रमा स्वच्छ, मर्यादित, यरहित र शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए।

सेना र प्रहरीले दिएको प्रारम्भिक तथ्याङ्कअनुसार डोल्पामा ६६ प्रतिशत मत खसेको उनको बताए।

सञ्चारको समस्याले गर्दा उपल्लो डोल्पाका केही मतदान केन्द्रहरुमा मतदान सम्पन्न भए पनि पूर्ण सम्पर्कमा नआएको उनको भनाइ छ।

चिसोको कारण जिल्लाका कतिपय मतदान केन्द्रहरुमा समयमै मतदान सुरु हुन नसक्दा पनि केही ढिलाइ भएको उनले बताए।

अहिले विभिन्न ठाउँबाट आएका मतपेटिकाहरु भण्डारण गर्ने काम पनि भइरहेको उनको भनाइ छ।

मतपेटिका ढुवानी सुरु

सदरमुकाम नजिकै पर्ने मतदान केन्द्रहरुबाट मतपेटिका आउन सुरु भएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।

जिल्लाका आठ स्थानीय तहमध्ये त्रिपुरासुन्दरी र ठुलिभेरी नगरपालिकाका मतपेटिकाहरु सदरमुकाम ल्याइने प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले जानकारी दिए।

तल्लो डोल्पाका जगदुल्ला, मुड्केचुला गाउँपालिकाका भोलि दिउँसो मात्र सदरमुकाम पुग्ने उनले बताए।

उपल्लो डोल्पाका हेलिकप्टरबाट झार्ने

उपल्लो डोल्पाका शे फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ् गाउँपालिकाका मतपेटिकाहरु भोलि बिहानैदेखि हेलिकप्टरबाट सदरमुकाम झार्ने तयारी भइरहेको समेत प्रजिअ अधिकारीले बताए।

उपल्लो डोल्पाका मतदान केन्द्रबाट बोकाएर मतपेटिका ओर्सान सम्भव नभएकाले मतपेटिका ओसार्न सेनाको हेलिकप्टरको व्यवस्था गरिएको उनको भनाइ छ।

सदरमुका दुनैबाट एक दिनलाग्ने काइके गाउँपालिकाका मतपेटिहरु पनि भोलि बिहान मात्रै सदरमुकाम ल्याइने बताइएको छ।

केही स्थानमा झडप

शान्तिपूर्ण मतदान गर्ने क्रममा जिल्लाका केही मतदान केन्द्र झडप भएको थियो।

जिल्लाका ठुलिभेरी नगरपालिका वडा नं. ९ मा पर्ने गौरी आधारभूत विद्यालय मतदान केन्द्रमा गठबन्धन र एमालेबीच झडप भएको थियो।

वारिसे मतको बिषयलाई लिएर भएको झडप शान्त बनाउन प्रहरीले चार राउण्ड हवाइफायर समेत गरेको थियो। त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ५ मा पर्ने मष्टा आधारभुत विद्यालय ल्हा मतदान केन्द्रमा विवाद भएको थियो।

यस मतदान केन्द्रमा पनि वारिसे बिषयलाई लिएर गठबन्धन र एमालेबीच विवाद हुँदा केही समय मतदानसमेत स्थगित भएको थियो।

जगदुल्ला गाउँपालिका वडा नं. ४ मा पर्ने मुना मदन आधारभुत विद्यालय छाँचुमा समेत गठबन्धन र एमालेबीच झडप समेत भएको थियो।

काइके गाउँपालिका वडा नं. २ मा पनि वारेसे मत हाल्ने बिषयलाई लिएर गठबन्धन र एमालेकाका प्रतिनिधिबीच केही समय विवाद भएको थियो।

विवादका कारण केही समय मतदान स्थगित भएर पुन: सञ्चालन भएको थियो।

यस पटकको मतदान केन्द्रमा मतदाताको उपस्थितिलाई हेर्ने हो भने मतदाता खासै उत्साहित नदेखिएको त्रिपुरासुन्दरीका स्थानीय गौरीशंकर उपाध्यायले बताए।

डोल्पाका कुल २२ हजार ७ सय ७४ मतदाता रहेका छन्।

प्रकाशित मिति: : 2022-11-20 20:48:00

प्रतिकृया दिनुहोस्