आमनिर्वाचनको प्रारम्भिक रूझान र यसका केही संकेतहरू

नेपालमा सम्पन्न आमनिर्वाचनको मतगणना जारी छ । प्रारम्भिक रूझानबाट केही संकेतहरू मिलेका छन् । एक किसिमले भन्दा ती संकेतहरू अझै धमिलै छन्, प्रष्टसँग उज्यालिएका छैनन् । जे जस्ता छन्, मिश्रित नै छन् । 

जे भए पनि जनताले जनार्दन भएर मतदान गरिसके । मतदान अब बिगत भैसक्यो, बर्तमान भनेको त्यसको परिणाम मात्र हो । त्यो सही हुन्छ कि हुदैन, अहिले नै त्यसका बारेमा धारणा बनाइहाल्नु हुदैन, त्यसको जिम्मा भविष्यलाई दिनु उपयुक्त हुन्छ । यसै पनि एउटा भनाइ चर्चित छ, विगतलाई हेर्न सकिन्छ, मेटाउन सकिदैन । सही भए आनन्द अनभूति हुन्छ, गल्ती भए पश्चाताप । गल्ती नै भयो भने पनि बढीमा गर्न सकिने भनेको त्यसबाट पाठ सिकेर आइन्दा त्यस्तो गल्ती नदोहोर्याउने मात्र हो ।

यसपटकको आमनिर्वाचनमा जनताले के गरे?, अहिले नै त्यसका बारेमा प्रक्षेपण गर्ने बेला भएको छैन । 

तर, प्रारम्भिक रूझानबाट केही संकेतहरू भने मिलेका छन् , जस्तो कि, 

- मतदाता पुराना दलबाट निक्कै निराश भैसकेका रहेछन् । पुराना दलका पुराना उम्मेद्वारबाट त झनै दिक्क भएका रहेछन् । नयाँ दलले गतिलो उम्मेद्वार दिएको भए सहरी क्षेत्रमा जित्ने र अन्य क्षेत्रमा पनि गतिलो प्रतिस्पर्धा गर्न सक्ने प्रशस्त सम्भावना देखियो । कतिपय ठाउँमा कम संख्यामा स्वतन्त्र उम्मेद्वार भएको भए वा नयाँ दल मिलेर उम्मेद्वार दिएको भए अरू सुखद परिणाम ल्याउने पनि देखियो । 

- निर्वाचनपूर्वका गठबन्धन त्यति धेरै काम लागेनन् । यसलाई सम्बन्धित गठबन्धनका ठूला दलले आफ्नो जीतका लागि मात्र प्रयोग गरे, साना दललाई मत दिएनन् । खासगरी सत्तारूढ गठबन्धनको ठूलो दल कांग्रेसका मतदाताले गठबन्धन घटकका अन्य दलका उम्मेद्वारलाई मत दिएनन् । बरू उनीहरूले वागी, स्वतन्त्र र नयाँ दलका उम्मेद्वारलाई मत दिएर गठबन्धनलाई असफल बनाए ।

- माओवादी एक पार्टीभन्दा पनि आन्दोलनजस्तो मात्र देखियो । यसको घट्दो ग्राफले अब यो सहरबाट गाउँका केही सीमित ठाउँमा खुम्चियो । प्रारम्भिक रूझानले के देखायो भने बरू गठबन्धन नगरेर देशभर उम्मेद्वार उठाएको भए प्रत्यक्षमा एकाध सिट घाटा लागे पनि त्यसको भरपाइ समानुपातिकबाट मज्जाले हुने मात्र थिएन, अझ धेरै संख्या उसलाई प्राप्त हुने थियो । 

- नेपाली कांग्रेसको सन्दर्भमा पनि गठबन्धनबाट उसलाई प्रत्यक्षमा फाइदा भए पनि समानुपातिकतिर खासै फाइदा हुने देखिएन । 

- सत्तारूढ गठबन्धनले भोट एकअर्का पार्टीका उम्मेद्वारलाई दिन नसकेको फाइदा एमाले र अन्य पार्टीले मज्जाले उठाए । 

जनता जनार्दन भएको बेला चुनावको प्रारम्भिक रूझान जे देखिएको छ, त्यही सत्य हो। मतदान भैसकेपछि यो विगत भैसक्यो, परिणाम मात्र वर्तमान हो।विगत हेर्न सकिन्छ,सच्याउन सकिदैन।यसको सम्मान गरौं । तर,अझै पनि मिडियामा 'बिजारे' जारी छ, कम्तिमा जनताको सुसूचित हुने अधिकारको सम्मान गर्नसके जाति हुन्थ्यो।

- एमाले अध्यक्ष ओलीले काँध हालेिदिदा राजावादी राप्रपा पनि राष्ट्रिय पार्टी बन्ने प्रवल सम्भावना देखियो । यही सम्भावना राष्ट्रिय स्वतन्त्र पार्टीको पनि देखियो । नेकपा (एकीकृत समाजवादी) पनि राष्ट्रिय पार्टी हुने सम्भावना छँदैछ । यी सबै हेर्दा यस चुनावले गरेको सबैभन्दा खराब काम चाँहि धेरै राष्ट्रिय पार्टी बनाएर मुलुकको ढुकुटीमा अरू धेरै पार्टीलाई पहुँचमा पुर्याउने भयो । यसले गर्दा देश दुई दलीय ध्रुवीकरणतिर नगएर बहुध्रुवीयतिर लाग्ने हुन्छ । प्रकारान्तरमा यो मुलुकको राजनीतिक स्थायित्वका लागि प्रत्युत्पादक हुने निश्चित छ । 

-  नेपालको चुनावमा पैसा र सामाजिक सञ्जाल दुबैको सदुपयोग भएको देखिएन । पैसा मत किन्नदेखि भोजभतेरसम्मका लागि प्रयोग गरियो । सामाजिक सञ्जाल गलत सूचना, अफवाह, गालीगलौज, गलत एजेण्डा सेटिङका लागि दुरूपयोग भयो । यदाकदा यस्तो लाग्थ्यो,  कतै सामाजिक सञ्जाल चुनावी परिणामलाई हाइज्याक त गर्दै छैन ।

- चुनावमा नयाँ भन्दैमा सबै ठीक र पुराना भन्दैमा सबै बेठीक भन्ने किसिमको भाष्य निर्माण गर्ने कोशिस गरिएको देखियो । तत्कालका लागि यो कसैका लागि उपयोगी भए पनि यो इतिहासको सम्मान नगर्ने अपसंस्कृतिको सुरूवात नै हो । सामान्यीकरण नगरी गुण वा दोषका आधारमा एक एक नेता वा उम्मेद्वार गरेर वस्तुगत धारणा बनाइएको भए न्यायोचित हुने थियो ।

- राजालाई केन्द्रमा राखेर ध्रुवीकरण भएको देखियो । एकातिर एमालेको नेतृत्वमा स्वतन्त्र र नयाँ पनि यही कित्तामा देखिए भने अर्कोतिर सत्तारूढ गठबन्धन देखियो । विचार, कार्यक्रम र एजेण्डाको आधारमा ध्रुवीकरण हुनुपर्ने बेला, योखाले ध्रुवीकरण वास्तवमै गलत दिशातिर लैजाने धृष्टता हो।

-  चुनावी परिणामले सबैलाई साइजमा ल्याएर धरातलीय यथार्थमा आएर अगाडि बढ्न आदेश दिए जस्तो देखिदैछ । यस अर्थमा भने यो चुनाव सार्थक हुने देखिन्छ । 

यी त केही प्रारम्भिक संकेत मात्र हुन् । बाँकि त चुनावको परिणाम आउँदै जाँदा अरू उज्यालिदै जानेछन् । अहिलेलाई यति नै । 

 

प्रकाशित मिति: : 2022-11-21 20:25:00

प्रतिकृया दिनुहोस्